नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको अवस्थामा स्वास्थ्यकर्मी देशव्यापी रूपमा कोरोना परीक्षण र उपचारमा खटिएका छन् । संकटको घडीमा भइरहेको यो चिकित्सकीय कर्म र दायित्व निकै प्रशंसनीय छ । उनीहरू कोरोनाको विश्वव्यापी संक्रमणको जोखिमलाई नेपाली भूगोलमा परास्त गर्न एक युद्ध मैदानमा सरिक भएका छन् । थाहा नपाएरै कोरोनाको संक्रमणमा परिन्छ, तर चिकित्सक भने थाहा पाएर र जानीजानी कोरोना संक्रमितको उपचारमा जुट्नुपर्छ । यसका लागि उनीहरू आत्मबल उच्च बनाएर कोरोनाविरुद्धको लडाइँ लड्न तम्तयार रहनुपर्छ । यो भनेको चानचुने कुरा होइन । आत्मसंघर्षका हिसाबले उनीहरूले कोरोनारूपी काललाई मन, विचार र संकल्पले जितेको हुनुपर्छ । यससँग लड्न, बच्न र जित्न ‘फाइट द कोरोना, लाइक द कोरोना’ को स्वास्थ्य युद्धकला सिकेको पनि हुनुपर्छ । कोरोना भाइरस हालसम्मका भाइरसभन्दा निकै परिमार्जित, विकसित र नयाँ संस्करणका रूपमा देखापरेकाले यसविरुद्ध लड्ने औषधिरूपी आधुनिक हतियार अझै तयार भएको छैन । कोरोनाको संक्रमणको रोकथाम र न्यूनीकरणको लडाइँ लड्दा स्वास्थ्यकर्मीलाई यसले निकै जोखिमपूर्ण लडाइँको निम्तो दिएको छ । तथापि, हालसम्म विश्वका स्वास्थ्यकर्मीले आफ्नो कर्तव्य र भूमिकामा कुनै पनि कमी आउन दिएका छैनन्, यो भनेको नेपाली स्वास्थ्यकर्मीका लागि बाह्य प्रेरणा हो ।
यो लडाइँ लड्न सेनापति वा संरक्षकको भूमिका निर्वाह गरिरहेको सरकार स्वास्थ्यकर्मीका लागि आवश्यक उच्च मनोबल तथा सुरक्षाको बन्दोबस्त कसरी गरिरहेको छ ? यसले ठूलो भूमिका निर्वाह गर्छ । यसका लागि स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)को व्यवस्था, जीवन बिमा, आवश्यक र पर्याप्त खर्च, सेवासुविधा, तोकिएका ठाउँमा अस्पताल र आइसोलेसन वार्डको व्यवस्था, आवश्यक सामग्री तथा औषधिको पर्याप्तता, टिम विभाजन र हरेक स्वास्थ्यकर्मीका लागि पनि बचाउका तरिका र साधनस्रोतको व्यवस्था आदिलाई प्राथमिकतामा राखिनु जरुरी छ । तर, सरकारले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरेर यी सबै तयारी प्रभावकारी रूपमा गर्न सकिरहेको देखिँदैन । स्वास्थ्यकर्मीका लागि अस्पतालमा अहिले सामान्य र नियमित रूपमा हुनुपर्ने अति जरुरी सर्जिकल मास्क तथा पीपीईको अभाव उत्तिकै रहेको गुनासो स्वास्थ्य जगत्मा व्याप्त छ । कोरोना परीक्षणका लागि आवश्यक आधुनिक उपकरण तथा यन्त्र पनि छैनन् । एम्बुलेन्स तथा तिनका चालकका लागि स्वास्थ्य सामग्री उपलब्ध नै गराइएको छैन । भनिन्छ, स्वास्थ्यकर्मीको परिभाषाभित्र पर्ने मानव संशाधन तथा स्वास्थ्य सामग्रीको परिभाषाभित्र आवश्यक कुराको तथ्यांक संकलन र सम्भावित विनियोजनको लेखाजोखा गरिन पनि बाँकी छ ।
कोरोना भाइरस संक्रमणबाट नेपाल चोखो रहन्छ भन्ने परिकल्पना दिवास्वप्न हो । बरु यथार्थ के हो भने कोरोना संक्रमणबाट बचाउन र संक्रमितलाई उपचार गरी निको पार्न के के तयारी गर्नुपर्छ भन्ने कुराको लेखाजोखा र तयारी अहिलेको प्राथमिक एजेन्डा हो । सम्भावित संक्रमणका हिसाबले कुन कुन मोस्ट डेन्जर, कुन कुन लेस डेन्जर र कुन कुन लिस्ट डेन्जर जोनमा पर्छन्, सोको अनुमानित तयारी हुनु जरुरी छ । यसले मात्र कति स्वास्थ्यकर्मीलाई कुन कुन स्थानमा के कति उपकरण र सुविधा तथा सुरक्षासहित उतार्न सकिन्छ, सोको सम्भाव्य पूर्वानुमानलाई परिआएको खण्डमा कार्यान्वयन गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेछ । जोखिम मोल्न तयार स्वास्थ्यकर्मीका लागि उच्च मनोबल पैदा गर्न, सेवा सुविधा प्रदान गर्न र सुरक्षाका उपाय अवलम्बन गर्न सरकारले सबैको मन जितेर विश्वासका साथ अगुवाइ गर्नुपर्छ । नत्र सरकारको ढिलाइ, अटेरी र रामभरोसे सोच अक्षम्य हुनेछ ।






