छिमेकी देश चीनको बुहान सहर हुँदै सिंगो विश्वभर फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वलाई आतंकित बनाएको छ । विश्व स्वास्थ्य संगठनले अपडेट गरेको तथ्यांकअनुसार २१ मार्च, २०२० सम्म यो संक्रमण १७६ देशमा फैलिसकेको र २७४६२० जना मानिसमा संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९०९४२ को उपचार भइसकेको छ भने संक्रमणबाट ११३७२ मानिसको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी इटालीमा ४०३२ जना, चीनमा ३२६५, इरानमा १४३३, स्पेनमा १०९३, फ्रान्समा ४५०, अमेरिकामा २७२, दक्षिण कोरियामा ११० जनाको मृत्यु भइसकेको छ । हालसम्म १७ लाख मानिस यो संक्रमणबाट प्रभावित भएका छन् । कोभिड–१९ को संक्रमण जुन रफ्तारमा फैलिरहेको छ, यसबाट हालको विश्वको ७ अर्ब ७० करोडमध्ये ४० देखि ७० प्रतिशत अर्थात् झन्डै ३ अर्बदेखि ५ अर्ब जनसंख्यालाई प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय श्रम संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यो अनुमान गरिएको छ । कोभिड–१९ को संक्रमणले विश्वको यति धेरै जनसंख्यालाई प्रभाव पार्ने अनुमान गरिएको छ कि यसले भयावह अवस्था सिर्जना गर्नेछ ।
कोभिड–१९ को संक्रमणले मानिसको ज्यान मात्रै लिएको छैन, यसको संक्रमण सिंगो विश्वको अर्थव्यवस्था हुँदै श्रम बजारमा फैलिएको छ । अर्थात् कोभिड–१९ को संक्रमणले मानवीय क्षतिको अलावा अर्थतन्त्रका सबै क्षेत्र, उत्पादन, रोजगारी, आपूर्ति, आदि सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्दै लगेको छ । संक्रमणका कारण उद्योग व्यवसाय सुचारु रूपले सञ्चालन हुन नसक्दा वस्तु र सेवाको आपूर्तिमा मात्रै होइन, मागमा आधारित उत्पादन, उपभोग र लगानीमा समेत प्रभाव पर्न थालेको छ । यस किसिमको स्थिति सुरुमा एसियामा उत्पन्न भई उत्पादन न्यून हुन थाल्यो र पछि समग्र विश्वभर प्रभाव पर्न थालेपछि यसले आपूर्ति श्रृंखलामा पनि प्रभाव पार्दै लगेको छ, जुन विश्वभरका श्रमजीवीवर्ग, तिनका आश्रित परिवारको जीवनयापनका लागि दुःखदायी एवं कष्टदायी बन्दै गएको छ । कोभिड–१९ को संक्रमणबाट खासगरी व्यापार, व्यवसाय, हवाई उड्यन, पर्यटन, होटल, क्षेत्रमा प्रभाव पारेको छ । यसबाट सरकारले प्राप्त गर्ने राजस्व र रोजगारीमा प्रमुख रूपले प्रभाव पारेको छ । साना उद्यमी, व्यवसायी, स्वरोजगारमा समेत प्रभाव परेको छ । खासगरी हवाई उड्यन बन्द र मानिसको आवतजावतमा नियन्त्रण र मानिस क्वारेन्टाइनमा बस्न थालेपछि यो स्थिति उत्पन्न भएको छ ।
बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज बन्न सकेको छैन । वस्तु लुकाउने, महंगो मूल्यमा बिक्री वितरण गर्ने, कालोबजारियाको बिगबिगी बढेको छ । संक्रमणका कारण लगानी कर्ता थप लगानी गर्न उत्साहित हुने स्थिति छैन, यसले विश्व अर्थव्यवस्थामा प्रक्षेपित आर्थिक वृद्धि घट्न जाने, र रोजगारीमा पनि संकुचन हुने देखिएको छ । र यो संक्रमणको असर वा फैलावट अझै ३÷ ४ महिनासम्म हुनसक्ने जुन अनुमान गरिएको छ, यसबाट सिंगो विश्व अर्थव्यवस्थामा मन्दी हुने देखिएको छ ।
कोभिड–१९ को प्रभावबाट विश्वको कुल गाहस्र्थ उत्पादनमा १.६ प्रतिशतले गिरावट आउने र आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित भई नकारात्मक प्रभाव पार्ने आईएलओले अनुमान गरेको छ । विश्वमा अब बेरोजगारी न्यूनतम ५३ लाखदेखि २ करोड ४० लाख संख्यामा पुग्नेछ, जुन सन् २००८÷२००९ को विश्वव्यापी आर्थिक संकटबाट उत्पन्न बेरोजगारी संख्याभन्दा यो संख्या २० लाखले थप हुनेछ ।
यसरी कोभिड–१९ का कारण बेरोजगारीको संख्या बढ्दै गएपछि यसले श्रम क्षेत्रमा थप प्रभाव पार्ने देखिएको छ, खासगरी श्रमिकको काम गर्ने घण्टा र ज्याला परिश्रमिकमा समेत कटौती हुन जानेछ । यो संक्रमणको थप असर स्वरोजगारी गर्ने र साना व्यवसायीमा पर्नेछ । किनकि, मानिसको एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा हुने कमीसँगै वस्तुको बिक्रीवितरणमा हुने कमीले यस क्षेत्रमा प्रभाव पर्नेछ । कोभिड–१९ को संक्रमणको प्रभाव अध्ययन गर्ने क्रममा के अनुमान गरिएको छ, भने सन् २०२० को अन्त्यसम्म ८६० विलियन डलर देखि ३.४ ट्रिलियन डलर रकमसम्म कामदार कर्मचारीले आफ्नो आम्दानी गुमाउनेछन् । यसरी रोजगारीबाट बिमुख हुनुपर्ने अवस्था, न्यून ज्याला, न्यून आम्दानी, आदिका कारण ८८ लाखदेखि ३ करोड ५० लाखसम्म श्रमिक कामदार थप गरिबीमा धकेलिने स्थितिको अनुमान गरिएको छ । कोभिड–१९ को महामारी र विगत २००८÷२००९ को आर्थिक संकटको अनुभवबाट के अनुमान गर्न सकिन्छ भने, वृद्ध उमेरका जनसंख्यालाई खास गरी स्वास्थ्य उपचारको समस्या झन् बढेर जानेछ, यस्तै युवा त्यसै पनि बेरोजगार छन्, अब यो संक्रमणबाट श्रमबजारमा कामदार श्रमिकको मागमा कमी आउँदा बेरोजगारीको झन् भयावह अवस्था सिर्जना हुनेछ । आप्रवासी श्रमिक झन् प्रताडित बन्नेछन्, किनकि उनीहरूले सम्बन्धित देशमा सहज ढंगले रोजगारी वा आर्थिक सुविधा प्राप्त गर्न सक्ने छैनन्, भने संक्रमणका कारण हवाई उड्यन बन्द हुँदा आफ्नो घरसमेत फर्किंन नपाउँदा उनीहरूको अवस्था झन् कष्टप्रद बन्दै गएको छ ।
कोभिड–१९ को संक्रमणबाट अर्थतन्त्रमा जुनखालको संकट उत्पन्न हुँदै गएको छ, अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गर्न र कोभिड–१९ को संक्रमणविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार हरेक देशमा नीति कार्यक्रम बनाई युद्धस्तरमा लागू गर्न आईएलओले सुझाव अगाडि सारेको छ । जसअनुसार विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मापदण्डअनुसार पहिलो, श्रमिकलाई कार्यस्थलमा सुरक्षा प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्छ, यसअन्तर्गत व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका मापदण्डलाई प्रभावकारी रूपमा लागू गर्नुपर्छ । संक्रमणका कारण श्रमिकलाई कार्यस्थलसम्म नै पुगेर काम गर्न कठिनाइ हुने स्थितिमा घरमा आधारित रहेर काम गर्ने वातावरण सिर्जना गर्ने, यस्तै इन्टरनेट वा टेली वर्किङ कार्यपद्धतिलाई अवलम्बन गर्नुपर्छ । यस्तो संक्रमणको बेला श्रमिकलाई कुनै पनि किसिमको भेदभाव र बहिष्करण गरिनुहुँदैन । यस्तो बेलामा श्रमिकलाई तलबी बिदामा प्रोत्साहित गर्नुपर्छ ।
दोस्रो, संक्रमणबाट अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गर्न रोजगारी विस्तार गर्ने वित्तीय र मौद्रिक नीति अवलम्बन गरी, वित्तीय सहयोग अनुदान र सस्तो दरको कर्जा उपलब्ध गराई आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्छ । बेरोजगार, गरिब, वृद्धवृद्धाका लागि पर्याप्त मात्रामा सामाजिक सुरक्षा, रोजगार उन्मुख कार्यक्रम, तलबी बिदा र अन्य अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्वरोजगार तथा साना उद्योगी÷व्यवसायीलाई अनुदान तथा कर छुट प्रदान गर्नुपर्छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कोभिड–१९ को संक्रमणबाट विश्व अर्थतन्त्रका साथै श्रमिकवर्ग र तिनका आश्रित परिवारका लागि पुनर्जीवन र राहत प्रदान गर्न सिफारिस नीति नेपालले पनि मार्गदर्शनको रुपमा लिनुपर्छ । नेपाल कोरोना भाइरसबाट मानवीय क्षति भई नसके पनि अप्रत्यक्ष रूपमा यसले अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । उद्योग व्यवसायका लागि छिमेकी देशबाट कच्चा पदार्थ पैठारी नहुँदा उद्योगबाट हुने उत्पादनमा कमी र अभाव हुँदै गएको छ । मूल्य वृद्धि, कालाबजारी बढेर न्यून आय भएका श्रमजीवीलाई ठूलो मार पारेको छ । हरेक दिन १२००÷१५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेका युवा रोकिएका छन् । खाडी मुलुक तथा युरोपियन देशबाट हजारौंको संख्यामा वैदेशिक रोजगारीमा गएका कामदार फर्किन थालेपछि बेरोजगारीको संख्यामा वृद्धि भएको छ । नेपाल भ्रमण वर्ष २०२०का सबै कार्यक्रम रोकिएका छन् ।
संक्रमण सुरु नहुँदै प्रभाव पर्न थालेको अर्थतन्त्र चलायमान बनाउन र स्वास्थ्य सेवा क्षेत्रमा सुधार र परिवर्तन गरी स्तरोन्नति गर्ने एकीकृत नीति तथा कार्यक्रम लागू गर्न स्टिमुलेसन कार्यक्रमको घोषणा गर्नुपर्छ । यसका लागि अर्थतन्त्रलाई चलायमान बनाउने गरी वित्तीय र मौद्रिक नीति अवलम्बन गर्नुपर्छ । दोस्रो, कृषकलाई उत्पादन वृद्धिमा सरिक गराउन, कृषि मन्त्रालयबाट हालै सार्वजनिक गरिएको कृषि विकासको नीति र कार्यक्रमलाई राष्ट्रिय कार्यक्रमका रूपमा घोषणा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । तेस्रा, स्वरोजगार, व्यापार व्यवसाय, उद्योग, पर्यटन, आदि क्षेत्रमा कोभिड–१९ ले पारिरहेको प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावलाई ध्यानमा राखी सरकारले कर, बैंकको साँवा ब्याजको किस्ता भुक्तानी, जरिवानाका साथै विद्युत् महसुलमा छुटजस्ता राहतमूलक कार्यक्रमको घोषणा गर्नुपर्छ । चौंथो, कोरोना संक्रमण कुनै पनि बेला नेपालभित्र फैलन सक्छ । अतः स्वास्थ्य सेवालाई आधारभूत तहसम्म सुनिश्चित गर्न व्यापक लगानी गर्नुपर्छ । सम्भावित संक्रमणबाट बच्न बचाउन स्वास्थ्य चौकी र अस्पतालको क्षमतामा स्तरोन्नति गर्नुपर्छ । पाँचांै, आपूर्ति व्यवस्थालाई सहज र प्रभावकारी बनाउन ७५३ वटा पालिकामा सुपथ मूल्यको बजार खाद्यवस्तु बिक्रीवितरण केन्द्र खडा गरी खाद्यवस्तु उपलब्ध गराउनुपर्छ ।
त्यसैगरी, अनुत्पादक र सुविधाजन्य आर्थिक सुविधाजस्ता सार्वजनिक खर्चमा व्यापक कटौती गरी मितव्ययिता कायम गर्ने राष्ट्रिय घोषणा गर्नुपर्छ । स्वदेशी वस्तुको उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्छ । यस्तै, सरकारले तत्काल आपतकालीन कोष खडा गर्नुपर्छ । यस्तो कोषमा उद्यमी, व्यवसायी र राज्यकोषबाट पारिश्रमिक पाउनेबाट सहयोग प्रदान गर्न अपिल गर्नुपर्छ ।






