चापागाउँ (ललितपुर) । चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा दुर्लभ वन्यजन्तु ‘नीर बिरालो’ देखापरेको छ । स्थानीय जय भण्डारीले बुधबार बिहान ‘गाजले नीर बिरालो’ आफ्नो क्यामेरामा कैद गरेको जानकारी दिए । ‘बज्रबाराही जंगलमा नीर बिरालो पहिलोपटक देखेको हुँ,’ उनले राजधानीसँग भने, ‘सायद रातको समय काँठ क्षेत्रबाट खाना खोज्ने क्रममा आइपुगेको हुनसक्छ ।’
चराविद्समेत रहेका भण्डारी यस्ता दुर्लभ वन्यजन्तु देखिनु सुखद् भएको बताउछन् । तर, संरक्षण पनि उत्तिकै जरुरी रहेको उनले औंल्याए । उनका अनुसार रातको समय मात्रै सक्रिय हुने ‘नीर बिरालो’ दिउसो विरलै देखिने गर्छ ।
‘बज्रबाराही वनमा दुर्लभ जनावर देखिनु यस भेगकै लागि गौरबको विषय हो तर सम्बन्धित निकायले दीर्घकालीन रूपमा तारबार लगाएरै वन तथा वन्यजन्तु संरक्षण गर्नुपर्छ,’ भण्डारी भन्छन्, ‘यसमा गोदावरी नगरपालिकाले विशेष निगरानी बढाउनुपर्ने आवश्यक देखिएको छ ।’
ठूलो, सानो, गाजले, ताडी र सिलु गरी नीर बिराला पाँच प्रकारका हुन्छन् । यीमध्ये बज्रबाराही धार्मिक वनमा देखिएको ‘गाजले नीर बिरालो’ हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार ‘नीर बिरालो’ नेपालमा अधिक चोरसिकारी तथा अवैध व्यापार हुने वन्यजन्तुमध्ये पर्छ ।
शरीरमा फुस्रो खैरो झल्किने खुट्टा गाढा रङका, पुच्छरमा मोटा काला र पातला सेता पट्टी भएका हुन्छन् । यसको काँधदेखि पुच्छरसम्म गएको, शरीरमा गाढा ठाडा तथा तेर्सा धर्का देखिन्छन् ।
कुकरजस्तो देखिने यसको शरीर अन्य नीर बिरालोभन्दा ठूलो र तलतिर धस्सिएजस्तो देखिन्छ । खुट्टा छोटा हुन्छन् । राति सक्रिय हुने यो प्राणी साधारण मांसाहारी भएकाले चरा, सर्प, भ्यागुता, अन्डा, गंगटा, माछा, फलफूल र जरा खाने गर्छन् । ठूलो नीर बिरालो महाभारतको पहाड, पतझड, सदावहार वन र मानववस्तीनजिक पाइन्छ ।
नेपाल, भारत, बंगलादेश, भुटानलगायत देशमा यो पाइने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । वर्षमा दुईपटक बच्चा जन्माउने यसले एकपटकमा चार वटासम्म बच्चा जन्माउँछ ।
त्यस्तै, सानो नीर बिरालाको शरीर फुस्रो वा खैरो झल्किने हुन्छ । शरीरभर स–साना लाम्चा र गालामा गाढा थोप्ला हुन्छन् भने पुच्छरमा ८ देखि १० वटा काला पट्टी हुन्छन् । घाँसेक्षेत्र र चट्टानयुक्त पहाडमा पाइने यी बिराला नेपालबाहेक चीन, भारत, लाओस, म्यानमार, थाइल्यान्ड, भियतनाम, कम्बोडियालगायत देशमा पाइन्छन् ।






