काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले जनताको राष्ट्रपति बन्न चाहेको बताएका छन् ।
२५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा अघि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङले यस्तो बताएका हुन् । शुक्रबार उनले जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शीर्ष नेतासँग भेटघाट गरेका छन् ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेतासँग छुट्टाछुटै भेटघाट गर्दै नेम्वाङसहितका नेताले सहयोग गर्न अपिल गरेका छन् ।
नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । नेम्वाङले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाए । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने प्रयास गर्ने उनको भनाइ छ ।
राष्ट्रपति निर्वाचन
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले अर्को प्रसंगमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटकपटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको दाबी गरे ।
नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । शुक्रबार पार्टीका नेताहरूसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग भेट गरी राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गरेका हुन् ।
राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरूको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताएको भेटमा सहभागी एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गुरुङका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंसा गरेका थिए ।
एमालेका नेताहरूले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए । एमाले उपमहासचिव गुरुङले भने, ‘हामीले जनमत पार्टीका अध्यक्षज्यूसँग हाम्रो पार्टीका तर्फबाट उम्मेदवार बनाइनु भएका पूर्वसभामुख, संविधानसभाका अध्यक्ष, हाम्रो पार्टीको पनि उपाध्यक्ष माननीय सुवास नेम्वाङको ’boutमा उहाँलाई बतायौं । हाम्रो पार्टीको उम्मेदवारलाई जिताउन उहाँहरूसँग पनि सहयोग माग्यौं ।’
यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरूले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरूलाई बताएका थिए । संविधान जारी गर्नेबेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिका रूपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत मागेको र आफूले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताए ।
‘राष्ट्रपतिमा उहाँले उम्मेदवारी दिनुभएको छ । त्यही मत माग्न उहाँ आउनुभएको थियो । हामीले पनि छलफल राख्छौं । अनि मात्रै जवाफ दिन्छौं भनेर अहिले भनेका छौं,’ राउतले भने ।
यसैबीच नेम्वाङले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन् । भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र लोसपा अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने जवाफ दिएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
महतोले आफूहरू ८ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यस’boutमा निर्णय गर्ने बताए । ‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौं । र, पनि उहाँले आग्रह गर्नुभएको छ । हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ’ महतोले भने ।
भेटघाटपछि एमाले सचिव योगेश भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताए । उनले राष्ट्रपतिजस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्न नहुने बताए ।
सचिव भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको दाबी गरेका छन् ।
राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदै छ । राष्ट्रपतिका लागि एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् । दुवै जना पूर्वसभामुख हुन् ।