इलाम । पूर्व प्रधानमन्त्री तथा पाँच पटकसम्म निरन्तर निर्वाचि हुँदै आएका झलनाथ खनालसँग चुनावी प्रतिष्पर्धामा गरिरहेका इलामका महेश बस्नेत जिल्लामा परिचित भएपनि सिंगो मुलुकमा भने अपरिचितनै थिए । खनाल र बस्नेतको चुनावी समाचार बनाउँदा राजधानीका सञ्चारमाध्यमहरुले भक्तपुरे महेश बस्नेतको तस्बीर राखेर समाचार बनाइरहेका हुन्थे । राष्ट्रिय रुपमा अपरिचित इलामे महेश बस्नेत झलनाथ खनालको २५ वर्षे विरासत पल्टाउँदै गठबन्धनको चुनौतिलाई समेत सामना गरेर इलाम १ प्रतिनिधि सभामा निर्वाचित बनेपछि भने यतिखेर मुलुकको चासो र चर्चाको विषय बनेका छन् । राष्ट्रपति बन्ने अभिष्टका साथ पाँच दलीय गठबन्धनको सहारामा सातौं पटक उम्मेद्वार बनेका खनाललाई फराकिलो मतान्तरले पराजय गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा विजय घोषणा नगरे पनि उनी २६ सय ८८ मतको फराकिलो मतअन्तरले विजयी बनेका छन् । बस्नेतले २५ हजार ७५० मत प्राप्त गरेका छन् भने खनालले २३ हजार ८८ मत प्राप्त गरेका छन् ।
को हुन् महेश बस्नेत ?
राजनीतिक रुपमा चतुर र चुनावी रणनीतिमा माहिर मानिने महेश बस्नेत भिजन दुरदर्शी नेताको रुपमा पनि जिल्लामा परिचत छन् । दृढ इच्छाशक्ति भए एकै कार्यकालमा पनि धेरै गर्न सकिन्छ भनेर पुष्टि गर्ने नेताको रुपमा चिनिन्छन्, महेश बस्नेत । इलाम नगरपालिकाको दुई पटकको नेतृत्व गर्दा महेश बस्नेतले गरेको यस्ता थुप्रै उदाहरण छन् । इलाम नगरपालिकाको पछिल्लो पाँच वर्षे कार्यकालमा बस्नेतले स्थानीय तहलाई सरकारको हैसियतमा स्थापना गर्नको लागि विधि निर्माण, भौतिक पूर्वाधार, सामाजिक सुरक्षाका कार्यक्रम, खेलकुद, पर्यटनको क्षेत्रमा सयौ दीर्घकालिन काम गरेर आफूलाई सफल सावित गरिसकेका छन् ।
बस्नेतको नेतृत्वमा इलाम नगरपालिकाको सर्वाधिक २१९ वटा ऐन, कानुनहरु बनिएका छन् । इलाम नगरपालिका कानुन निर्माणमा अन्य पालिकाको तुलनामा निकै अघि छ । कानुन निर्माणमा अन्य समकक्षिहरुले बस्नेतकै सिको गरेका छन् । अहिले इलाम नगरपालिका बबस्नेतकै नेतृत्वमा बनेका कानुनहरुको आधारमा इलाम नगरपालिका चलिरहेको छ ।
पहाडी क्षेत्रमा रहेको प्राविधिक विषय पठनपाठन हुने क्याम्पसको अभावलाई टार्न बस्नेतले पूर्वी पहाडी क्षेत्रमानै पहिलो पटक स्नातक तह पढाई हुने कृषि क्याम्पस स्थापना गरेका छन् । अहिले क्याम्पसमा कृषि प्राविधिक अथवा बिएसी एजीको पठनपाठन भइरहेको छ । उनकै नेतृत्वमा इलाम सामुदायिक आँखा अस्पताल स्थापना भएको छ । सयौ आखाँका रोगीहरुले अहिले घर आगनबाटै सेवा पाइरहेका छन् । उनैको कार्यकालमा निर्माण शुरु भएको चलचित्र हल सहितको बहुतले पार्किङ्ग निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीय तहले सार्वजनिक नीजि साझेदारी ऐन बनाएर नेपालमानै पहिलो पटक सिटी मार्ट बनाउन सफल भए, त्यो पनि सार्वजनिक नीजि साझेदारीमा । उनकै कार्यकालमा बालबालिकाको लागि फन पार्क निर्माण भएको छ । जनक देव, पारिजात, शंखधर साख्वा, राष्ट्रिय विभूती फाल्गुनन्द, गजराजसिङ थापा लगायतको शालिक स्थापना भएको छ भने मजदुरहरुको सम्मानको लागि चोक बजारमा चिया मजदुुरको प्रतिमा पनि उनकै कार्यकालमा स्थापना भएका हुन् ।
बस्नेतले गरेको सार्वजनिक जग्गाको व्यवस्थापन पनि अनुकरणीय छ । बजार भित्रको खोल्सिको ब्यस्थापन गरेर बस्नेतले आँखा अस्पताल, श्रष्टा पार्क, तरकारी बजार, पशुपंक्षी बजार, कभर्ड हल, मोटरसाइकल पार्किङ्ग, र ब्यवस्थित मासु पसलको निर्माण गरेका छन् ।
उनकै कार्यकालयमा इलाम नगरपालिकाको भब्य कार्यालय भवन, तीन वटा कभर्ड हल, बास्केटबल कोर्ड निर्माण भएका छन् । एक वडा एक खेलमैदानको अभियान चलाएका बस्नेतको कार्यकालमा माइखोलामा महत्वकाक्षी माई भगवती रंगशाला निर्माण भइरहेको छ । प्रत्येक वडामा खेलमैदान तयार भएका छन् ।
बस्नेतले विभिन्न क्षेत्रगत समिति बनाएर उनीहरुलाई परिचालित गराए । साहित्य कलाको क्षेत्रमा काम गर्न साहित्य कला संगीत प्रतिष्ठान, पर्यटन समिति, आदिवासी जनजाति समन्वय समिति, दलित समन्वय समिति, महिला समिति, युवा परिषद गठन, नगर खेलकुद विकास समिति गरेर क्रियाशील गराएका छन् । यसबाट सवै विधाको समानुपातिक विकासमा निकै योगदान गरेको छ ।
इलाम नगरपालिकाको अघिल्लो पटक २०५४–०५९ मा मेयर हुँदा तत्कालिन उपमेयर कृष्णप्रसाद श्रेष्ठ र २ नम्बरका वडाध्यक्ष गणेश राई समेतको पाँच बर्षे कार्यकालमा आफूले पाउने तलव भत्ता बापत रकमबाट तिल्केनीमा १६ रोपनी जमिन खरिद गरेर ३२ परिवार सुकम्बासीलाई लालपूर्जा सहित बसोबास गराएका थिए ।
२०१७ साल असार ६ गते इलामको शान्तिपुरमा पूर्व हवल्दार पदम बहादुर बस्नेत र विष्णुमाया राई बस्नेतको माइला सन्तानको रुपमा बस्नेतको जन्म भएको हो । उनी विद्यार्थी रहदा २०३०–३१ सालदेखि कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेका हुन् । उनी २०३६ सालमा अनेरास्वबियुुबाट मरब क्याम्पसको स्वबियु सदस्यमा निर्वाचित भएका थिए । बस्नेतले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए ।
त्यसै बेला प्ररायुसंघको इलाम नगर सचिव हुँदै उनी नगरको पार्टी सचिवको जिम्मेवारी पुरा गरेका छन् । बस्नेत २०५४ को निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०५९ देखि नेकपा एमालेको जिल्ला कमिटि सदस्य भएका उनी २०६३ देखि जिल्ला सचिवालय सदस्यको रुपमा क्रियाशील रहे । २०७३ मा नेकपा एमालेको जिल्ला सचिवमा निर्वाचित भएका बस्नेत हाल एमालेको जिल्ला कमिटि अध्यक्षको जिम्मेवारीमा छन् ।
अर्थशास्त्रमा बिए र इतिहास विषयमामा स्नाकोत्तर गरेका बस्नेतले २०५१ देखि २०५४ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए । त्यस अघिपनि उनी सोही क्याम्पसमा आशिंक प्राध्यापकको रुपमा काम गरेका थिए ।
कुनै बेला कुशल फुटवलर रुपमा चिनिएका बस्नेतले २०३५-०३६ तिर मेची अञ्चलबाट राष्ट्रिय फुटवल प्रतियोगीता खेलेका थिए । उ बेलाको चर्चित राष्ट्रिय प्रतियोगीताहरु अन्तर नगर फुटबल प्रतियोगीता, इन्टर युनिभरसिटी कम्पिटिसन प्रतिष्पर्धामा सहभागी भएको उनको खेल जीवनको सुखद अनूभव छ । माइभ्याली स्पोर्टिङ्ग क्लबका संस्थापक अध्यक्ष रहेका बस्नेतको नेतृत्वमा इलाममा भुकम्प पीडित स्मृति कप फुटवल हुने गरेको थियो । भुकम्प पीडितको उद्धारमा योगदान गरेबापत उनले राजाबाट भुकम्प पीडित उद्धार पदक प्राप्त गरेका छन् ।
लेखकको रुपमा बस्नेतको ‘कविता’ नामको कविता संग्रह र सुनुवार जातको परिचय नामको किताव प्रकाशित छन् । उनी इलामको पहिलो सामुदायिक रेडियो इलाम एफमको संस्थापक मध्येका एक हुन् भने उनी नेपाल पत्रकार महासंघ इलाम–पाँचथर संयुक्त शाखाका समेत संस्थापक सदस्य हुन् । उनले क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी लगायतका दर्जनौ सामाजिक संस्थामा पनि काम गरेका छन् ।
इलामको सवै भूगोल, बसोबास, नागरिकको सामाजिक र आर्थिक अवस्थाको ’boutमा गहिरो जानकारी राख्ने बस्नेतकै प्रस्तावित खाँकाका आधारमा इलामको पुनरसंरचना भएको प्रतिपक्षीहरु स्वयम स्वीकार्छन । इलामको राजनीतिमा माहिर खेलाडीको रुपमा लिइने बस्नेत इलामको क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभाको उम्मेद्वार छन् ।