राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त

काठमाडौं । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ ।

राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।

राष्ट्रपतिका दुवै उम्मेदवारले शनिबार संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । २५ फागुनमा राष्ट्रपति चयन गर्न मतदान हुँदै छ ।

कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको मुख्य साथ छ । यसैगरी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ पौडेलले पाएका छन् ।

यस्तै, एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् । तर, एमाले नेताहरूले भने १० पुसमा भएको सहमतिअनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षामा छ ।

राष्ट्रपति पदका लागि कांग्रेसबाट उम्मेदवार बनेका पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान छन् । यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् ।

एमाले उम्मेदवार नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकहरूमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् ।

राष्ट्रपतिका लागि कांग्रेससहित आठ दलको साथ पाएका पौडेल ३ पुस २०५१ देखि ९ चैत २०५५ सम्म सभामुख थिए । यस्तै, नेम्वाङ १२ साउन २०६५ देखि १४ जेठ २०६९ सम्म पहिलो कार्यकालमा संसदको सभामुख बनेका थिए ।

नेम्वाङ ६ फागुन २०७० देखि २७ असोज २०७२ सम्म दोस्रो कार्यकालका लागि पुनः सभामुख बनेका थिए । संविधानसभा निर्वाचनपछि दुवै संविधानसभामा नेम्वाङ अध्यक्षको भूमिकामा थिए ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने आगामी २८ फागुनमा सकिँदै छ । उनी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् ।

उपराष्ट्रपतिको पदावधि ३ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।
देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए । यस्तै, तेस्रो पटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुनः दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो ।

राष्ट्रपति चुन्न पुरानै मतभार

निर्वाचन आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने भएको छ । २०७४ सालमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको अनुसूचीअनुसार देशको कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई १ हजारले भाग गर्दा जुन नम्बर आउँछ, त्यो नै एक संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभा सदस्यको मतभार पनि यही प्रक्रियाबाट तय हुन्छ । आयोगले पछिल्लो २०७८ मा सम्पन्न जनगणनाको अन्तिम विवरण औपचारिकरूपमा सार्वजनिक नभएकाले पुरानै मतभारबाट राष्ट्रपति निर्वाचन गर्न लागेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६८ सालको जनसंख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको तर अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभइसकेका कारण पुरानै मतभारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अवस्था आएको बताए ।
‘२०६८ को जनसंख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको थियो, अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन । त्यसैले आयोगले पुरानै मतभारमा निर्वाचन गर्ने गरी तयारी गरेको हो,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार उपराष्ट्रपतिको निर्वाचन भने ३ चैत्रमा हुनेछ ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि काठमाडौंमा नै मतदान गरिने जनाएको छ । राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता कायम भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसअनुसार प्रदेशसभाका ५५० सदस्य र संघीय संसदका ३३२ गरी ८८२ जना मतदाता कायम भएका हुन् ।

आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवारको मनोनयन दर्ता भइसकको छ । आयोगले मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको सूचीसमेत शनिबार नै प्रकाशित गरिसकेको छ ।

आयोगका अनुसार आइतबार उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । आयोगले उम्मेदवारको मनोनयन र उजुरीउपर छानबिन गरी १४ र १५ फागुनमा निर्णय गर्ने छ भने १५ फागुनकै दिनमा साँझ उम्मेदवारको नामावली प्रकाशित हुनेछ । आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ फागुनमा फिर्ता गर्न समय निर्धारण गरेको छ भने १६ फागुनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ र २५ फागुनमा राष्ट्रपति चुन्न निर्वाचन हुनेछ ।

त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन ३ फागुनमा हुनेछ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरक–फरक मितिमा गर्नुपर्ने उल्लेख छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेदेखि अन्य निर्वाचन कार्यक्रमका काम भने राष्ट्रपति निर्वाचनलाई मानिने आयोगले बताएको छ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता २७ फागुनमा हुनेछ भने मनोनयन दर्ता भएको उम्मेदवारको सूची सोही दिन प्रकाशित गर्ने तथा उम्मेदवारको विरोधमा उजुरी दिन सोही दिन तोकिएको छ ।

यसैगरी, २८ फागुनमा उपराष्ट्रपतिका उम्मेदवारको मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन र एमालेले इटहरी–धरानमा ग-यो उमेद्वारी दर्ता