Tuesday, April 7, 2020
Home बिचार संकट र नागरिक दायित्व

संकट र नागरिक दायित्व

यतिखेर विश्व मानवजातिको रक्षामा केन्द्रित छ । सबै किसिमका पारस्परिक द्वन्द्व र असहमतिलाई बिर्सेर विश्व एक भई मानव रक्षाका लागि जुटेको छ । तथापि, इतिहासकै शक्तिशाली मानिएको कोरोना भाइरस ‘कोभिड–१९’ को प्रभाव न्यूनीकरण हुन सकेको छैन । यो झ्नझन् व्यापक हुँदै गएको छ । हाम्रो मुलुकमा पनि यसको प्रभाव परेको छ । अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र बन्द ठप्प छन् । सबैतिर त्रासको वातावरण छ । विभिन्न सूचना र निर्देशन जारी गर्दै आएको सरकारले सबैलाई धैर्य हुनु र सजगताका साथ रहन आग्रह गरेको छ । स्मरणीय छ, ‘कोभिड–१९’ बाट विश्वमा मृत्यु हुनेको संख्या १३ हजार नाघिसकेको छ भने झन्डै सम्पूर्ण विश्व यसको चपेटामा आइसकेको छ । यस समय विश्वभरमा सबैभन्दा खराब अवस्था इटलीको छ । यहाँ भाइरसको उद्गम चीनभन्दा पनि बढी झन्डै ५ हजारको मृत्यु भएको छ ।

चीनमा नियन्त्रणमा आएको दाबी गरिएको छ । सिंगापुरमा नियन्त्रणमै छ । दक्षिण कोरियामा प्रारम्भमा जुन प्रभाव थियो, त्यो नियन्त्रणमा देखिन्छ भने जापान पनि नियन्त्रण गरिरहेको छ । युरोपमा निकै व्यापक रूपमा फैलिएको छ । इटलीमा ठूलो मानवीय क्षति भएको छ र फैलिइरहेको छ भने स्पेन पनि नराम्ररी प्रभावित छ । अमेरिका, बेलायत आदि मुलुकमा यो फैलिएको छ । छिमेकी भारतमा ढिलो गरी यसको प्रभाव पर्न पुग्यो तर यसको विस्तार भइरहेको छ । भारतले यसको नियन्त्रणका लागि समयमै सजगता अपनाएको र जनता कफ्र्यु जस्तो घरबाटै ननिस्कने सचेतना अभियान चलायो । हामीले पनि अनावश्यक रूपमा घुमफिर नगर्ने, धेरै जना भेला नहुने र सरकारले अपनाएका उपायको स्वागत गर्नु जरुरी छ ।
‘कोभिड–१९’को विश्वव्यापी रूपमा बढ्दो त्रासका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरे । सो क्रममा पनि नागरिकलाई सावधान रहन आग्रह गरे ।

सरसफाइमा उचित ध्यान दिन, साबुनपानीले पटकपटक हात धुन र सेनिटाइजर प्रयोग गर्न, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन र चिकित्सक, विज्ञ तथा प्राविधिकको सल्लाह पालना गर्न सुझाए । यसैगरी, उनले धैर्यवान् र सावधान हुन, संयम अपनाउन र आतंकित नहुन पनि अनुरोध गरे । प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन १४ दिन क्वारेन्टाइन बसी सबै दिदीबहिनी तथा दाजुभाइले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए । बढ्दो जोखिमबीच चिकित्सक तथा विज्ञले संक्रमणबाट जोगिन दिँदै आएका सुझाव पनि यस्तै भएका र नागरिकले यस्तो अनुरोधको जति पालना गर्छन्, संक्रमणको सम्भावना त्यति नै न्यून हुनेछ ।

सम्भावित उच्च जोखिममा रहेको भनी गरिएको प्रचारबाट नेपाल झनै प्रभावित भएको छ

नेपालले कोरोना भाइरस ‘कोभिड–१९’ नियन्त्रणमा थप सतर्कता अपनाउन विशेष पहल गर्ने क्रममा प्रधानमन्त्री ओलीको शुक्रबारको राष्ट्रको नामको सम्बोधनका क्रममा विभिन्न घोषणा भए । नेपालमा हालसम्म कोरोनाको संक्रमण नदेखिए पनि सम्भावित जोखिमप्रति सजग रहेको सन्देश यसबाट प्रवाहित भयो । प्रधानमन्त्रीको सम्बोधनमार्फत जानकारी गराइएअनुसार ९ गतेदेखि सम्पूर्ण अन्तर्राट्रिय उडान तत्कालका लागि स्थगित गरिनुका साथै लामो दूरीको सडक यातायात पनि बन्द गरिएको छ । सरकारको अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द घोषणासँगै काठमाडांैबाट गाउँ जानेको संख्या निकै देखियो । गाउँतिर गएर कोरोनाबाट सुरक्षित हुने त होइन, तर यो एउटा मनोविज्ञान हो, सुरक्षित ठाउँ खोज्ने क्रममा, अनि यसले काठमाडौंमा हुने भीडभाड कम गर्न सहयोग पुगेको छ । यसैबीच सरकारले कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रीय कोष स्थापना गरेको छ । ५० करोड रुपैयाँ राशि राखेर सुरु गरिएको सो कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यको एक महिनाको तलब जम्मा गरिने भएको छ । ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुने गरी दुवै छिमेकी मुलुकका सम्पूर्ण नाकाबाट हुने यात्रु आवागमन एक साताका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

छिमेकी मुलुकमा कोरोना उत्पन्न भई सारा विश्वलाई सताउँदा हामीसम्म फैलिएर क्षति नपु¥याउनु हामीलाई कोरोनाले दिएको अवसर हो । हुन सक्छ, यो हाम्रो भोगोलिक अवस्थितिको लाभ पनि हो । सोहीअनुसार हामीले ढिलै भए पनि सजगता अपनाएका छौं । यसले हामीलाई पुग्न सक्ने क्षति न्यून हुने कुरामा कुनै आशंका छैन । तर, अफवाह फैलाएर अवसरको लाभ लिन सक्ने सम्भावना पनि भएकाले त्यसतर्फ राज्य, आमसर्वसाधारण र सम्बन्धित सबैको ध्यान पुग्नु जरुरी छ । संकटको बेला सहयोग आवश्यक हुन्छ, अवसरको लाभ लिने होइन । अकल्पनीय परिस्थितिसँग सबै मिलेर जुध्नुपर्छ । जिउनु नै ठूलो कुरा हो र यस्ता विपत्तिले धनी, गरिब, हुने, नहुने वा उच्च र निम्न भनेर विभेद गर्दैन ।

सरकारले गरेको निर्णय चालेका कदम र प्रयास सराहनीय छन् । यसप्रति जनताको साथ र समर्थन चाहिन्छ । एसईईको परीक्षा स्थगन, अत्यावश्यकबाहेकका सेवा बन्द, लामो दूरीको सार्वजनिक यातायातमा रोक, काम नपरी बाहिर ननिस्कन, भीडभाड नगर्न जारी सूचना नागरिककै सुरक्षाका लागि हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा उच्च आत्मबल र आत्मविश्वासले सबै खाले संकटसँग जुध्न सकिने बताएका छन्, जुन मननीय छ ।
‘कोभिड–१९’ को बढ्दो प्रभावबीच विश्व स्वास्थ्य संगठनले ‘कोभिड–१९’ को जोखिमलाई राम्ररी बुझ्न र सामान्य नठान्न सजग गराएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसको खतरा दिनदिनै बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले पत्रकार सम्मेलनमार्फत यो महामारीले सम्पूर्ण विश्वमा मानिसको जीवनशैलीमै परिवर्तन ल्याइदिएको, मानवीय गतिविधि प्रभावित भएको, शिक्षण संस्था, कार्यालय र व्यवसाय बन्द भएका बताएका छन् । लाखौं मानिस घरबाटै काम गर्न बाध्य भएका र कतिपयले आफ्नो जीविका अर्थात् रोजगारी नै गुमाउन पुगेका उनको भनाइ छ । यसको असर ज्येष्ठ नागरिकमा धेरै परेको देखिए पनि युवामा पनि प्रभाव कम नभएको भन्दै उनले युवाले पनि आफूलाई सुरक्षित नठान्न सुझाएका छन् । यो भाइरसले युवालाई पनि हप्तांै अस्पतालमा राख्न सक्ने र यहासम्म कि मृत्यु नै हुन पनि सक्ने भन्दै यसबाट सुरक्षित रहन सबैको साझा प्रयास र सजगता आवश्यक रहेको बताएका छन् ।

हाम्रो हकमा, अत्यावश्यक वस्तुको नियमित आपूर्ति हुने कुराको सुनिश्चितता सरकारले गर्नुपर्छ । संकटको समयमा अनुचित लाभ लिन खोज्ने, कृत्रिम अभाव सिर्जना गर्ने तत्वलाई सरकार सम्बन्धित पक्षले नै ठेगान लगाउनुपर्छ । मिसावट, कालोबजारी गर्ने नाफाखोरलाई कुनै पनि ढंगमा मोलाहिजा दिनुहुँदैन । सरकारले आश्वस्त पार्न खोजे पनि उपभोक्ताले संग्रह र सञ्चय गर्ने होड गर्नु भनेको सरकारप्रतिको अविश्वास हो । सरकारले आफूमाथि विश्वास जगाउने अवसर पाएको छ यतिखेर । साँच्चिकै सरकार बलियो छ, उपभोक्ता ठगीमा पर्नेछैनन् भन्ने कुराको प्रत्याभूति दिलाउन पनि उसको सरकारी संयन्त्रको सक्रियताको खाँचो छ । यो अवसरको सरकारले सदुपयोग गर्नुपर्छ । यसो हुन सकेमा आगामी दिनमा पनि सरकारप्रतिको भरोसा कायम रहन सक्नेछ । सरकार र सरकारी संयन्त्रका भनाइ र गराइमा तालमेल आवश्यक छ ।

विपत्ति बाजा बजाएर आउँदैन । यसैले सम्भावित विपत्तिप्रति सदैव सजग रहनुपर्छ । केहीचाहिँ सजगता अपनाउँदा अपनाउँदै पनि झेल्नुपर्ने र क्षति बेहोर्नुपर्ने पनि हुन सक्छ, त्यो भिन्न कुरा हो । तर, पूर्वतयारी आवश्यक हुन्छ । हामीले कोरोनाको हकमा पनि प्रारम्भिक दिनमा उत्तिको सजगता नपनाए पनि यसको विस्तार हुन थालेपछि सजगता अपनाउन थाल्यौं । त्यसैको परिणाम हुन सक्छ, हामी यसको चपेटामा पर्नुपरेको छैन । तर हाम्रो जस्तो सामाजिक संरचना छ, हाम्रो सहरको जस्तो स्वरूप छ, त्यसले यो प्रवेश हुनासाथ विस्तार हुन समय नलाग्ने कुरा प्रस्ट छ ।

यतिखेर एकातिर चिकित्सक, सुरक्षाकर्मीलगायत र अर्कोतिर आम सर्वसाधारणले पनि आफूलाई उत्तिकै जिम्मेवार बनाउनुपरेको छ । बुझ्नेले नबुझ्नेलाई सम्झाउने र बलजफ्ती नगरी संयमतासाथ आफ्नो भूमिका निर्वाह गर्नु जरुरी छ । सरसफाई र दूरी नै यसबाट सुरक्षित हुने उपाय हो भन्ने कुरामा सन्देह रहेन । कालोबजार भएका जस्ता दुःखद कुरा पनि आएका छन् । यस किसिमको कार्य हुनुहुंदैन । यो मौकाको फाइदा उठाउने समय होइन कि मानवताको पक्षमा एक हुने, जुट्ने समय हो । यसैगरी, सामाजिक सञ्जाल र सञ्चारमाध्यमले कपोलकल्पित एवं आधारहीन सूचना र जानकारी प्रवाहित गरेर त्रास फैलाउने होइन कि सही सत्य सूचना प्रवाह गर्नुपर्छ । सकारात्मक सूचना दिनुपर्छ । चीनबाट उत्पन्न भई विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल परिस्थितिले विश्वलाई नै चिन्तित तुल्याएको छ । सम्पूर्ण विश्व नै एक भएर यसविरुद्ध विभिन्न रणनीति बनाउँदै लडिरहेको छ । मानवताको रक्षाका लागि सामूहिक प्रयासको खाँचो छ । वास्तवमा यो मानवतामाथिकै चुनौती हो । यसैले सम्पूर्ण मानवजाति नै यसविरुद्ध आआफ्नो तहमा सक्रिय र सजग हुनुपर्छ ।

हरेक संकटमा नागरिकको दायित्व रहन्छ । यो विश्वव्यापी संकटको हकमा चाहिँ नागरिकको झन् ठूलो दायित्व छ । धैर्य, संयम अनि सरकारका निर्देशनको अवज्ञा नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु हरेक नागरिकको दायित्व हो । भीडभाड नगर्ने, सरसफाइमा ध्यान दिने र आइपर्ने कठिनाइमा नआत्तिई धैर्यता अपनाउनुपर्छ । सरकारले सक्दो व्यवस्था गर्छ नै किनकि नागरिकको सुरक्षा उसको जिम्मेवारी हो तर जब विपत्ति आइलाग्छ, त्यसका लागि कसैको मुख ताक्ने होइन कि आफ्नो तहबाट पूरा गर्नुपर्ने जिम्मेवारी सबैले स्वयं पूरा गर्न अग्रसर हुनुपर्छ । यो स्थितिले जनजीवन प्रभावित हुने कुरा स्वाभाविक छ । व्यक्तिव्यक्तिबाट समाज बन्ने र व्यक्तिकै प्रयासमा समाज सुरक्षित र सहज हुने भएकाले हरेकले आफ्नो दायित्व पूरा गर्नुपर्छ । संकटमा सबैखाले मतभिन्नतालाई बिर्सेर एक हुनुपर्छ र हुने गरेको नेपाली समाजले कोरोनाको महामारीले उत्पन्न गरेको संकटलाई पनि उचित व्यवस्थापनमार्फत् सहजै परास्त गर्ने अपेक्षा गर्नु उचित नै हुनेछ ।

समग्रमा, विकसित र सम्पन्न मुलुकसमेत कोरोना भाइरसको संक्रमणसँग जुध्न र जनजीवन सामान्य राख्न कठिन संघर्ष गरिरहेका अहिलेको अवस्थामा साधनस्रोतले कमजोर एवं नेपालजस्ता विपन्न मुलुकका लागि प्रकोपको सम्भावित जोखिमसँग जुध्ने कार्य निकै चुनौतीपूर्ण छ । तर, नेपाल सरकारले ‘कोभिड–१९’ को त्रास नियन्त्रणका लागि जेजस्ता प्रयास गरेको छ, जस्ता सजगता अपनाएको छ त्यो स्वागतयोग्य छ । नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर छ तर यसमा आम नागरिकले घरभित्रै बस्ने भीडभाडमा नजाने, सामाजिक दूरी कायम गर्नेतर्फ गम्भीर हुनु आवश्यक छ । यसमा सबैको साथ र सहयोगको खाँचो छ । विश्व नै यस महामारीविरुद्ध लडिरहेको सन्दर्भमा उच्च मनोबल, धैर्य र संयमतासाथ हामीले कोरोनाविरुद्ध लडनुको अर्को विकल्प छैन । यसमा नागरिक विशेष सजग एवं जिम्मेवार हुनुपर्छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण...

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ...

भर्खरै

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४...

धेरै पढिएका

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४...

ई-पेपर

(Visited 25 times, 1 visits today)