काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नयाँ चलचित्र ‘जुलेबी’को फस्ट लुक (पोस्टर) बुधबार सार्वजनिक गरिएको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् भने चलचित्रका निर्देशक गणेश देव पाण्डे हुन् । नारी दिवसमा निकालिएको फस्ट लुक्स भने विवादित बनेको छ ।
यो चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ । यो नारी प्रधान चलचित्र रहेको निर्माण पक्षले जनाएको छ ।
एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको निर्माण पक्षको दाबी छ । चार नारी पात्रको कथा समेटिएको यस चलचित्रमा नारीको विभिन्न रूप र रंगका साथ बाँधिएको छ । चार जना नारीलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी हुन् ।
यो चलचित्रमा विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन रहेको छ । चलचित्रको कार्यकारी निर्माता नवीन भट्ट हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ ।






