स्थानिय भन्छन्, बाँदर भगाउनेलाई भोट

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–२ दमेक बडडाँडाका स्थानीयलाई विहान÷दिउँसोको समय घर भेटाउन कठिन हुन्छ ।
हरेक दिन बाँदर धपाउन स्थानीय खेतबारीमा जाने हुँदा एकै पटक घरकै सदस्य भेट हुँदैनन । आलोपालो गरेर परिवारका सदस्य विहान र दिउँसो खेतबारीमा जाने हुँदा परिवारका सदस्य एकै पटक भेटिने भनेको बेलुकीको खाना खाने समयमा मात्रै हो ।

किसानहरु बाँदर धपाउन व्यस्त हुँदा भोट माग्न दमेक बडडाँडा पुग्ने उम्मेदवारलाई स्थानीय भेटाउन धौ–धौ परेको छ । अलकझुलक भेटिने स्थानीयले उम्मेदवारले भोट माग्नुपूर्व बाँदर नियन्त्रणको दीगो समाधानको माग गर्छन ।

दुःख जेलो गरेर बर्खा भरी लगाएको खेती भित्र्याउने बेलामा बाँदरले सत्यानास गर्ने हुँदा किसानहरु हैरान छन् । हरेक पटकको निर्वाचनमा बाँदर नियन्त्रणको माग गरे पनि त्यसको दीगो समाधान पाउन सकेका छैनन् ।

‘अन्यत्र भन्दा वडडाडाका स्थानीय माग फरक छ’ बागलुङ क्षेत्र न. १ (ख) प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराम सुवेदीले भने–‘अरु ठाउँमा बाटो, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी प्राथमिकतामा थिए, यहाँ बाँदर नियन्त्रण रहेछ ।’ किसानको समस्या समाधानको लागि निर्वाचित नभए पनि नभए पनि विशेष पहल गर्ने उनको भनाई छ ।

पछिल्लो समय बाँदरले मान्छेलाई बेवास्ता गर्दै बालीमा पस्ने गरेको दमेकका किसान शेरबहादुर परियारले बताए । बाँदरको समस्या जैमिनीमा मात्रै होईन् । बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘क’मा नेकपा एमालेको तर्फबाट उम्मेद्वार हिराबहादुर केसीले पनि ग्रामिण क्षेत्रमा बाँदर नियन्त्रण गरिदिन सर्वसाधारणले गरेको अनुरोध लिपिबद्ध गरेका छन ।

‘विकासका अन्य कामहरु जस्तै बाँदर नियन्त्रणको बिषय किसानहरुको प्रमुख माग हुने गरेको छ’’ केसीले भने– ‘‘हामीले बसाईसराई रोक्न नसक्दा गाउँ पातलिएका छन्, खेती कम हुन्छ, बस्तीका नजिकै रहेका फाँटमा बाँदर पसेर समस्या छ ।’’ उहाँले बाँदर नियन्त्रण गर्न देशका अन्य ठाउँमा भएका राम्रा अभ्यासलाई प्रयोगमा ल्याउनुपर्ने बताए ।

आफूहरूले लगाएको खेतीपाती घरमा ल्याउन नपाएको र घरमा पनि आएर बाँदरले सताउने गरेको किसानहरुको गुनासो छ । बाँदरले बसोबास नै उठाउने अवस्था आएको भन्दै जैमिनी नगरपालिका–१ कुश्मीशेराकी गंगा शर्माले बाँदर नियन्त्रण गर्ने योजना ल्याउने उम्मेद्वारले किसानको मत पाउने बताए ।

बाँदरका लागि वनमा आहाराको व्यवस्था गर्न सके केही हदसम्म नियन्त्रण गर्न सकिने काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले बताए । उनले आफ्नो वडामा रहेका सामुदायीक वनहरुमा फलफुलका बिरुवा रोप्ने अभियान चलाउनुभएको छ । ‘‘वनमा नै खाना र पानी पाए बाँदर गाउँमा आउँदैन्’’ उनले भने ‘‘हामीले बाँदर पनि बाच्न पाउनेगरी नयाँ तरिकाबाट सोच्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

विभिन्न पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा