काठमाडौं । शुक्रबारबाट दुई नेपाली चलचित्र ‘छड्के–२’ र ‘छक्का पञ्जा–४’ रिलिज हुँदैछ । बिगतमा आफ्नो मात्र चलचित्र रिलिज गर्न सफल अभिनेता दीपकराज गिरीले यसपटक भने अनमोल केसीसँग प्रतिस्पर्धा गर्नु परेको छ ।
नेपाली चलचित्रका दर्शकमाझ दुबैको राम्रो पकड छ । तथापि दुबै सिनेमा आपसमा जुध्दै शुक्रबारबाट रिलिज हुँदैछन् ।
केही हलमा दुबै सिनेमाले समान शो पाएका छन् । केहीमा छक्का पञ्जा ४ को बढी छ । केही हलमा भने छड्के २ ले बढी शो पाएको छ ।
अभिनेता अनमोलको लागि यसपटक निकै ठुलो चुनौती छ । यस अघि छक्का पञ्जाका तीन वटै सृँखलाले व्यबसायिक सफलता हाँसिल गरिसकेको अबस्थामा चौथो सृँखलासँग छड्के २ भिडेको छ । अनमोलले छक्का पञ्जाका राजलाई चुनौती दिएका छन् ।
यो साता फागु पूर्णीमा सहित एकै हप्तामा तीन दिन सार्वजनिक बिदा परेका कारण पनि यी दुई सिनेमा रिलिज भएका हुन् ।
चलचित्र छड्के २ ग्याङस्टारमा आधारित सिनेमा हो । यसमा मनाङ देखि चितवनसम्मको यात्राको कथा समेटिएको छ । यो फिल्ममा तीन वटा ग्याङको द्धन्द्ध कथा छ । जसमा मेनडग चरित्रमा देखिएका अनमोलले फिल्ममा ग्रीन ग्याङको प्रतिनिधित्व गरेका छन् । यो चलचित्रमा रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् ।
यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । एक दशक अघि ‘छड्के’ निर्माण भएको छ । यतीबेला सिक्वेलको रुपमा छड्के २ निर्माण भएको हो ।
बिगतका सिनेमामा चकलेटी नायकको रुपमा देखिएका अनमोलले आफ्नो लागि ग्याङस्टार भूमिका चुनौतीपूर्ण रहेको बताएका छन्,‘यो भूमिकामा दर्शकले मलाई सकरात्मक रुपमा लिनु भएकाले आगामी दिनबाट अब म चलचित्रमा परिवर्तन गर्ने छु ।’
प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् । रिलिज मितिलाई भ्यागुता कराउने दिन भनेर टिजरमा उल्लेख गरिएको छ ।
यता दिपकराज गिरी, दीपाश्री निरौलाले निर्माण गरेको छक्का पञ्जा ४ मा यसपटक दीपाको ठाउँमा हेमराज बिसी निर्देशक छन् ।
यो नेपालको राजनीतिक बिकृतिमाथि केन्द्रित चलचित्र हो । जसमा दिपक र दीपासँगै केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, सविन बास्तोला, नीर शाह लगायतको मुख्य भूमिका छ ।