आर्थिक वर्ष २०७९-८० को बजेटमा संघीय सरकारले साईपाल गाउँपालिका–१ र ४ मा खानेपानी योजनाका लागि विशेष अनुदानमार्फत् ५०-५० लाख बजेट विनियोजन ग-यो । सुदूरपश्चिम प्रदेश सरकारले पनि वडा १ को जिम्मा विद्युत् नहर निर्माणका लागि विशेष अनुदानमार्फत् २५ लाख बजेट विनियोजन ग-यो ।
केही समयअघि कार्यपालिका बैठक बसेर सबै वडालाई सबै योजनाको उपभोक्ता समिति गठनसहित कार्य अघि बढाउन भन्दै निर्णय पारित गरियो । सबै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिलाई जानकारीसमेत गराइयो । यही आधारमा साईपाल गाउँपालिका–४ का स्थानीय आमभेलाबाट धुली खानेपानी योजनाका लागि उपभोक्त समिति गठन गरियो ।
खानेपानी योजना सम्झौताका लागि धुलीबाट उपभोक्ता समिति अध्यक्ष, सचिव र कोषाध्यक्ष तीन दिनको पैदल यात्रा गरी सदरमुकाम चैनपुरस्थित साईपाल गाउँपालिका सम्पर्क कार्यालय पुगे । तर, केही निर्वाचित जनप्रतिनिधिको दबाबका कारण कार्यालय कर्मचारीले सम्झौता गर्न मानेनन् । उल्टै ‘योजना टेन्डर प्रक्रियाबाट अघि बढाउने, नयाँ नियमावली आएको, उपभोक्ता समितिमार्फत् काम गर्न नमिल्ने, समितिबाट काम गराउँदा बेजुरु आउने’ भन्दै सम्झौता गर्न आनाकानी गरियो ।
यो योजनाको मात्र नभई वडा १ काँकरकोट खानेपानी योजनाका लागि संघीय सरकारमार्फत् नै विशेष अनुदानअन्तर्गत विनियोजित ५० लाख र प्रदेश सरकारबाट जिमा विद्युत निर्माणका लागि २५ लाखको सम्झौता गर्नसमेत नमानेको उपभोक्ता समिति पदाधिकारी बताउँछन् । ‘सम्झौता गर्न नमाने’पछि तीन योजनाको सम्झौता गर्न चैनपुर पुगेका उपभोक्ता समिति अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा अन्य उपभोक्तासमेत मिलेर बुधबार सम्पर्क कार्यालयमा तालासमेत लगाइयो ।
विगतका दिन विशेष अनुदानका रकमको काम उपभोक्ता समितिमार्फत् गर्दै आएको तर अहिले जनप्रतिनिधि परिवर्तन हुनेबित्तिकै ‘सम्झौता गर्न नमानेको’ समितिको आरोप छ । ‘सुरुमा समिति गठन गर पनि भन्ने अनि गठन गरेर ३–४ दिनको पैदल यात्रा गरेर चैनपुर पुगेपछि हुँदैन भन्ने ?’ समिति पदाधिकारी भन्छन्, ‘यसबाट सामान्य उपभोक्तालाई दुःख दिने नियत देखिएको छ ।’ काँकरकोट खानेपानी योजना उपभोक्ता समिति कोषाध्यक्ष बनेकी वडा २ की भाना बोहरा ‘आफूजस्ता केही नजान्नेहरूलाई राजनीतिको नाममा अनावश्यक दुःख दिने गरेको’ गुनासो गर्छिन् ।
‘गाउँलेले उपभोक्ता समितिमा बस भन्यो, बसें । अब योजनाको सम्झौता गर्न र खाता खोल्नका लागि चैनपुर जान प¥यो भन्दै समिति अध्यक्ष, सचिव म चैनपुर पुग्यौं, यहाँ पुगेको १० दिन भयो तर अहिलेसम्म सम्झौता हुन सकेको छैन,’ एक वर्षको छोरा साथै लिएर आइपुगेकी बोहराले भनिन्, ‘कार्यालयमा जाँदा हुँदैन भन्छन् । के कारण हो थाहा छैन । यसै विषयलाई लिएर झन्झन् ठुलो रूप लिइरहेको छ । गाउँकै जान्ने बुझ्नेका कारण विभिन्न बहानामा दुःख पाइरहेका छौं ।’
त्यसो त, सकीनसकी हिँडेर सदरमुकाम चैनपुर यही कामका लागि पुगेकी जिमा विद्युत् नहर निर्माण उपभोक्ता समिति कोषाध्यक्ष ६१ वर्षीया जोग्यानी कामी पनि ‘घरको सम्पूर्ण काम रोकेर तीन दिनभित्र घर फर्किने भन्दै चैनपुर पुगेको तर हप्ता दिन बढी बित्दा पनि काम नभएको’ बताउँछिन् ।
‘सकी नसकी सम्झौताका लागि र खाता खोल्न चैनपुर पुग्यौं, हाँ कसैले हु“दैन भन्छन्, कसैले भइहाल्छ भन्छन्,’ उनी भन्छिन्, ‘हुने के हो थाहा छैन । होटलमा बस्नुपर्ने अनावश्यक खर्च मात्रै भएको छ । काम गरेर खाने हामीहरू घरको काम पनि लथालिंग छ ।
यो सबै राजनीतिकै कारण भएको हो ।’ यता, निर्वाचित जनप्रतिनिधि वडा १ अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामी एकलौटी तरीकाले उपभोत्ता समिति गठन गरिएको दाबी गर्छन् । अन्य उपभोक्ताले विरोध गरेकै कारण आफूहरू रोकेको उनी बताउँछन् । वडा २ र ४ मा गत स्थानीय तहमा निर्वाचनमा नेपाली कांग्रेस समर्थक जनप्रतिनिधिले जितेका छन् ।
गाउँपालिका अध्यक्ष उपाध्यक्ष १,३ र ५ नेकपा एमाले समर्थक जनप्रतिनिधिले जिते । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशी बिहीबार सामान्य सहमति भएर ताला खोलिसकेको र विवाद सम्बन्धित वडा अध्यक्षले नै मिलाउने सहमति भएको बताउँछन् ।






