काठमाडौं । गायक हिमाल सागरको करिब एक वर्षपछि नयाँ गीत ए होर माया…यतिबेला बजारमा आएका छ । यो गीतको भिडियो उनले बिहिबार रिलिज गरेका हुन् ।
कोरोना साम्य भएपछि अमेरिकाको लागि एकल साँगीतिक टुरमा निक्लेका हिमाल सागरले त्यहाँ एक दर्जन राज्यमा कन्सर्ट गरे । आफ्नो साँगीतिक यात्रा सकेर नेपाल आएका उनको नयाँ गीत बजारमा आएको हो । उनको यो गीत भावना म्युजिक सोलुसन च्यानलबाट रिलिज भएको छ ।
लोक पप शैलीको यो गीतमा हिमाल सागरसँगै अनु चौधरीको स्वर रहेको छ । गीतमा शब्द विमल अधिकारीको छ । गीतमा संगीत पनि विमलले नै सृजना गरेका हुन् । जसमा संगीत संयोजन कमल सौरागको छ । लामो समयदेखि मोडलिङ गरेका बिमलले गीतको भिडियोमा पनि मुख्य भूमिका निर्वाह गरेका छन् ।
‘विमल अधिकारीको शब्द संगीत मलाई मन परेका कारण यो गीत गाएको हुँ । करिब एक वर्षको अन्तरालमा यतिबेला यो गीत आएको हो ।’ उनले राजधानीसँग भने ।
यो गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईले अभिनय गरेका छन् । भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । जसमा राजेश घिमिरेको छायाँकन र विकाश ज्ञवालीको सम्पादन छ ।