काठमाडौं । विश्वभर फैलँदै गएको कोरोना भाइरस नियन्त्रणका लागि श्री राधामाधव समिति नेपालले प्रचारप्रसार तथा जनचेतनामूलक सामग्रीसहित पशुपतिनाथ मन्दिर परिसरमा कार्यक्रम आयोजना गरेको छ । श्री राधामाधव समिति नेपाल, विद्वत समाज नेपाल तथा डिभाइन युथ क्लब नेपालद्वारा संयुक्त रूपमा कोरोना भाइरस (कोभिड–१९) को रोकथामका निम्ति पशुपतिनाथ परिसरमा प्रयोगात्मक र सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा लिई सतर्कता अपनाउन सबैलाई आह्वान गरेको र त्यसका निम्ति सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सन्दर्भमा श्री राधामाधव समिति नेपाल र यससँग सम्बद्ध विभिन्न संस्थाका स्वयंसेवीले विद्यालय, मठमन्दिर, सहरका विभन्न चोकजस्ता बढी भीडभाड हुने स्थानमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाल सरकारको निर्देशनानुसार कोरोनाविरुद्ध सचेतनामूलक कार्यक्रमलाई अब अनलाइन श्रव्यदृश्य माध्यमबाट पनि सञ्चालन गर्ने बताइएको छ । अलिअलि डराउनुहोस् डरले दुर्घटनाबाट जोगिन सजग बनाउँछ तर आतंकित हुनुभयो भने त्यसले दुर्घटना निम्त्याउँछ । त्यसैले आवश्यकताभन्दा बढी डराउनु आतंकित हुनुको साटो केही सावधानी अपनाएमा हाल फैलिरहेको कोरोना महामारीबाट (पेनेडामिक) जोगिन सकिने समितिले जनाएको छ । साबुनपानीले राम्रोसँग हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, पोषणयुक्त खानाखाने, पर्याप्त तातोपानी वा झोलपदार्थ (सात्विक) पिउने, शारीरिक व्यायाम गर्ने, अनुलोम विलोमलगायतका श्वाससम्बन्धी अभ्यास गर्ने, भिडभाडमा नजाने, जानै परे राम्ररी मास्क पहिरेर जाने र मानिससँग कम्तीमा १ मिटरको दूरी कायम गर्न पनि समितिले सबैमा आग्रह गरेको छ ।






