ज्ञान व्यवस्थापनको अध्ययन

विषय प्रवेश : जटिल, परिवर्तनशील, अन्तरजेलित, अन्तरनिर्भर र सुसूचीत समाजमा ज्ञानको महत्व बढेर गएको छ । देश र नागरिकको सेवा गर्ने उद्देश्यले स्थापित सार्वजनिक सेवा नागरिक र समुदायका आवश्यकता सहज र सरलढंगले परिपूर्ति गर्न सक्षम, सदाचारी र उत्तरदायी हुनुपर्दछ । सार्वजनिक सेवालाई गुणस्तरीय एवं सामयिक बनाउन ज्ञानको आवश्यकता पर्दछ । आधुनिक समाजमा ज्ञान एउटा आर्थिक, राजनीतिक समाजिक एवं प्राविधिक परिवर्तनको पुँजी हो । ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । विद्या बुद्धि हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । वास्तवमा ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । मूलतः ज्ञान व्यक्तिगत हो र प्रायशः ज्ञान छुन र देख्न नसकिने हुन्छ ।

वर्तमान समाजमा ज्ञान प्रसस्त छ तर यसको उपयोग भने कठिन बन्दै गएको छ । सार्वजनिक संगठनहरू व्यक्तिमा रहेको ज्ञान उपयोग गर्ने कारखाना हुन् । संगठनात्मक ज्ञान डाटावेस, प्रतिवेदनमा डकुमेन्टेड हुन्छ र संगठनको मूल्यमान्यता, नम्र्स, प्रक्रिया र अभ्यासमा पनि रहेको हुन्छ । संगठनले आप्mनो लक्ष्य प्राप्त गर्न ज्ञान प्राप्ति गर्ने, रचना गर्ने, उपयोग गर्ने, संरक्षण गर्ने, जोगाएर राख्ने गर्दछ । यद्यपि, कतिपय अवस्थामा संगठनको मूल्यवान ज्ञान अपर्याप्त हुने वा नष्ट भएर, हराएर वा नासिएर जाने गर्दछ ।

संगठनले आफ्नो लक्ष्य प्राप्त गर्न ज्ञान प्राप्ति गर्ने, रचना गर्ने, उपयोग गर्ने, संरक्षण गर्ने, जोगाएर राख्ने गर्दछ

ज्ञानको किसिम अर्थात ट्याक्सोनोमी :

ज्ञानको कुरा गर्नासाथ यस्ले व्यक्तिलाई जनाउने गर्दछ । ज्ञान व्यक्तिमा रहेको गुण हो । व्यक्तिमा खासगरी सुव्यक्त (एक्सप्लिसिट नलेज) ज्ञान र अन्तरनिहीत (इम्प्लिसिट नलेज) ज्ञान हुन्छ । सुव्यक्त ज्ञान डकुमेन्टेड सूचना हो । यो औपचारिक रूपमा लेखिएको वा कोडेड हुन्छ । नीति योजना किताब, प्रतिवेदन, डकुमेन्ट, डाटाबैंक, ब्हाइट, ग्रिन, विल्यु पेपर, पत्रपत्रिका, पुस्तकालय वा किताबमा रहेको हुन्छ । अन्तरनिहीत (गर्भित टयासिट) ज्ञान व्यक्तिमा हुन्छ, तर स्पष्ट देखिँदैन । यस्तो ज्ञान व्यक्तिको दिमागमा रहेको हुन्छ । व्यक्तिको मस्तिष्कमा, सम्झनामा तथा संस्कृतिमा रहेको हुन्छ । अनौपचारिक र नलेखिएको हुन्छ ।

खासगरी सुव्यक्त ज्ञानलाई संगठित, एकत्रित, डकुमेन्टेड गर्न र वितरण गर्न सकिन्छ । पुर्नउत्पादन गर्न सकिन्छ । सुव्यक्त ज्ञान स्थानान्तरण गर्न तथा ज्ञान’bout पढाउन र तालिम दिन पनि सकिन्छ । विद्यालयमा पढाइने र प्रशिक्षण केन्द्रहरूबाट दिइने तालिम यसका उदाहरणहरू हुन् । सुव्यक्त ज्ञानलाई संगठनको भिजन, मिसन, उद्देश्यमा रूपान्तरण गर्न सकिन्छ भने संगठनका सबै कर्मचारीको पहुँचमा हुने भएकाले सुव्यक्त ज्ञानलाई संगठनको काममा प्रयोग गर्न सकिन्छ ।

अन्तरनिहीत ज्ञान व्यक्तिमा लुकेर बसेको हुन्छ र आवश्यकतानुसार प्रकट हुन्छ । व्यक्तिमा रहेको विशेषज्ञता, कुन काम कसरी गर्ने, किन गर्ने भन्ने जानकारी नयाँ परिस्थिति र अनपेक्षित अवस्थामा अन्तरनिहीत ज्ञानको अभ्यास गर्न सकिन्छ । अन्तरनिहीत ज्ञान संगठनको भिजन मिसन बनाउने क्रममा ब्रेनस्ट्रमिङको क्रममा प्रकट हुन्छ । अर्थात्, कर्मचारी सबै सँगसँगै बसेर कोचिङ, मेन्टोरिङको माध्यमबाट व्यक्तिमा अन्तरनिहीत ज्ञान तथा अनुभवलाई कार्यक्रममा रूपान्तरण गर्न सकिन्छ ।

संगठन र संगठनमा काम गर्ने कर्मचारीले ज्ञानको निरन्तर गर्ने प्रयोग र अभ्यासले प्रशोधित हुँदै र माझिँदै जान्छ । संगठनात्मक क्रियाले ज्ञान संगठनको डाटाबैंकमा भण्डारण हुँदै जान्छ र त्यस्तो ज्ञान डकुमेन्ट, म्यानुअल, प्रस्तुति र प्रतिवेदनका रूपमा प्राप्त हुन्छ । यसरी संगठनको बैंकमा रहेको ज्ञान व्यवस्थापन सूचना प्रणाली, बैठक, तालिम कक्षा, टिमको कार्याभ्यास तथा इन्टरनेटको माध्यमबाट संगठनमा घुमिरहेको हुन्छ । व्यक्तिले संगठनमा काम गर्दाका बखत आर्जन गरेको ज्ञान र अनुभवलाई परिस्कृत गर्दै जान्छ । ज्ञान सिद्धान्तः प्रयोग गर्दा बढ्ने, ननासिने हुन्छ भने प्रयोग नगर्दा व्यक्तिको दिमागमा नै बन्द भएर बस्न पनि सक्छ । त्यस्तो ज्ञान व्यक्तिले संगठन छोडेमा वा संगठनले हटाएमा वा अवकास भएमा व्यक्तिसँगै जान्छ । यसलाई ज्ञानको नोक्सानी भन्ने गरिन्छ । यसकारण ज्ञान व्यवस्थापनमा ज्ञान चिन्ने कसरी र त्यसको संगठनमा वितरण गर्ने कसरी र ज्ञानको नोक्सानी रोक्ने कसरी एउटा जटिल चुनौती बनेर बसेको पाइन्छ ।

ज्ञान व्यवस्थापन के हो ? : आजको सूचना र ज्ञानको युगमा भौतिक साधन, वित्तीय साधनभन्दा ज्ञान प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने महत्वपूर्ण स्रोत बनेको छ । ज्ञान व्यवस्थापनमा संगठनले आप्mना कर्मचारीलाई कार्यसम्पादन गर्दा बढीभन्दा बढी नयाँ ज्ञान सिर्जना गर्न र त्यसको प्रयोग गरेर काम गर्न उत्प्रेरित गरेको हुन्छ । ज्ञान सिर्जना गर्ने, प्राप्त गर्ने, भण्डारण गर्ने, सेयर गर्ने र प्रयोग गर्ने प्रक्रिया ज्ञान व्यवस्थापन हो । संगठनात्मक सिकाइका माध्यमबाट संगठनमा विशेष ज्ञान र सीपको विकास हुन्छ । ज्ञान व्यवस्थापनले ज्ञानको भण्डारण र ज्ञानको बहाव (फोल्ओ अफ नलेज) को व्यवस्थापन गर्दछ । ज्ञानको भण्डारनसँग कम्प्युटरमा रहेको विशेषज्ञता र संकेत गरिएको ज्ञान सम्बन्धित हुन्छ भने ज्ञानको बहाव व्यक्तिबाट व्यक्तिमा स्थानान्तरण हुँदै गएको ज्ञानसँग सम्बन्धित हुन्छ । पहिले पहिले किताब थिएनन । बोजे बराजुबाट बाबुमा, बाबुबाट छोराछोरी र नातीनातिना हुँदै ज्ञान संरक्षित र स्थानान्तरण भएको हामीसँग अनुभव छ । बास्तवमा ज्ञान व्यवस्थापन भनेको सिकाईको लागि उपयोगी सूचनाको पहिचान, वितरण र उपयोग हो ।

सूचना सञ्चार प्रविधिको विकासले व्यक्ति, परिवार र समाजको दृष्टिकोण, ज्ञान र सोचमा आमूल परिवर्तन ल्यायो


ज्ञान व्यवस्थापन संगठनात्मक सम्झना र संगठनात्मक सिकाइको योग हो । अर्थात् ज्ञान व्यवस्थापन भनेको डकुमेन्ट र सूचना प्रणालीको व्यवस्थापन हो । यसले व्यक्तिलाई सूचनालाई नेटवर्क सञ्जालमा जोडेर ज्ञान सेयर गर्न र अभिलेखीकरण भएको सूचनाबाट सिक्न प्रेरित गर्दछ । ज्ञान व्यवस्थापनले संगठनको सामूहिक अनुभवलाई पक्रेर जतिबेला प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सकिन्छ उतिबेला वितरण गर्ने गर्दछ । ज्ञान व्यवस्थापनका सन्र्दभमा तीन चरणहरू आउने गर्दछन् । पहिलो चरण ज्ञानमाथिको पहुँच हो । ज्ञानमाथिको पहुँच सुनिश्चित भएपछि ज्ञानलाई परिस्थितिअनुकूल बनाउनु दोस्रो चरण हो । ज्ञानको अद्यावधिक गर्नु तेस्रो चरण हो । ज्ञानलाई अद्यावधिक गर्न फिडब्याक अनुपोषणको महत्वपूर्ण भूमिका रहन्छ ।

ज्ञान व्यवस्थान एक चक्रिय प्रक्रिया हो । पहिले, संगठनले ज्ञान व्यवस्थापनका लागि ज्ञान पक्रने वा सिर्जना गर्ने गर्दछ । ज्ञान प्राप्त गर्न संगठनले संगठनमा ज्ञानयुक्त कामदार भित्र्याउने, अन्वेषण र बे्रनस्टर्मिङलाई प्रवद्र्धन गर्ने गर्दछ । दोस्रोमा संगठनले प्राप्त ज्ञानको सेयर गरेर संगठनमा नवीन ज्ञानको सिंचन गर्दछ । आपसमा ज्ञान वितरण गर्ने संस्कृतिले ज्ञानबाट अपेक्षित लाभ लिने प्रयास गर्दछ । तेस्रोमा ज्ञानको संगठित उपयोग हो । ज्ञानको उपयोगले मात्र संगठन अन्य प्रतिस्पर्धी संगठनको तुलनामा अब्बल हुने हुँदा ज्ञानको गहन उपब्धिमूलक उपयोगमा जोड दिने गर्दछ ।

ज्ञान व्यवस्थापनको विकास, महत्व र उद्देश्य : संगठनको सम्पर्क, सम्बन्ध र कार्यक्षेत्र विश्वव्यापीकरण बनेको, बहुसंस्कृति, बहुभाषा, बहुसम्बन्धमा काम गर्नुपर्ने भएको, समाज सुसूचित बनेको, प्रविधिको परिवर्तन र उन्नयन अकल्पनीय रहेको, संगठनको स्मृति लोप हुने (कर्पोरेट एमेन्सिया) प्रवृत्ति उच्च भएको र ज्ञानयुक्त कामदारको व्यवस्थापन गर्न संगठन निरन्तर सिकाइमा समर्पित हुन अनिवार्य बनेको कारण ज्ञान व्यवस्थापनको महत्व अक्कासिएको छ । ज्ञान व्यवस्थापनको विवेचना गर्दै गर्दा हामीले प्रशासन र व्यवस्थापनको विकासक्रमलाई सम्झनु राम्रो हुन्छ । आज हामी भौतिक स्रोत साधनबाट भन्दा ज्ञानबाट बढी उत्पादक सेवा दिन सक्ने अवस्थामा पुगेका छांै । पहिले औद्योगिक युग थियो । मानिस, मेसिन, विधि र साधनमा जोड दिइन्थ्यो । उद्योग व्यवसयहरू श्रमप्रधान थिए । श्रम सस्तो पनि थियो । कामदारहरूमा विविधता पनि थिएन । प्रशासन र व्यवस्थापन पदसोपान र कमान्ड एन्ड कन्ट्रोलको सिद्धान्तमा सञ्चालित थियो र संगठनहरू परिणामभन्दा प्रक्रिया पु-याउन अभ्यस्त थिए ।

अब जमाना बदलियो । ज्ञानमा आधारित संगठनहरू विकास भए । सूचना सञ्चार प्रविधिको विकास र अभ्यासले सूचनाहरू संगठनको डाटावेसमा एकत्रित हुन पुगे । सेवाहरू डिजिटाइज्ड हुँदै गए । संगठनमा ज्ञानयुक्त कामदारहरू भित्रिए । थोरैले धेरै बुद्धि पु¥याएर काम गर्न थाले । संगठनमा पदसोपानभन्दा टिमवर्क र सहभागितामूलक व्यवस्थापन हावी हुँदै गयो । कार्यसम्पादनका नवीन विधिहरू खोजी गर्ने र सूचना सेयर गर्ने संकृतिले महत्व पाउँदै गयो । आजको ज्ञान युगमा हरेक संगठन प्राप्त सूचना, ज्ञान र काम गर्न जानेको तरिका (नो हाउ)मा आधारित भएर अझ सिक्ने, सम्झने र काम गर्ने गर्दछ । सबै संगठनले संगठनलाई ज्ञानमा आधारित बनाउन र सूचना सेयर गर्न विविध उपायको खोजी गरी अबलम्वन गर्ने गरेका छन् ।

संगठनात्मक ज्ञान संगठनको सम्पत्ति हो । संगठनात्मक ज्ञानले व्यक्तिको ज्ञानलाई विस्थापित गर्दैन, बरू व्यक्तिगत ज्ञानलाई सशक्त, तर्कपूर्ण, सुसंगत (कोहरेन्ट) बनाउँदै संरक्षण, प्रवद्र्धन र उपयोग गर्ने गर्दछ । ज्ञान व्यवस्थापनले संगठनको सक्षमता र प्रभावकारिता बढाउन संगठनात्मक ज्ञानसँगसँगै व्यक्तिको सम्भावित (पोटेन्सियल) ज्ञान, सीप, क्षमता, विचार, अन्वेषणलाई पूर्णरूपमा उपयोग गर्ने रणनीति बुन्ने गर्दछ । संगठनको काम छिटोछरितो गर्न, राम्रा अभ्यासहरू दोहो-याउन, खर्च कम गर्न, ज्ञानार्जन, विकास, संरक्षण र प्रयोग गर्न ज्ञान व्यवस्थापन केन्द्रित हुने गर्दछ । ज्ञान व्यवस्थापनलाई ‘प्याक -याट’ एप्रोचका रूपमा लिइन्छ, र भनिन्छ ‘सेभ इट’ यो भविष्यमा उपयोगी हुन्छ । ज्ञान व्यवस्थापन संगठनको लक्ष्य हासिल गर्न कर्मचारी, प्रविधि, प्रक्रिया, तथा संगठनात्मक संरचनाको प्रयोग र अन्वेषणको उद्देश्यमूलक समन्वय हो जसले संगठनको क्षमतामा सारभूत मूल्य अभिवृद्धि गर्दछ ।

ज्ञान व्यवस्थापनबाट व्यक्ति, समुदाय÷टिम र संगठन लाभदायी हुन्छन् । कर्मचारी थोरै समयमा धेरै काम राम्रोसँग गर्न, गहन निर्णय लिन र समस्या समाधान गर्न सक्षम हुन्छन् । ज्ञान व्यवस्थापनबाट पेसागत सीप विकास, नेटवर्कको अभ्यास, साथी साथीबीचको सहकार्यले टिममा काम गर्ने संस्कृतिले टिम अर्थात् समुदाय लाभान्वित हुन्छ । संगठनका कर्मचारी र समुदाय ज्ञानी भएपछि संगठन नयाँ नयाँ सेवा (प्रडक्ट) विकास गर्न, प्रतिस्पर्धामा खरो उत्रन तथा समस्या समाधान गर्न काविल हुन्छ ।

ज्ञान व्यवस्थापन सदैव उद्देश्यमूलक हुन्छ । संगठनात्मक ज्ञानबाट फाइदा लिनका लागि ज्ञानको समुचित उपयोग गर्नु प्रमुख उद्देश्य हो । संगठनबाट अवकाश हुने, वा छोड्ने कर्मचारीको ज्ञान उनीहरूको स्थानमा काम गर्न आउने कर्मचारीमा सार्ने व्यवस्थालाई सहजीकरण गर्नु, संगठनबाट कर्मचारी अवकाश हुँदा वा छोडेर जाँदा संगठनात्मक सम्झना वा सूचना नासिएर जानबाट रोक्नु, संगठनको सफलताका लागि ज्ञानको महत्वपूर्ण स्रोत र महत्वपूर्ण कार्य क्षेत्र पहिचान गरी ज्ञान उपयोग गर्नु तथा संगठनको बौद्धिक पुँजीको महत्तम उपयोग गर्न ज्ञान उपयोग गर्ने विधि भएको टुलकिट बनाउनु ज्ञान व्यवस्थापनको मुख्य उद्देश्य हो ।

ज्ञान व्यवस्थापन अध्ययनको सान्दर्भिकता : ज्ञान व्यवस्थापनका पिता भनेर चिनिने व्यवस्थापनका धुरन्धर लेखक पिटर ड्रुकरले सन् १९६० तिर नै अब समाजबाट ज्ञानयुक्त कामदारको आपूर्ति हुन्छ र संगठन ती कामदारको व्यवस्थापन गर्न सक्षम हुनुपर्छ भनेका थिए । ड्रुकरले लेखे पनि ज्ञान व्यवस्थापनको आवश्यकता २१आंै शताब्दीमा आएर मात्र अनुभूत भएको पाइन्छ । सन् २००० पछि संगठनको प्रभावकारीता र अन्य संगठनभन्दा खरो र सफल बन्न ज्ञान एउटा स्रोत बनेर गएको छ ।

यसर्थ, ज्ञान व्यवस्थापन संगठनको महत्वपूर्ण रणनीतिका रूपमा प्रयोग हुँदै गएको पाइन्छ । ज्ञान व्यवस्थापन अध्ययनको सान्र्दभिकता प्रस्ट गर्न तीन परिस्थितिलाई मनन गर्नुपर्ने हुन्छ । पहिलो, विजनेस प्रोसेस रिइन्जिनियरिङको अभ्यासले कार्यसम्पादन प्रणाली परिवर्तन भयो र कर्मचारी घटाउने पनि काम भयो । तर कर्मचारी घटाउने नीतिले संगठनको एउटा पक्षमा स्पष्ट रिक्तता देखियो । त्यो थियो ज्ञान । यसरी भएको ज्ञानको नोक्सानी परिपूर्ति गर्न र ज्ञान प्राप्त गरी अधिकतम उपयोग गर्न संगठनलाई कठिन बनेर गयो ।

दोस्रो, सूचना सञ्चार प्रविधिको विकासले व्यक्ति, परिवार र समाजको दृष्टिकोण, ज्ञान र सोचमा आमूल परिवर्तन ल्यायो । सूचना संग्रह, प्रशोधन, नेटवर्क र प्रयोगको सुविधाले व्यक्ति र संगठनलाई अन्तरआबद्ध गर्दै लग्यो । कर्मचारीसँग नै संगठन रहने अवस्था आयो । संगठनको सूचना सञ्चार पूर्वाधार अपर्याप्त हुन गई परिवर्तनको खोजी भयो । कम्प्युटरको प्रयोगले ज्ञान सिर्जना गर्ने, संग्रह गर्ने, विकास गर्ने र प्रयोग गर्ने काइदालाई फाइदा पु¥यायो । संगठनले उच्च मूल्य भएका कर्मचारीलाई जोगाएर राख्नुपर्ने अनुभूति बढेर गयो ।
तेस्रो, कम्प्युटरको प्रयोग र सूचनाको डिजिटाइज्डले डाटावेस, डेटावायर हाउस, कर्पोरेट इन्ट्रानेट र इन्टरनेटको तीव्र विकासले ज्ञान सामग्री (नलेज कन्टेन्ट) सूचना र ज्ञान प्राप्त हुने र निर्णयकर्ताले सहजतासाथ निर्णय लिन सक्ने अवस्था बन्यो । जटिल, अनिश्चित र परिवर्तशील कार्य वातावरणमा संगठनात्मक जोखिम रहँदारहँदै पनि संगठनहरू सफलता चुम्न सफल भए । संगठनका लागि ज्ञान व्यवस्थापन अपरिहार्य रणनीतिका रूपमा सिद्ध भयो ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बृहस्पतिमा ९२ वटा चन्द्रमा पत्ता लाग्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
वडाको विकासका लागि उत्तमरत्नको उपाय यस्तो छ