जाडो नदेखेको भन्दै ओलीलाई बालेनको प्रतिप्रश्न

Online Nepali News Portal

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ‘भोट बैंक’ बनाएको सुकुमबासीका ३२ जाडो नदेखेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्न गरेका छन् ।

मंगलबार एक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटर लेखेर मेयर बालेनले ओलीलाई यस्तो प्रतिप्रश्न गरेका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले बाग्मती किनारका सुकुमबासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले किन नदेखेको भनेर टिप्पणी गरे ।

‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । ’cause, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुमबासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर, सुकुमबासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुमबासी तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आप्mनो स्वार्थविपरीतका कुरामा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थमा ।’

यसैगरी, मेयर बालेनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन् । ‘हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अघि बढाउनुभयो ?’ उनले आफ्नो स्टाटसमा लेखेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।’ यसैगरी, मेयर बालेनले अब परिस्थिति फेरिइसकेको भन्दै ओलीलाई चेतावनी दिएर लेखेका छन् ‘सकेको सहयोग गर्नुहोला, तर, कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोेला ।’

मंगलबार ललितपुरको च्यासलस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मेयर बालेन साह र संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दे यस्तो बताएका थिए । सोमबार थापाथलीस्थित सुकुमबासी बस्तीमा एकीकृत बाग्मती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो । डोजर चलाउन पुगेको महानगरको टोली र सुकुमबासी बस्तीका स्थानीयबासीबीच झडप हुँदा दर्जनौं घाइते भएका थिए ।

थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाएको विषयलाई लिएर बृहत् नागरिक आन्दोलनले काठमाडौं महानगरले गरेको कार्यप्रति आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनले सुकुमबासी जस्तो संवेदनशील विषयलाई राज्यले अमानवीय र क्रुर दृष्टिकोणले हेर्नु निन्दनीय भएको बताएको छ ।

आपसी संवाद र सहमतिबिना बसोबासको उचित र न्यायिक व्यवस्थापन असम्भव भएको यो नागरिक आन्दोलनले जनाएको छ । डोजरलाई विकासको औजार मान्नेहरूको यो अलोकतान्त्रिक, अमानवीय र अन्यायी कदम भएको भन्दै बृहत् नागरिक आन्दोलनले घोर भत्र्सना गरेको विज्ञप्तिमार्फत भनेको छ । उसले ‘बस्तीका बालबालिका, अशक्त, वृद्धवृद्धा र किरिया बसिरहेका नागरिकलाई समेत बेवास्ता गरी बस्ती भत्काउन खोजियो’सो विज्ञप्तिमा भनेको छ ।

यसरी घरबासको रक्षा गर्ने क्रममा बस्तीमा मुठभेड हुनु चिन्ताजनक भएको उसले पछिल्लो समय भूमिहीन सुकुमबासीको बसोबासको हक सुनिश्चित गर्न महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच भएको लिखित सहमति महानगरपालिकाले पालना गर्नुपर्ने जनाएको छ ।

सोमबार थापाथलीमा भएको डोजर चलाउने कार्यविरुद्ध मंगलबार काठमाडौंको थापाथलीस्थित बाग्मती नदी किनारका सुकुमबासी बस्तीका स्थानीयले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर प्रदर्शन गरेका थिए । आफूहरूको उचित व्यवस्थापनबिना हटाउन लागिएको भन्दै उनीहरूले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

एकीकृत बाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेसहित ३६ जना घाइते भएका थिए ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार मंगलबार बिहान सुकुमबासी बस्तीका करिब ३ सय जना महानगर घेर्न पुगेका थिए । थापाथलीबाट नारा जुलुस गर्दै पुगेका उनीहरूले महानगरविरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका थिए । मंगलबार पनि उनीहरूले थापाथलीका सुकुमबासी बस्ती छिर्ने मुख्य बाटामा टायर बालेर प्रदर्शन गरेका थिए ।

एकीकृत बाग्मती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोहीअनुसार बस्ती खाली गर्न महानगर टोली सोमबार डोजर लिएर पुगेपछि थापाथली क्षेत्र तनावग्रस्त भएको थियो । सो क्षेत्रमा करिब ५ हजार सुकुमबासीको जनसंख्या रहेको अनुमान महानगरपालिकाले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ