संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकोप्टर उडान गरेपछि नियन्त्रणमा लिइएको छ । अनुमति बिना निषेधित क्षेत्रमा अल्टिच्युड एयरले उडान गरेपछि हेलिकोप्टर नियन्त्रण लिइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी बीरेन्द्र यादवले जानकारी दिए ।
प्रजिअ यादवका अनुसार गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी अल्टिच्युड एयरको ९ एन हेलिकोप्टर सिधैं निषेधित क्षेत्रमा गएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहान भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकोप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर जाँच पछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो ।
निषेधित क्षेत्रमा उडान भरेको मन्त्रालयलाई समेत जानकारी दिइसकिएको प्रजिअ यादवले बताए । हेलिकोप्टरले भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर ल्याएको भोटखोला गाउँपालिकाका अध्यक्ष वागंछेदर भोटेले बताए । प्रहरीले हेलिकोप्टर सहित पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको छ । प्रहरीले नियन्त्रणमा लिएको हेलिकोप्टरका पाइलट थापालाई दुई घण्टा पछि छाडेको छ ।