काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीका सबै नेतालाई एकतामा आउन अपील गरेका छन् ।
२८औं जनयुद्ध दिवसको अवसरमा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रक्रिया अघि बढेको बताउँदै एकतामा आउन आग्रह गरेका हुन् ।
‘विभिन्न धारका समूहलाई एकताबद्ध भएर सामाजिक न्यायमा अघि बढ्न अपील गर्न चाहन्छु’ प्रचण्डले भने । परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारका तर्फबाट जनयुद्ध दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिएको उनको भनाइ थियो ।
आफूले यसपटक सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले असफल हुने छुट नरहेको उल्लेख गरे । उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासका क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए ।
‘यसपटक सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरका रूपमा लिएको छु, यस्तो बेला यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताका साथ अघि बढ्नुको कुनै विकल्प छैन,’ उनले भने, ‘मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारका तर्फबाट हिजो मन्त्रिपरिषद्बाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन नेपाल राष्ट्रकै सम्पत्ति भयो ।’
सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकताबद्ध भएर सामाजिक न्याय र रूपान्तरणका निम्ति अघि बढ्नुपर्ने उनको जोड छ । कम्युनिस्ट र समाजवादी आन्दोलनका शक्तिसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको उनले बताए । छिट्टै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास उनले व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको जनाएका छन् । जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उनले माओवादीले नेतृत्व गरेको भए तापनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रूपमा रहेको उल्लेख गरेका छन् ।
‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाका स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपांग योद्धामा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाउँदै उनले साहस, वीरता र उत्सर्गको त्यस ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको बताएका छन् ।
‘वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खाल भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
नेपाल सरकारले १ फागुनमा जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाउँदै उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवमय दिनका रूपमा मनाउन अपील गरे ।
देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार उल्लेखित कार्यभारसहित जनताको व्यवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ संकल्पित रहेको बताएका छन् ।






