टरेन ‘रेड जोन’को खतरा !

आमनिर्वाचनको जारी मतगणना परिणामले भूतपूर्व तथा बहालवाला प्रधानमन्त्री, मन्त्री, सभामुख र सांसद कसैलाई पनि ‘रेडजोन’को खतराबाट मुक्त हुन दिएको छैन । रेड जोनको बाहुपास उनीहरूका लागि निकै सकसमय विषय बनेर देखापरेको छ । यसमा एउटा त जित्नैपर्ने मानसिकताले काम गरेको छ भने अर्कोतिर राजनीतिक परिवेशले कोल्टो फेर्ने जमर्को गरिरहेको छ । यसका पछाडि केही घरेलु तथा अरू केही वैदेशिक कारणहरूले काम गरिरहेका छन् । हेर्दा नेपालीहरूका बीचमा एक उम्मेदवारविरुद्ध अर्को खडा भएको देखिएझैं लागे पनि टक्करका पछाडि त्योभन्दा केही बढी अरू कुरा पनि रहेका छन् । यो हुनुमा व्यक्तिगत रूपमा नेताहरूको आजीवन सत्तामा रहिरहने चाहनाले प्रकट रूपमा काम गरेको देखिन्छ । यसले पहिलो कुरा त उनीहरूबीच तिक्ततापूर्ण समकक्षी टकरावलाई निम्त्याएको छ । यो अपाच्य पनि भइरहेको देखिन्छ । दोस्रो कुरा, नेताहरूले अवकाश पनि नलिने र राम्रो अनि परिणाममूलक काम पनि गरेर देखाउन नसक्ने भएकाले दोस्रो पुस्तामा निकै निराशा र विद्रोहको भाव जन्माएको छ । यसले अहिले जनताबीच एक ‘भद्र विद्रोह’लाई जन्माउन पुगेको छ । तर, आशावादिताको कुरा के रहेको छ भने यो विद्रोह अहिले पनि ब्यालेटको सीमाभित्रै रहेर निकै तीव्रतामा चक्कर काटिरहेको छ ।

यतिबेला नै राजकीय सोच भएका नेताहरूले परिस्थितिको वस्तुवादी मूल्यांकन गरेर त्यसको शान्तिपूर्ण तर अग्रगामी निकासमा जोड दिन निकै गहिरो सोचको विकास गर्नु जरुरी छ । नेता अगुवा पनि हुन् र हुनुपर्छ । नेता आफंैमा सिस्टम पनि हुन् र हुनुपर्छ । नेता आफूले हारे वा जिते, यो गौण कुरा हो तर प्रजातान्त्रिक सिस्टमले जित्यो वा पराजित भयो यो मुख्य कुरा हो । सिस्टम रहे मात्र विचार, व्यवस्था र परिपाटी रहन्छ । तर, समकालीन राजनीतिक नेताहरूमा देखिएको यही कमजोरीका कारण देश अहिले अर्को संक्रमणको दिशातिर अग्रसर भइरहेको छ । जनताले सरल भाषामा बुझेको कुरा के हो भने जहानियाँ राणा शासन र सन्तान दरसन्तान राजा हुनुपर्ने शाह शासन फालेपछि अबका दिनमा कसैका आजीवन नेता बनिरहनुपर्ने सोच र चिन्तनको साक्षी बनेर टुलुटुलु हेर्नु जनताकै पनि कमजोरी हो ।

त्यसैले त्यो गल्ती र कमजोरी आफूले नदोह¥याउन जनता सचेत भई अघि बढ्न थालिसकेका छन् । त्यसको छनक काठमाडौंमा स्थानीय सत्तामा स्वतन्त्र उम्मेदवारलाई विजयी बनाएर दिइसकेका थिए । अहिले आमनिर्वाचनको मत गणना हुँदै गर्दा पनि स्वतन्त्र उम्मेदवारलाई मत दिएर त्यसको अग्रगामी निरन्तरता दिइरहेका छन् । यसको अर्थ सत्ताधारी गठबन्धन वा प्रतिपक्षीय तालमेल गर्दा कुनै पनि उम्मेदवारले जित्न पाउनुहुँदैन वा स्वतन्त्र कोही पनि आउन पाउनुहुँदैन भन्ने मूर्खतापूर्ण तर्क लगाउनु पनि हुँदैन । बरु प्रतिस्पर्धात्मक दलीय व्यवस्थाभित्र स्वतन्त्र व्यक्ति तथा व्यक्तित्व बनेर वा स्वतन्त्र दल खोलेर जनताका बीचमा जानुपर्ने बाध्यता कहाँबाट आइलाग्यो, यसको गम्भीर राजनीतिक समीक्षा जरुरी छ । आआफ्ना पार्टीहरूमा शीर्ष तथा बूढा नेताहरूले युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्न नमानेका, नचाहेका वा नदिएका होलान् ! तर युवाहरूको पंक्ति अर्को निकास खोजेर उनीहरूका पार्टी, गठबन्धन र तालमेल समेतका ‘अजंग’का ‘ब्यारियर’ अनपेक्षित रूपमा तोडेर पहिरोजस्तो बनेर अघि बढिरसकेको त छ त ! यसलाई सबै राजनीतिक पार्टी र तिनका शीर्ष नेताहरूले गम्भीरताका साथ मनन् गरी कमीकमजोरी समयमै सच्याउनु जरुरी छ । ‘रेड जोन’को खतराले गरेको गम्भीर राजनीतिक संकेत यही हो ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 6 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली–प्रचण्ड टेलिफोनपछि दलीय समीकरण फेरिने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९