कांग्रेस नहुँदा एमालेलाई सहज तर चुनौतीपूर्ण

काठमाडौं । यसअघिका अधिकांश निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमालेका लागि काठमाडौ क्षेत्र ७ मा यसपटक जित निकाल्न सो पार्टी र त्यसका उम्मेदवारले कडा मिहिनेत गर्नुपर्ने देखिएको छ । यो क्षेत्र गठबन्धनको भागबन्डामा कांग्रेसको भागमा नपरेको र कांग्रेसबाहेक गठबन्धनका अन्य दलको उपस्थिति निकै कमजोर रहेकाले एमाले उम्मेदवारलाई ‘केही सहज’ भए पनि जित निकाल्न भने निकै चुनौतीपूर्ण छ ।

एमालेबाट पुराना र त्यागी कम्युनिस्टका रूपमा चिनिएका श्यामकुमार घिमिरे घरदैलोमा व्यस्त छन् । उनलाई सत्ता गठबन्धनकी मानुषी यमी (भट्टराई) तथा हाम्रो नेपाली पार्टीका आकर्षण पोखरेल, स्वतन्त्रका किरण केसी, जनता समाजावादीका राजेन्द्र श्रेष्ठलगायतले घरदैलोमार्फत टक्कर दिने प्रयास गरिरहेका छन् । यद्यपि, मानुषीलाई कांग्रेसबाट भोट जाने सम्भावना न्यून रहेकाले उनलाई पनि निकै कठिन छ ।

माओवादीको भागमा परेको यो क्षेत्रमा उसले डा. बाबुराम भट्टराईको दललाई छोडिदिएपछि भट्टराईले आफ्नै छोरीलाई उम्मेदवार बनाएका हुन् । जसका कारण यस क्षेत्रमा रहेका पुराना माओवादी नेता– कार्यकर्ता असन्तुष्ट छन् । २०७४ को निर्वाचनमा एमालेबाट विजयी रामवीर मानन्धरले योपटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनको उम्मेदवारीले एमालेलाई केही घाटा पुग्नसक्ने विश्लेषण गरिएको छ । यद्यपि, यसअघि रामवीरलाई भोट हालेका अधिकांश स्थानीय उनीसँग असन्तुष्ट देखिएका छन् ।

रामवीरसँग असन्तुष्ट हुनुको मुख्य कारण कुनै बेला उनले ‘बामदेव गौतमका लागि ठाउँ खाली गर्न’ भन्दै आफ्नो सांसद पदबाटै राजीनामा समेत दिएका थिए । तर, सो राजीनामा कार्यान्वनयनमा भने आएन । त्यतिबेलादेखि रामवीरसँग एमाले कार्यकर्ता तथा स्थानीय रुष्ट छन् । आफूहरूले भोट हालेर जिताएको तर सो ‘सिट अर्कैका लागि सौदाबाजी गर्न खोजेको’ भन्दै स्थानीयले आफ्नो भोट अवमूल्यन गर्न खोजेको आरोप रामवीरमाथि लगाउँदै आएका छन् । त्यसैले यस क्षेत्रमा उनको प्रभाव पहिलेजस्तो शसक्त देखिँदैन ।

यसैगरी, यस क्षेत्रमा जनता समाजवादी नेता तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ पनि चुनावी दौडमा छन् । श्रेष्ठले चुनावी अभियान तीव्र पारेका छन् । यद्यपि, उनको पार्टीको उपस्थिति कमजोर भएकाले जित निकाल्न निकै कठिन भए पनि उनले आफूलाई यसपटक मतदाताले न्याय गर्ने विश्वास लिएका छन् ।

यो निर्वाचन क्षेत्रमा काठमाडौंका चार वटा वडा १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको ३ वटा वडा १, २ र ३ र तारकेश्वर नगरपालिकाको तीन वटा वडा ४, ५ र ६ पर्छ । गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारले पाएको मतका आधार हेर्दा यस क्षेत्रमा सबैभन्दा शसक्त दल कांग्रेस हो । यसले १४ हजार १ सय ६७ मत पाउँदा एमालेले १२ हजार २ सय २ मत ल्याएको थियो । एकीकृत समाजवादीले ३ हजार ८ सय ३९, स्वतन्त्रले २ हजार २ सय ६, राप्रपाले २ हजार २७, माओवादी केन्द्रले ५ सय ७६ र जसपाले १ सय ६२ मत पाएको छ ।

यो मत विश्लेषणका आधारमा कांग्रेसको उम्मेदवार नभएको र कांग्रेसबाट १० हजारभन्दा बढी मत गठबन्धनलाई खसेमा मात्रै जित हुनसक्ने तर त्यस्तो सम्भावना नरहेको स्थानीय दावी छ । एमालेबाट घिमिरे स्थानीय र पार्टीका पुराना नेता भएकाले उनीप्रति साहानुभूति देखिएको छ ।

गठबन्धनकी मानुषीलाई युवा र क्षमता भएकी उम्मेदवार भन्दै प्रचार गरिए पनि क्षेत्र ७ का लागि यसअघि कहिल्यै कुनै काम नगरेकाले उनीमाथि पुराना नेता– कार्यकर्ताको खासै आकर्षण छैन । ‘मानुषी स्वतन्त्रबाट उठेको भए केही सोच्न सकिन्थ्यो तर उनकै बुबाको पार्टीमार्फत माओवादी चुनाव चिह्न लिएर उठेकाले उनीबाट पनि कुनै आशा गर्न सकिने अवस्था छैन, ’तारकेश्वर–४ का एक मतदाताले भने ।

नेपाल समाजवादी पार्टी (नेसपा)लाई मओवादी केन्द्रले आफ्नो चिह्न दिएपछि मानुषी यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार बनेकी हुन् । मानुषीले भने सत्ता गठबन्धनको पूरा मत आफूले पाउने भन्दै जित्ने दावी गरेकी छन् । एमालेका घिमिरे पुराना नेता हुन् । २०३६ सालमा अनुर ास्ववियुमार्फत राजनीतिमा सक्रियता सुरु गरेका तारकेश्वर–३ जितपुरका घिमिरे २०४३ सालमै जनपक्षीय उम्मेदवार बनेका थिए । पछिल्लो समय शिक्षक संगठन, किसान संगठन र जिफन्टमा समेत काम गरेको अनुभव उनीसँग छ ।

तर, ‘लो प्रोफाइल’मा बसेर काम गरेकाले उनी यस क्षेत्रमा प्रशस्त रूपमा भिज्न भने सकेका छैनन् । यसले पनि उनलाई केही चुनौती थपिदिएको छ । तर, आफू एमालेको पुरानो र बफादार कार्यकर्ता भएकाले एमालेको सबै मत आउने र जित्ने उनको दावी छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९