देश दौडाहामा शीर्ष नेता

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य राजनीतिक दलका शीर्ष नेतृत्व चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् । सबैजसो मुख्य राजनीतिक दलले चुनावी सभालाई शक्ति प्रदर्शनको माध्यम बनाएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिममा चुनावी प्रचारमा व्यस्त रहँदा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सुदूरपश्चिमबाटै चुनावी सभाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म गृहजिल्ला डडेल्धुराका विभिन्न ठाउँमा भएका चुनावी आमसभालाई सम्बोधन गरेका थिए ।

गृह जिल्लाको चुनावीसभा सकेर धनगढी झरेका देउवाले मंगलबार धनगढीस्थित निजी निवासमा नेता कार्यकर्तासँग भेटघाट गरेको उनको सचिवालयले जनाएको छ । देउवा बुधबार दार्चुला र बैतडीमा हुने आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीले गत १८ कात्तिकबाटै चुनावी सभाका लागि देश दौडाहा सुरु गरेका छन् ।

त्यसदिन ओलीले दार्चुलाबाट चुनावी सभाको उद्घाटन गरेका थिए । उनी १८ कात्तिकमा नै बैतडी र कञ्चनपुरका आमसभालाई सम्बोधन गर्न पुगेका थिए भने सोही दिन बाग्लुङ र पोखराको सभामा पनि सहभागी भएका थिए । ओली २६ कात्तिकमा पुनः सुदूरपश्चिम जाने कार्यक्रम छ । २६ कात्तिकमा डोटीको दिपायलमा हुने आमसभा, सोही दिन २ बजे कैलालीको अत्तरिया र ४ बजे लम्कीको आमसभालाई ओलीले सम्बोधन गर्ने तय भएको छ ।

मंगलबार भने ओली ललितपुर स्थित बालकोटको आफ्नै निवासमा नेताहरूसँगको भेटघाटमा व्यस्त भएका छन् । उनी बुधबार बिहान झापा जाने कार्यक्रम छ । यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभालाई सम्बोधन गर्न कर्णाली पुगेका छन् । उनले १७ कात्तिकबाट चुनावी सभाको सुरुवात आफू उम्मेदवार भएको गोरखा जिल्लाबाट गरेका थिए ।

त्यसबखत उनी दुई दिन गोरखामा नै बसे । मंगलबार भने उनी कर्णाली पुगेका हुन् । प्रचण्डले मंगलबार नै जुम्लाको शेराखेत र सिंजामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेका छन् । उनी मंगलबार नै हुम्लाको सर्केगाड, कालीकोटको मान्म र रास्कोटमा आयोजना गरिएको चुनावी सभामा सहभागी भएका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो गृह जिल्ला रौतहटमा प्रचारप्रसारमा व्यस्त रहँदा जसपा अध्यक्ष उपेन्द्र यादव पनि तराई मधेसमै व्यस्त छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रचारप्रसारका क्रममा गृह जिल्ला झापा छन् भने उनी झापाबाटै काठमाडौं आउजाउ गरिरहेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा गृह जिल्ला मकवानपुरमा चुनावी भेटघाटमा सक्रिय छन् ।

दार्चुला र बैतडीमा बुधबार हुने आमसभालाई सम्बोधन गर्न सत्तारूढ नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाल पनि त्यसतर्फ जाने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९