थकाली समुदायमा तोरन्ल मेर म्ह्री चाडको सान्दर्भिकता

आज नेपाल तथा विदेशमा रहेका थकाली समुदायले तोरन्ल मेर म्ह्री चाड हर्षोल्लाहसका साथ मनाइरहेका छन् । थकाली समुदायले फागु पूर्णिमा पर्ने तोरन्ललाई मुख्य चाडका रूपमा लिने गर्छन् । तोरन्ल फागु पूर्णिमा चाड आदिम कालदेखि पुर्खाहरूले पितृपूजा गरिने दिनको रूपमा मान्दै आएका छन् । प्रत्येक वर्ष फागुु पूर्णिमा फागुको दिनलाई बीचमा पारेर तोरन्ल तीन दिनसम्म मनाउने चलन छ । यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुंदै आएको महत्वपूर्ण संस्कार हो । यस चाडले थकालीको परम्परा चालचलन, मूल्यमान्यता’bout नयाँ पिँढीलाई दीक्षित बनाउने काम गरेको छ । त्यसैले आजसम्म यसको महत्व र सान्दर्भिकता कायम रहेको छ ।

थकाली समुदायले परम्परादेखि तोरन्ल मेर म्ह्री फागुन पूर्णिमा आउनुभन्दा १०-१५ दिनअघिबाट घर सफा गर्ने, रंगरोगन लगाउने र लिपपोत र भाडाकुडा सफा गर्ने काम गर्छन् । यस पर्वमा पितृलाई चढाउन विभिन्न परिकार सामग्री र लुगा जुटाउने गरिन्छ । गाउँका थकाली पुरुषहरू भेडा, कुखुुरा तथा माछाको व्यवस्था गरी धुमधामसँग विधिवत् रूपमा पर्व मनाउने गर्छन् ।

पहिलो दिनको रातमा थकालीको पुर्खौली थलो सलम व्यासी (कोवाङ)स्थित ह्युलत्ह्मि (समाजघर)मा मिर मुखियासहित १३ गाउँका १३ मुखियाका साथै गाउँका भद्रभलादमी पनि जम्मा हुन्छन् । जून उदाएको समय पारी प्रमुख व्यक्ति त्यस भवनको छतमाथि उक्ली सेतो रुमाल हल्लाई तिङा (प्रकृति र पितृलाई नाम लिएर बोलाउँछन् । त्यसपछि तल ओर्ली घरको मुख्य ठाउँ (त्ह्मिढेन) वा थकाली सेवा समिति विभिन्न क्षेत्रको भवनमा उपस्थित भएपछि मिर मुखिया वा थकाली सेवा समिति नेपालका सम्बन्धि क्षेत्रीय समितिका अध्यक्षले कचौरा (आग्रा कोल्छ्योमा) घिउको हेयेर लगाएर जाँड वा रक्सी राखी पवित्र धुपीको टुप्पोले प्रकृति तथा अर्थात् पुर्खाहरू (खे मोम)को नाम पुकार्दै जान्छन् । उनीहरूको स्मरण गर्न नसकेमा आहाव अहासेव (ज्ञात तथा अज्ञात) भनेर खेतेव विशेष बुट्टेदार कचौरा (आग्रा कचौरा)को मदमा छे–छे (खानुअघि देवतालाई औंलाले जाँड वा रक्सी छर्कनु) गरी पुर्खाहरूलाई सम्झी खेतेजी गरेको आग्रा कोल्छ्योको जाड वा रक्सी अर्को सानो कचौरामा अलिकति राखी घिउको ह्येर गरी फुयुङ (चेक्चो अथवा सानो टेबल)मा खिमी चढाइन्छ । साथै तिङा बोलाएको रुमाल पनि त्यसै फुयुङ घरको मुख्य ठाउँ (त्हिम्टेढनमा प्हुम्बु राख्ने तख्ता)मा खिमी चढाइन्छ र पितृहरूलाई सम्झी मौनधारण गरिन्छ । त्यसपछि मात्र मिर मुखियाले तोरन्ल म्रेर म्ह्र्ी (फागुण पूर्णिमा पर्व)आगमनको घोषणा गर्दछन् र कचौराको मदलाई प्रसादका रूपमा सबैले ग्रहण गर्दछन् ।

त्हस (धनुषबाण तारा) थाप्नेका लागि तिथि परेको जुनसुकै बार भए पनि सो दिनमा बिहानै गाउँको क्हुन्दल् (सामाजिक कार्यकर्ता, अनिवार्य पालोअनुसारको) र कुमार केटा (बाबुआमा भएको)लाई फेटा गुथाइ, एक कप रक्सी राखी, दाहिने कन्चटमा घिउको ह्येर लगाई वनजंगलतिर जान्छन ।

वनमा गएर राम्रो सल्लाको सुरिलो आँखा नभएको रूखमा निसाना गरी कुमार केटालाई हातमा बन्चरो दिएर पहिलोपटक साइतका लागि कुमार केटाले चुनेको रूखको फेदमा प्रकृति मातालाई पूजा गर्दै तीन ठाउँमा घिउको ह्येर लगाई, ध्वजापताका झुन्ड्याएर एक ठेकी जाँडले रूखलाई छेछे गरेर जाँड पिएर काट्छन् । यो रूख काट्दा प्रकृतिलाई चोट पुगेकोमा क्षमा मागेर कुमार केटाको हातले बन्चरोले तीनचोटि काटेपछि मात्र अरू ठूला व्यक्तिहरूले उक्त रूख काट्छन् । रूखलाई ढालेर ५÷६ फिट लम्बाइ र चौडाइ करिब एक फिट जति राखी टुक्रा पारिसकेपछि अलि ठूलो रातोलाई फोसिन भाले र सेतोलाई मोसिन पोथी भनिन्छ ।

त्यसलाई छुट्याएर दुई फ्याक पारेपछि राम्रोसँग तासिन्छ । त्यसपछि सो त्हस थे (तारोको फलेक) सम्बन्धित ठाउँमा पु¥याउँछ । त्हस थे (तारोको फलेक) आइपुगेको सूचना पाएपछि सबै जना स्वागतमा दमाहा बाजा बजाउँदै भेट्न जान्छन् । उनीहरू सबैलाई महिलाहरूले खादा लगाइ धुपी र चिमेको डाली चढाइ केल्साङ् गरी लावा लस्करसहित सम्बन्धिता आइ पुग्छन् ।

त्यसपछि त्हस थे (तारोको फलेक) गाडिने ठाउँमा प्रकृतिको पूजा गरेर सो फलेक गाड्ने कार्य सम्पन्न हुन्छ । त्यसपछि चिमे (बासका डाली), पवित्र धुपीका डालीहरू, ध्वजापताका र घिउको ह्येर लगाइ स्वागत अभिवादन गर्दै नाचगान सुरु हुन्छ । बुढापाकाले छेत्पो फुल्व (प्रकृति माता र दिवंगत आत्मालाई पूजा अर्चना) गर्दछन् । सो दिन घरको सम्पूर्ण झ्याल, ढोका बन्द गरी बुढाबुढी, किशोरकिशोरी, बच्चाबच्चीका साथै अशक्तसमेत सबै जना एकै ठाउँमा जम्मा हुन्छन् ।

सबैले बिहानको भोजन गर्छन् भने दिनमा जाँड, रक्सी, तरकारी र रोटी खान्छन् । तर, अहिले माथि उल्लेख गरिएबमोजिम सबै विधिविधान पूरा गरी अनुष्ठान सम्पन्न गर्ने गाह्रो भएकाले स्थान विशेषअनुसार परिमार्जन गरी सम्पन्न गर्ने चलन छ ।

यस पर्वमा पितृलाई चढाउन विभिन्न परिकार सामग्री र लुगा जुटाउने गरिन्छ । गाउँका थकाली पुरुषहरू भेडा, कुखुुरा तथा माछाको व्यवस्था गरी धुमधामसँग विधिवत् रूपमा पर्व मनाउने गर्छन् ।

तोरन्लको पहिलो दिन तिथिअनुसार मध्य रात (कुखुरा बास्नुभन्दा अगाडि करिब २÷३ बजे)मा पितृहरूको (खे मोम) संस्मरणमा पूजा गरिन्छ । घरको मूल व्यक्ति पुरुष वा महिला शुद्ध हुन नुहाउने गर्न नजिकको नदीमा वा धारामा जान्छन् र शुद्ध चोखो पानी लिएर घर फर्केर फर्कन्छन् । त्यसपछि घरआँगन र पूजाकोठा लिपपोत गरी अघिल्लो साँझ तयार गरिएका विभिन्न प्रकारको खानेकुराका साथ पूजा सामाग्री तयार गरेपछि घरको मूलीले नयाँ वा सफा स्वजातीय लुगा लगाई पुरुषले फेटा गुथी महिलाले गहना लगाई आग्रा कोल्छ्यो (विशेष बुट्टेदार कचौरा)मा मद राखी पश्चिम फर्केर धुपीको सानो टुप्पाले छे छे गर्दै सर्वप्रथम प्रकृतिखे मोम सोलो भन्दै सबै खानाका परिकार ससाना टुक्रा गरी तीनवटा सालको पातमा खेमोम, एउटा सालको पातमा माइतीको खे मोम र एउटा सालको पातमा घरमा सहयोगी कामदारको नाममा चढाइन्छ । त्यसपछि घरका प्रमुख महिलाले न्होकोनचोलो लगाएर खिमीच्हुजी गर्ने क्रममा तिनै छुट्याइएको एकभाग बाहिर थारा वा छतमाथि चढाइन्छ । आफ्ना स्वर्गीय पितृलाई फुयुङ्मा तिनै विभिन्न परिकार र कचौरामा जाँड रक्सी राखी बढाइन्छ । अंकुमा बत्ती बाली कोइलामा धुपीको साङ धुप बालेर धुपबत्ती गर्छ भने करुवामा धुपी राखेर जल चढाउँछन् । पुर्खालाई सम्झी विभिन्न परिकार चढाइन्छ ।

रातमा चढाइएका परिकार प्रसादका रूपमा घरको सबै परिरवारका सदस्यले बाँडी खाने गरिन्छ । पूर्णिमाको दोस्रो दिनको रातमा पनि पहिलो दिनजस्तै महिला शुद्ध गरी चोखो जल लिन्छन् ।

थकाली अनुसन्धान केन्द्रबाट प्रकाशन ः २०७७, थकाली जातिका सामाजिक संस्कार तथा पर्वहरू कार्यविधि पुस्तिकामा उल्लेख भए अनुसार तोरन्लको समयमा थाकसातमा खेतबारीमा राम्रो अन्नपात उब्जाउ होस् भनी पूर्णिमाको जुनेली रातमा कोन्ज प्ल्हुमपुर्खाको सम्झनामा खेतको बीचमा कोन्जप्ल्हुम (पुर्खाको प्रतिक)का रूपमा लाम्चो ढुगां सिधा पारी गाड्ने र त्यसलाई सेतो चुनारंग लगाई धुपी सल्लाह चढाई विभिन्न परिकारका रोटी, रक्सी जाँड चढार्ई पूजा गर्ने चलन रहेको छ । यो पुुर्खाको प्रतीकमा पूजा गर्नाले खेतबारीमा अन्नपात उर्वरा शक्ति प्रदान हुन्छ भन्ने जन विश्वास रहेको छ । थाक सात सयमा यो संस्कार अस्तित्वमा रहेको पाइन्छ ।

तोरन्ल चाडमा सबैभन्दा प्रमुख आकर्षण पुरुषले खेल्ने धनुषवाण खेल हो । यो खेलमा सहभागी भएका सबैलाई तीन समूहमा बाँडी सबैले आआफ्नो समूहको धापन (नाइके) बनाउँछन् । तोरन्लमा तीन दिनसम्म पैसाको बाजी नगरी केवल पितृको स्मरण गर्दै (छेत्याकुल्ची) गर्छन् । यस कार्यक्रममा गाउंँ वा समूहगत रूपमा खाना दिन्छन् । सबै जनाले तोरन्ल गीत गाउँछन् र नाच्छन् ।

तोरन्ल मेर म्ह्रीको आगमनको खुसियालीमा गाउने स्वागत गीत
च्ह्योङ्जी तोरन्ल स्हेम्ब च्ह्योङ्जी तोरन्ल
आइपुग्नुभयो तोरन्ल चाड मेरो घर आँगनमा
आइपुग्नु भयो तोरन्ल ।

ताराखेलमा धानुवाण (तीर) छोड्दा जसले खोल (फलेकको बीचको भागमा निसाना लगाउँछ ) हान्छ उसलाई गीतबाटै आर्शिवाद र स्यावासी दिइन्छ । यसरी तीन दिनसम्म गीत गाउँदै नाच्दै रमाइलो गरी बिताउँछन् भने चौथो दिनबाट मात्र प्रतियोगिता र पैसाको खेल हुन्छ । यस प्रकारको खेलको आयोजना मुखिया तथा थकाली सेवा समिति प्रत्येक क्षेत्रको समाज घर (हियुलत्हिमा) हुने गर्छ । त्यसैगरी महिलाहरूले पनि सबै जना मुखियाको घर आँगनमा वा थकाली सेवा समिति प्रत्येक क्षेत्रको समाज घर वा (हियुलत्हिम)मा कै (ढुंगाको चारपाटे गोटा) खेल्छन् । भेला भएका महिलालाई पनि गोला प्रथाबाट तीन भागमा विभाजन गरिन्छ । यहाँ पनि तीनै समूहको धापन (टोली नाइके) नियुक्ति गरिन्छ । धापनकै अधिनमा रही खेल सुरु हुन्छ । खेलमा पहिलो (पोलो कै दोस्रो तवाङ कै तेस्रो लिटो कै र चौथो च्ह्योतोङ कै)को आ–आफ्नो तरिकाबाट नम्बर आउँछ ।

तोरन्लकोे अर्थ थकाली भाषामा फागुन महिनाको नाम हो भने मेरको अर्थ पूर्णिमा हो । त्यसैले यो पर्व फागुण महिनाको पूर्णिमालाई बीचमा पारी मनाइन्छ

तिनै नम्बरको आधारमा दिनभरि नै खेल हुन्छ । खेलमा पैसाको बाजी नराखी खानाको व्यवस्था गरिन्छ । पक्ष र विपक्षमा हार जित हुन्छ । खेल रोमाञ्चक हुँदै जाँदा आ–आफ्नो समूहले सर्मथन पनि गर्छन् । योबेला सबै महिलाले घरपरिवार, दुःखसुख बिर्सेर तीन दिनसम्म तोरन्ल गीत गाउँदै नाचेर अत्यन्तै हर्षोल्लासका साथ रमाइलो गर्छन् ।

तोरन्लकोे अर्थ थकाली भाषामा फागुन महिनाको नाम हो भने मेरको अर्थ पूर्णिमा हो । त्यसैले फागुण महिनाको पूर्णिमालाई बीचमा पारी मनाइने चाड हो । थकाली समुदायले तोरन्ल कहिलेदेखि मनाउँदै आएको सन्दर्भमा जब थकालीहरूले आफ्नो पितृ पूजा गर्न सुरुवात गर्न थाले त्यसपछि तोरन्ल चाड रूपमा अबलम्बन गदै आएको पाइन्छ । थकालीका पुरेहित ट्होम पद्धति सुरु हुनुभन्दा अगाडिदेखि नै पितृ पूजा गर्ने परम्परा थियो भन्ने प्रमाण ट्होमबाट गरिने कुल पूजा (ल्हछयोव) गर्दा स्पष्ट जानकारी हुन्छ ।

थकाली सेवा समिति नेपाल केन्द्र तोरन्लको महान् पर्वमा मनाउने सन्र्दभमा थकालीहरूको थातथलो थासाङमा थाक सात सयको मुखिया प्रणालीको मातहतमा रही सञ्चालित हुने थियो भने हाल आएर थकाली सेवा समिति नेपाल केन्द्रको स्थापना भएदेखि सो समितिको निर्देशन र समन्वयमा यो चाड मनाउँदै आइरहेको छ ।

यो चाड शुभारम्भ गर्न त्हस ताराखेल धनुषवान स्थापना गर्न एउटै साइतपारी एकरूपता ल्याउन थकाली भित्तेपात्रो समेत हेरी तिथि, मिति तोकी कम्तीमा एक महिना पूर्व नै थकाली सेवा समिति नेपाल केन्द्रले आफ्नो क्षेत्रीय समितिलाई निर्देशन परिपत्र जारी गरेको हुन्छ ।

सोहीअनुरूप प्रत्येक क्षेत्रीय समितिहरूले तोरन्ल पर्व मनाउने गर्छ । नेपालमा १९ क्षेत्रीय समिति जोमसोम, थासाङ थाक सात सय, दाना तातोपानी, बेनी, दरबाङ रातोढुंगा, बाग्लुङ, बुर्तिबाङ, गल्कोक, कुस्मापर्वत, विरठाँटी, पोखरा, काठमाडौ मुग्लिन, भरतपुर बुटवल, भैरहवा, स्याउलीबाङ, नेपालगन्ज र टीकापुर रहेका छन् भने विदेशस्थित थसेस जापान, थसेस अस्ट्रलिया, थसेस यूके गरी तीन गरी कुल २२ क्षेत्रीय समिति रहेको छन् भने अन्य देश बेल्जियम, हङकङ, अमेरिका, पर्चुगल, कोरिया आदि देशमा थकाली समाज निर्माण भएको छ ।

थकाली सेवा समिति नेपाल केन्द्रको निर्देशनमा थसेस क्षेत्रीय समितिहरूको आयोजनामा तोरन्ल मेर म्ह्रीको उपलक्ष्यमा पूर्णिमाको पहिलो दिन त्हस स्थापना गरी तोरन्ल मेरको उद्घाटन सत्र विधिवत् रूपमा क्षेत्रको थकाली समाज घरमा शुभारम्भ गर्छ ।

थकाली समुदाय हिमाल क्षेत्रमा बसोबास गर्ने जनजाति हो । हिमाली क्षेत्रमा पुस माघ महिना अत्यधिक हिमपात र जाडो हुने भएकाले र खेतीपाती पनि गर्न उपयुक्त मौसम नभएकाले उनीहरू बेंसीतिर अन्यत्र जाने गर्छ । मौसमी रूपमा फागु महिना न्यायोपन विस्तारै बढ्दै जाने कारणले पनि तोरन्ल चाड मनाउन उपयुक्त वातावरण ठान्दछन् । तोरन्ल पर्व हिमाल पारी थासाङमा बस्ने अल्पसख्यक जनजाति थकाली जातिको चाड हो । यो ठाउँ विशेषगरी जाडो हुने भएकाले जाडो छेल्न अन्यत्र व्यवसाय गर्न जाने चलन थियो । अहिले पनि यो चलन कायम नै छ ।

यो चाडमा बाहिर गएको घरपरिवारको सदस्य अनिवार्य रूपमा घर फर्कने चलन छ । यो चाडमा घरको सदस्य एक ठाउँमा जम्मा हुने आफ्नो दुःखसुख आदानप्रदान गर्ने गर्छन् भने लामो समयसम्म विवाहित छोरी माइती भेट्न जाने अवसरका रूपमा लिएको छ । आमाबाबु, छोराबुहारी, छोरीज्वाइँ, आफन्त मेलमिलाप र एकआपसमा आदर सम्मान गरी शुभकामना तथा दुखसुख अनुभव आदनप्रदान गर्ने गरिन्छ । आफन्त आपसी बेमेल भएको र श्रीमान् श्रीमतीको बेमेल भएमा यो चाडले आपसी मेलमिलाप गर्ने सहयोग पु-याउँछ, त्यसैले मेलमिलाप शान्ति सौहाद्र्रता संवद्र्धन गर्न यो चाड ठूलो महत्वपूर्ण छ । यसले जहाँसुकै बसोबास गरेको भए पनि थकाली समुदायबीच आपसी एकता एवं भावनात्मक सम्बन्ध सुदृढ गराउन योगदान पु-याएको छ ।
लेखक सुशीला शेरचन थकाली अनुसन्धान केन्द्रकी सदस्य सचिव हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 481 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै