यसरी हामीले देश बिगार्यौ

स्वीकार गरौं, देशले प्रगति गर्न नसक्नुमा हामी सबैंको थोरै धेरै दोष छ । देश हामीले बिगार्याैंं । आवेगले बिगार्याैं । विवेक गुमाएर बिगार्याैं । देशमा अनावश्यक राजनीतिक दललाई संसदमा पठाएर बिगार्यांै । भ्रष्टलाई भोट दिएर बिगार्याैंं । सत्यको पक्षमा होइन, नेताको पछि लागेर बिगार्यौं । कर्तव्यबाट भागेर बिगार्यौंं । राजनीतिक परिवर्तनका लागि एक जुट भयांै । तत्पश्चात् राजनीतिक दलका नाममा गुट भएर बिगार्यांै । नागरिकहरू विभाजित भएर बिगार्यौंं । आप्mना दलका नेताले जे भने पनि ताली दिएर बिगार्यौं । विपक्षीलाई ठीक काम गर्दा पनि गाली दिएर बिगार्यौं । नेपाली नागरिक हुनुभन्दा पहिले दलका मान्छे भएर बिगार्यौं । कसैले घुस दिएर बिगार्यौं । कसैले घुस लिएर बिगार्यौं । यसरी हामीले देश बिगार्यांै ।

देश अहिले एक क्षेत्रमा मात्र बिग्रिएको छैन । जताततै समस्याका चाङहरू छन् । शिक्षा क्षेत्र लथालिंग छ । शिक्षा क्षेत्रमा राजनीतीकरण गरेर बिगार्यौंं । शिक्षालाई शिक्षक प्राध्यापकले गुणस्तरीय अध्यापन नगरेर बिगार्यौंं । राज्यका संयन्त्रले नियमन, निर्देशन र नियन्त्रण नगरेर बिगार्यौं । यसैगरी, हाम्रो देशको स्वास्थ्य सेवा सहरी क्षेत्रमा केन्द्रित छ । सर्वसाधारणको पहुँचमा छैन । स्वास्थ्यलाई सेवा होइन, व्यवसाय बनाएर बिगार्यौं । डाक्टर तथा स्वास्थ्यकर्मी गाउँमा गएर सेवा नगरेर बिगार्यौं । बनाउनेभन्दा बिगार्ने धेरै भएर बिगार्यौं । गर्नेका खुट्टा तानेर बिगार्यौंं । नगर्नेलाई पूmलमाला पहिराएर बिगार्यांै । स्वार्थमा लागेर बिगार्यौंं । कमिसन खाएर बिगार्यौं । विचौलिया भएर बिगार्यौं । जसले जसरी बिगारे पनि समग्रमा हामीले देशलाई बिगार्यौंं ।

सत्ताको ग्यालेरीमा विवेकको खडेरी देखिएको तीन सदक बितिसक्यो । यिनै दल, उही पात्र, उही प्रवृत्तिलाई बारम्बार देशको सम्पत्तिमा मालिक बनाएर बिगार्यौं । दल र नेता छान्न नजानेर बिगार्यौं । तर, अझै पनि यो गल्ती स्वीकार गर्न हामी तयार छैनांै । यसरी हेर्दा आत्मकेन्द्रित भएर बिगार्यौं । नयाँ दलका नाममा जस्तालाई पनि मतदान गरेर बिगार्यांै । ढंग न ढाल खानका काललाई देशको डाडुपन्यू सुम्पिएर बिगार्यौं ।

समाजमा अत्यन्तै विसंगति बढिरहेको छ । विवेकबिनाको आवेगले राजनीतिक दलका वा व्यक्ति विशेषका पक्ष र विपक्षमा आलोचना गर्ने काम अस्वाभाविक तबरले बढिरेहेको छ । दलहरू सरकार टिकाउने नाममा जे पनि गर्न तयार छन्, गरिरहेका छन् । जस्ता गुरु त्यस्तै चेला भनेझंै कार्यकर्ता उग्र छन् । राजनीति बदला र पालोको पैंचोको व्यबहारमा चलेको छ । स्वार्थले निर्देशन गरेको छ । सिद्धान्त, निष्ठा र नैतिकता हराएको छ । अवसरवादीहरूको बिगबिगी छ ।

उल्लेखित व्यवहार विवेक होइन, आवेग हो । हामीहरू कोही आवेगमा आएर देश बिगार्यौं । कसैले विवेक नभएर बिगार्यौं । त्यसैले नेपाली समाजको मनोविज्ञान बद्लिन जरूरी छ । चेतना फेरिन जरूरी छ । अब गुण र दोषका आधारमा अवधारणाको विकास गर्न ढिला नगरौं । कृपया योभन्दा बढी देशलाई नबिगारांै ।

मूर्खले जहिल्यै पनि अरूको खोट खोज्छ, देख्छ र निन्दा गर्छ तर विद्वान्ले आप्mनै खोट खोज्छ, भेट्छ र त्यसलार्ई ठीक पारेर अगाडि बढ्छ

हाम्रो देशमा राजनीतिक विसंगति र दुष्कर्मको परिणामस्वरूप दलहरू टुटने, फुट्ने र नयाँ दलहरू बन्नेव्रmम जारी छ । प्रजातन्त्रको पुनस्थापना पछाडि तत्कालिन राजनिति दलहरूले देशमा विकास र सुशासन दिन नसक्दा माओवादीको जन्म भयो । माओवादीले समाजमा भएका तमाम समस्याहरूलाई पर्गल्ने बाचाका साथ चलाएको दश बर्षे जनयुद्धले समाजमा झन समस्याहरू थपिए । आखिर माओवादीहरू संसदीय दलमा आउनु नै थियो भने २०५२ देखि २०६२ सम्मको जनयुद्धमा भएको धनजनको क्षति किन गरियो ?

नेपालीले नेपालीलाई हत्या गरेर देशमा भएका समस्याहरू के के समाधान भए ? भन्ने प्रश्नहरू उठ्ने गरेका छन् । माओवादी शान्ति प्रकृयामा आए पछिको नेपालको अवस्थालाई विश्लेषण गर्दा पनि देश र जनताले के पाए ? भन्ने व्यापक आलोचना छ । यसरी हेर्दा अरू दलहरू जस्तै माओवादी जनताका लागि हात्ती आयो हात्ती आयो फुस्सा भयो ।

त्यसो त माओवादी जनयुद्धका कारण राजनीतिक परिवर्तन भएको हो । माओवादीको राजनीतिक मुद्दालाई नेपाली कांग्रेस, एमालेलगायत साना दलले समर्थन गरेकाले देशमा राजतन्त्र गयो । गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसीता आयो । तर आज यी परिवर्तनहरूले देशलाइ बनायो की झन दलदलमा धकेल्यो ? साँच्चै नै देश विकास गर्नको लागि माथि उल्लेखित राजनीतिक परिवर्तन आवस्यक नै थियो त ? जानकारहरू भन्छन्, थिएन । उल्लेखित परिवर्तनहरू पनि विवेक सम्मत थिएनन् । देश बनाउनको लागि थिएनन् । गणतन्त्र आउनु भन्दा कार्यकारी अधिकार दलहरूमा निहित थियो । दलहरू स्वतन्त्र थिए ।

जापानमा पनि त राजा छन् । वेलायतमा पनि राजतन्त्र छँदै छ । ती मुलुकहरूमा विकास त भएकै छ त । त्यहाँ सुशासन नमूनाको रूपमा छ । खाने मुखलाई जुगाले छेक्दैन भनेजस्तै देश बनाउने इच्छाशक्ति, दृष्टिकोण र ढङ्ग भएको भए व्यबस्था बाधक थिएन । वास्तवमा विकासको वाधक त अहिलेको राजनीतिक व्यबस्था र दलहरूको दृष्टिकोण हो ।

यहाँ पङ्तििकारको मनसाय राजतन्त्र वकालत गर्ने होइन । खाली संवैधानिक राजतन्त्र विकासको लागि कति बाधक थियो ? वा थिएन भन्ने प्रसङ्ग मात्र उठान गरिएको हो । यसै गरी दलहरूले धर्म निरपेक्षतालाई ठूलो राजनीतिक उपलब्धीको रूपमा अथ्र्याउने गरेका छन् । विश्व जगतमा भएको एउटा मात्र हिन्दु राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाएर देशमा विकास भयो त ? सुशासन भयो की ? नेपाली समाजमा विश्वमै नभएको नमूनाको रूपमा धार्मिक सहिष्णुता छँदै थियो । सामाजिक सद्भाव अहिले भन्दा अझै राम्रो थियो । धर्म मानिसको वैयक्तिक रूची र आस्थाको कुरा हो । अहिले देशको ठूलो जनसंख्याले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्यको चाहाना राखेका छन् । जनचाहाना विपरित बनाईएको धर्मनिरपेक्षता कसरी राजनीतिक उपलब्धी मान्ने ?

राजनीतिक दलहरूको आवेसका कारण कारण विश्व जगतमा नै नभएको दुई–दुई पटक संविधान सभाको निर्वाचन भयो । संविधान निर्माणमा मात्र राज्यले दश बर्षको समय र अरवौं रूपियाँ खर्च गर्यो । देशको विकास गर्ने अर्जुन दृष्टि र विवेक भएको भए दुईबर्षको लागि भनेर गरिएको पहिलो संविधान सभाबाट २०६७ सालमा नै संविधान बन्ने थियो । केही नेताहरूको इगो र आवेगका कारण दोस्रो संविधान सभाको निर्वाचन गरे । यस्तो गरिव देशले एउटा संविधान बनाउनको लागि गरिएको यति ठूलो खर्च सम्भवत विश्वमा कही पनि छैन । यसरी हेर्दा राजनीतिक दलका न त विगतका क्रियाकलापमा विवेकले काम गरेको छ न त वर्तमानमा नै । त्यसैले आवेश र स्वार्थको राजनीतिले देश बिग्रियो ।

सत्ताको ग्यालरीमा विवेकको खडेरी देखिएको तीन सदक बितिसक्दा पनि उनै दल, उही पात्र, उही प्रवृत्तिलाई बारम्बार मालिक बनाएर देश बिगार्याैं

विकास र सुशासन राजनीतिक प्रणालीले भन्दा पनि सत्तासिन मानिसहरूको दृष्टिकोण, क्षमता र इच्छाशक्तिमा निर्भर हुन्छ । अहिले सङ्घीयताको खर्च अनुत्पादक रूपमा बढेको बढ्यै छ । अरबौं रूपियाँ जनप्रतिनिधिहरूको तलब, भत्ता र सुविधामा खर्च हुने गरेको छ । यति सानो देशमा ८८५ वटा सांसदहरू किन चाहियो ? सयौंको संख्यामा मन्त्रीहरू किन आवश्यक प¥यो ?

यस दृष्टिकोणबाट हेर्दा राजनीतीलाई अनावस्यक रूपमा उपयोग गरेर देश बिगार्यौं ।

कुनै पनि सरकारले आर्थिक मितव्ययिता अपनाउन सकेको छैन । एकातिर राजनीतिक दलमा डेरा जमाएर बसेका नेताहरू कै कारण देश आजको अवस्थामा आइपुगेको छ भने अर्कोतिर नेपाली समाजले नेतृत्व चयनमा विवेक नपु¥याएको अवस्था छ । अहिलेको राजनीतिक संरचनाको ढाँचाले देश उभो लाग्ने देखिंदैन । यो प्रान्तीय सरकार’bout आमअसहमति छ ।

केन्द्रिय सरकार र स्थानीय सरकार भएपछि नेपालजस्तो सानो देशमा यति खर्चिलो बीचको सरकार बनाउनु आवस्यकता नै नभएको विज्ञहरूको मत छ । बरू स्थानीय तहलाई अझै अधिकार सम्पन्न बनाई जनताको घरदैलोमा सार्वजनिक सेवा डेलिभर गर्ने र प्राथमिकताका आधारमा विकास निर्माणका कामहरू गर्नु नै देश बनाउने मार्ग दर्शन हो, यसै गरियोस् ।

अन्त्यमा देश हामी सबैंको सझा सम्पत्ति हो, मान हो, सान हो र पहिचान हो । यसर्थ, आ–आप्mनो ठाउँबाट देश निर्माणमा लागौं । यसो गर्दा आवेगमा होइन विवेकले काम गरौं । राजनीतिक दलले ठीक र बेठीकको आधारमा निर्णय लिने काम गरून् । देश विकासको बाधक दल र नागरिकको विवेक बनेको छ । विवेकशील बनांै । विकास गर्ने ढंगको अभाव छ, तरिका खोजौं ।

लोभले तगारो हालेको छ । लोभ त्यागौं । स्वार्थले घेरेको छ । निःस्वार्थी बनौं । बुद्धल भनेका छन्, मूर्खले जहिल्यै अरूको खोट खोज्छ, देख्छ र निन्दा गर्छ तर विद्वानले आप्mनै खोट खोज्छ, भेट्छ र त्यसलार्ई ठीक पारेर अगाडि बढ्छ भनेका छन् । मूर्ख नबनौं । आप्mना कमीकमजेरीहरू स्वीकार गरौं । योभन्दा बढी देशलाई नबिगारौं ।

तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो