सार्कमा सराहनीय पहल

श्रीमननारायण

चीनको वुहानबाट फैलिएको कोरोनाको महामारीले पुरै विश्वलाई आतंकित बनाएको छ । यो भाइरसविरुद्ध लड्न विश्वका सबै देश सक्दो प्रयास गरिरहेका छन् । महामारी आफंैमा कुनै पनि देशको भूगोलभित्र सीमित नरहने हुनाले यसको मुकाबला गर्न साझा प्रयत्न जरुरी छ । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा कोरोना महामारीसित मुकाबिला गर्न भिडियो कन्फ्रेन्समार्फत सार्क देशका नेताबीच गम्भीर छलफल गरी महामारीविरुद्ध लड्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् । विगत ६ वर्षदेखि शिथिल अवस्थामा रहेको सार्कलाई सक्रिय बनाउने साइत पनि यसले जुराएको छ ।


कन्फ्रेन्समार्फत सार्क राष्ट्रका नेताले कोरोना भाइरसको चुनौतीको सामना गर्न आफूहरूले गरिरहेका तयारीका ’boutमा आआफ्ना अनुभव साटासाट गर्नुका साथै साझा प्रयासका लागि आआफ्ना सुझाव पनि आदान–प्रदान गरे । छलफलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्क आपतकालीन कोष स्थापनाको प्रस्तावसहित एक करोड अमेरिकी डलर दिने वाचा गरे । अन्य देशले स्वेच्छिक रूपमा योगदान गर्न सक्ने र आवश्यकताअनुसार सार्क मुलुकले कोषको रकम उपयोग गर्न सक्ने पनि बताए । यस प्रस्तावमा सार्कका सबै मुलुकले आफ्नो प्रतिबद्धता जनाए ।


भिडियो छलफलमा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना सक्रिय गर्ने समझदारी भएको छ । सार्क सदस्यबीच सूचना आदान–प्रदान तथा दीर्घकालीन सहकार्यमा जोड दिइएको छ । विश्वको कुल जनसंख्याको २० प्रतिशत आवादी रहेको यो क्षेत्रमा सार्क सदस्य राष्ट्रबीच सामाजिक एवं सांस्कृतिक सम्बन्धका साथै प्राकृतिक विपद्मा सहकार्य हुँदै आएको छ । कोरोना महामारी नियन्त्रणका लागि भारतले कदम चालिसकेको छ । सार्क मुलुकमा आवश्यक परे भारतले चिकित्सक र विशेषज्ञको रेपिड रेस्पोन्स टिमका साथमा टेस्टिङ कीट र उपकरण पठाउने पनि बताएको छ । गम्भीर चुनौतीको घडीमा सबै मिलेर काम गर्नुको विकल्प नरहेको कुरामा सबैको सहमति रहेको छ ।


मोदीले आपतकालीन उद्धार टिमका लागि अनलाइन तालिम दिन भारत तयार रहेको साथै शंकास्पद संक्रमितको पहिचान र निगरानीका लागि प्रयोगमा ल्याइएका जिल्लास्तरीय एकीकृत निगरानी पोर्टल उपलब्ध गराउन र यसको प्रयोगलाई तालिम दिन सकिने प्रस्ताव गरे । मोदीले सार्कमा महामारी नियन्त्रणका लागि साझा अनुसन्धान केन्द्र बनाउने प्रस्ताव गरे । यसको निम्ति भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले सहयोग गर्ने भएको छ । विज्ञलाई महामारीले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असरको अध्ययन गर्नका लागि आग्रह गरिएको छ । मोदीले कोभिड–१९ सित मुकाबिला गर्न सार्क मुलुकबीच साझा स्वामित्वको आवश्यकता माथि जोड दिँदै हाम्रो सहकार्यले विश्वजगत उदाहरण बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । हुनत मोदीले कोरोना भाइरससित मुकाबिला गर्न जी–२० का देशलाई पनि सामूहिक छलफलका निम्ति आह्वान गरेका छन् ।


प्रधानमन्त्री ओलीले अस्पताल, स्वास्थ्य क्षेत्र, अनुसन्धान, संस्था र स्वास्थ कार्यकर्ताबीच आफ्नो अनुभव अनुसन्धानका विवरण र उत्कृष्ट अभ्यास साटासाट गर्नका लागि क्षेत्रीय सञ्जालको विस्तार गर्न सकिने, स्रोत साधनसहितको सार्कस्तरीय आपत्तकालीन स्वास्थ केन्द्र स्थापना गरिनुपर्ने र औषधी, स्वास्थ उपकरणलगायतको आपूर्ति सुनिश्चित गर्न सार्कस्तरीय संयन्त्र निर्माणको आवश्यता औंल्याउनु भएको छ । भारतका प्रधानमन्त्री मोदीलगायत सार्क राष्ट्रका सबै नेताले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका सरकार प्रमुख एवं प्रतिनिधिले पनि कोभिड–१९ महामारीसित मुकाबिला गर्न आफ्नो सुझाव दिनु भएको थियो । यस सम्मेलनले एकातिर सार्कलाई पुर्नजीवन प्रदान गरेको मान्न सकिन्छ भन्ने अर्कोतिर छलफलमा सहभागी पाकिस्तानका प्रतिनिधि तथा त्यहाँका स्वास्थ्य मन्त्रीले अनावश्यक रूपमा भारतको आन्तरिक मामिलामा हस्तक्षेप गरेर एकपटक पुनः सार्क चार्टरको भावनाको उल्लंघन गरेका छन् र यसबाट पुनः सार्कको भविष्यलाई अन्धकारमय बनाउन सकिने सम्भावनालाई पनि सोझै खारेज गर्न सकिँदैन ।


पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएर त्यो नरोकिएसम्म दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढ्न नसक्ने बताउँदै आएको भारतले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सार्कको साझा रणनीति बनाउने सार्थक प्रयास गरेको छ । सार्क राष्ट्रका प्रमुखहरू सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनपछि पहिलोपटक यसरीसँगै छलफलमा सहभागी हुनु सार्कको भविष्यको निम्ति ठूलो कुरा हो । पाकिस्तानमा सन् २०१६ मा १९औं शिखर सम्मेलन हुने तय भए पनि भारतको उरि सैन्य क्याम्पमा आतंककारीद्वारा गराइएको आक्रमणका कारण त्यो सम्मेलन सफल हुन सकेन । भारत र पाकिस्तानबीच विकसित कटुतापूर्ण सम्बन्धका कारण सार्क निष्क्रिय बन्न पुगेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कलाई पुनः सक्रिय पार्ने सफल प्रयास गरेका छन् । तर, एकपटक पुनः यस प्रयासमाथि पनि पाकिस्तानले भारतको काश्मिर प्रान्तको चर्चा गरेर भारतलाई जिस्क्याउने काम गरेको छ । यद्यपि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालै यस सम्बन्धमा कुनै टिप्पणी त गरेनन् तर यसको प्रभाव सार्कको भविष्य माथि पर्ने निश्चित छ ।


यति मात्रै होइन पाकिस्तानका स्वास्थमन्त्रीले कोरोना भाइरसबाट सर्वाधिक प्रभावित चीनको भूमिका पनि यसमा खोज्न थाले । कथम् कदाचित यसमा कसैले अमेरिकाको भूमिका पनि खोज्न थालेका भए सार्कको भविष्य कस्तो हुने हो ? यसको सहज नै कल्पना गर्न सकिन्छ । एकपटक पुनः पाकिस्तानले सार्कको मञ्चलाई द्वीपक्षीय मुद्दामा अल्झयाउने प्रयास गरेको छ जुनकि नहुनुपर्ने हो । महामारी रोकथामको लागि गम्भीर छलफल भइरहेको अवस्थामा पनि राजनीति हुनु दुर्भाग्यपूर्ण हो । तथापि, कोरोना महामारीको रोकथामका निम्ति पनि सार्कका सदस्य आपसमा छलफल गर्न सहमत हुनु र यस क्षेत्रका जनताको स्वास्थ्यसम्बन्धी समस्याको समाधानका निम्ति प्रतिबद्धता व्यक्त गर्नु सराहनीय कार्य हो ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि