अग्रज संगीतकर्मी वामी रहेनन्

चापागाउँ (ललितपुर) । संगीतका तीनवटै विधामा पोख्त अग्रज संगीतकर्मी जगमोहनमेहर कायस्थको ८६ वर्षको उमेरमा निधन भएको छ ।

समाजसेवीसमेत रहेका कायस्थ कला तथा सांस्कृतिक फाँटमा जगमोहन वामीका रूपमा परिचित छन् । ललितपुर चापागाउँस्थित निवासमा मंगलबार बिहान उनको निधन भएको हो ।

सदाझै बिहान चारै बजे उठेर नित्य भजनमा जाने वामी मंगलबार भने सुत्नेकोठाबाट निस्केनन् । परिवारका सदस्य कोठामा गएर हेर्दा मृत अवस्थामा फेला परेको उनका छोरा डा. भाष्करमेहर कायस्थले जानकारी दिए । वामी चन्द्रभैरव भजन मण्डल र एकमहिने माधवनारायण मेलाका संरक्षकसमेत थिए ।

बाल्यकालमा शिक्षा आर्जन गर्ने क्रममा भोगेको कठिनाइ मध्यनजर गर्दै उनले गरिब तथा विपन्न परिवारबाट आएका बालबालिकालाई पढाउने व्यवस्था मिलाइदिएका थिए । बज्रबाराही उच्च माध्यमिक विद्यालयमा विज्ञान संकाय स्थापना गर्न होस् वा दक्षिण ललितपुरको शैक्षिक क्षेत्र उकास्न उनको विशेष योगदान छ ।

वामी समाजसेवी मात्र नभएर सांगीतिक क्षेत्रमा समेत उत्तिकै अब्बल मानिन्थे । विशेषगरी, नेपाल भाषाको गीतसंगीतमा लामो समय बिताएका कायस्थ ‘जगमोहन वामी’का रूपमा अमर भएका छन् ।

नेपाल भाषामा चापागाउँवासीलाई ‘वामी’ भनिन्छ । रेडियो नेपालमा कार्यरत एक व्यक्तिले गीत गाउने क्रममा उनलाई यो उपनाम दिएको बताइन्छ । उनको स्वरको ‘झिन यानु…’ बोलको नेपाल भाषाको गीत चर्चित छ । गायन मात्र नभएर रचना तथा संगीतमा पनि वामीको योगदान रहेको छ ।

बाल्यकालमै पिता गुमाएका वामीले ‘आमाको प्रेरणाकै कारण सफलता पाएको’ बताउने गर्थे । २०१५–१६ सालतिर राजकुलो निर्माणमा क्रममा ‘मजदुरको नाइके’ भएर काम गरेका उनलाई रेडियो नेपालसम्म पुगेर गाउने मौका आमाकै कारण प्राप्त भएको उनी बारम्बार बताउने गर्थे ।

बज्रबाराही मन्दिरमा पूजा सामग्री बेचेर बस्ने आमाले एकदिन रेडियो नेपालको हाकिम आएका बेला ‘आफ्नो छोरा पनि गीत गाउन सक्ने भएकाले रेडियो नेपालमा लैजान’ भनेपछि भोलिपल्टै सिंहदरबार गएर स्’roundीक्षा दिएका वामी राम्रो गायकमा दरिए । सुरुवाती दिन सबैखाले गीत गाउन प्रयास गरे पनि पछि उनलाई नेपाल भाषाका गीतमा बढी अवसर मिल्न थाल्यो ।

अग्रज गायक एवं अभिनेता मदनकृष्ण श्रेष्ठदेखि गायिका निशा देशारसम्मले वामीको निधनमा दुःख व्यक्त गरेका छन् । संगीतकार जुगल डंगोल देशले कुशल संगीतकर्मी गुमाएको बताउ“छन् ।

‘हामी उहाँकै गीत सुन्दै हुर्केका हौं,’ डंगोलले भने, ‘नेवार समुदायको लोकगीत र संस्कृतिमाथि वामीको योगदान निकै महत्वपूर्ण छ, उहाँ नयाँ पुस्ताका लागि पनि ठूलो प्रेरणाका स्रोत हुनुहुन्थ्यो ।’

दुई वर्षअघि गोदावरी नगरपालिका र गोदावरी साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौंको जमलस्थित नाचघरमा ‘जगमोहन वामी एकल संगीत साँझ’ गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 513 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो