काठमाडौं । यस अघि चकलेटी हिरोको रुपमा प्रस्तुत हुँदै आएका अभिनेता अनमोल केसी यसपटक भने ग्याङ स्टारको रुपमा जगल्टे भेषमा प्रस्तुत भएका छन् । नयाँ चलचित्र ‘छड्के २’मा उनी यस्तो भेषमा प्रस्तुत भएका छन् ।
यो चलचित्र यही १९ फागुनबाट नेपाल सहित विभिन्न देशमा रिलिज हुने भएको छ । प्रचार प्रसारमा पछि रहेको चलचित्र ‘छक्का पञ्जा–४’सँग प्रतिस्पर्धी बनेर अनमोलको यो फिल्म सोही दिन रिलिज हुँदैछ ।
प्रदर्शनको मिति नजिकिँदै गर्दा यो फिल्मको ट्रेलर बुधबार बेलुका रिलिज गरिएको छ ।
यसको अफिसियल ट्रेलर अनुसार यो सिनेमामा तीनवटा ग्याङको द्धन्द्ध प्रस्तुत गरिएको छ । जसमा रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा समेटिएको छ । यी तीन मध्य ग्रीन ग्याङको नेतृत्व अनमोल केसीले गरेका छन् । शरीरभरी ट्याटु खोपेको देखिने उनी हातमा हमेसा खुँडा बोकेर बुलेट बाइक चढेर आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेको ट्रेलरमा देख्न पाईन्छ ।
यो फिल्मको लागि आफुले पुरै गेटअप परिवर्तन गरेको पनि अनमोलले बताएका छन् । ट्रेलरको कथा अनुसार यी तीन ग्याङकै उद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो ।
निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलान लगायतका कलाकारले अभिनय गरेका छन् ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन, रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।






