खोटाङ । खोटाङको साप्सु खोला विजयखर्क बसेरी लिफ्टिङ आयोजनाको पानी वितरण गर्ने ट्यांकी बनिनसक्दै चर्किएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा साप्सु खोलाको पानी निकाल्नका लागि सुरु गरिएको लिफ्टिङ आयोजनाको ट्यांकी निर्माणकै चरणमा चिरा–चिरा परेको हो ।
सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले निर्माण गरेको पाँचवटा पानी वितरण ट्यांकीमध्ये फिरफिरे ट्यांकी डाँडामा निर्माण गरिएको २० हजार लिटर क्षमताको फेरोसिमेन्ट ट्यांकी निर्माण नसकिँदै चर्किएको हो ।
चिरा–चिरा परेर धाँजा निस्किएको ट्यांकीलाई ठेकेदारले सिमेन्ट र बालुवाले टालटुल गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
विजयखर्कका ७ सय २५ घरधुरीलाई पानीको सुविधा दिनेगरी ५ साउन २०७९ देखि साप्सु खोला विजयखर्क बसेरी लिफ्टिङ आयोजनाको काम सुरु गरिएको थियो । ट्यांकी निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको तथा नियमित क्युरिङ (पानीले भिजाउने काम) गर्नुपर्नेमा सो पनि नगरिएको स्थानीय कमलादेवी ढकालको दाबी छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल खोटाङमार्फत भ्याट तथा पीएससहित २९ करोड १३ लाख ९८ हजार ९ सय ९० रुपैयाँमा सक्नेगरी लिफ्टिङ आयोजनाको ठेक्का लागेको हो । सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सनले ४ साउन २०७९ सम्ममा सक्नेगरी २२ असार २०७९ मा आयोजनाको सम्झौता गरेको थियो ।
आयोजनाका लागि मेनलाइन र वितरण लाइन गरी ११ वटा आरभीटी ट्यांकी, एकवटा ट्रिटमेन्ट प्लान्ट, १०८ दशमलव १५ किलोमिटर वितरण पाइपलाइन, ८ दशमलव ९९ किलोमिटर ट्रान्समिसन पाइप लाइन, एउटा कार्यालय भवन, पाँचवटा गार्ड हाउस, एउटा सम्पवेललगायतका संरचना बनाइनेछन् । हालसम्म आयोजनाको करिब २० प्रतिशत काम सकिएको छ ।
चौतर्फी विरोधपछि लिफ्टिङ आयोजनाको वितरण लाइनको चर्किएको फेरोसिमेन्ट ट्यांकी भत्काउने तयारी गरिएको सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सनका इन्जिनियर सञ्जीव शाहले बताए ।
‘ट्यांकी क्युरिङ गर्न हामीलाई पानी दिइएन, पानीको समस्याले क्युरिङ गर्न सकिएन, क्युरिङ गर्न सकेको भए ट्यांकी चर्किदैनथ्यो,’ शाहले भने, ‘अब १० हजार लिटरमाथिको फेरोसिमेन्ट ट्यांकीलाई आरसीसी बनाउने तयारी गरेका छौं ।’
चर्किएको ट्यांकी भत्काएर पुनर्निर्माण नगरे नगरपालिकाका तर्फबाट कारबाहीका लागि अख्तियारमा सिफारिस गर्ने नगरप्रमुख भट्टराई बताउँछन् ।
बस्तीनजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदार कम्पनीले बस्तीभन्दा तल जंगल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापर्बाही गरेको स्थानीय नरेन्द्र ढकाल बताउँछन् । मापदण्डनुसार पाइप पुर्ने खाल्डोको गहिराइ नबनाएको, पाइपलाइनको काम गर्ने कामदारलाई जिल्ला दररेटभन्दा कम मिटरको ७० रूपैयाँले काम लगाएर श्रमशोषण गरेको स्थानीय बताउँछन् ।
‘पहिलाको स्टिमेटअनुसार ट्यांकी निर्माण र पाइपलाइनको काम भएन । सरकारी जग्गा छँदाछँदै व्यक्तिको जग्गामा कार्यालय भवन बनाइयो । सडक फराकिलो बनाउँदा काटिने ठाउँमा ट्यांकी निर्माण गरिएको छ,’ ढकालले भने, ‘हरेक काममा एकलौटी गरियो, आयोजनाको काममा स्थानीयलाई काम गर्न दिइएन, सबै कामदार बाहिरबाट ल्याएर लगाइएको छ ।’
उपभोक्ता समितिमा सबैको नजर
अर्काेतर्फ विजयखर्कमा आयोजनाको उपभोक्ता समिति गठनदेखि आयोजना सञ्चालनमा एकलौटी भएको गुनासो गर्ने पनि उत्तिकै छन् । कांग्रेसका पूर्वजिल्ला कार्यसमिति सदस्य प्रेम खनाल र एमालेका वडा कमिटी सदस्य युवबहादुर कार्कीले १९ पुस २०७९ मा विज्ञप्ति जारी गर्दै मनोमानी ढंगले सामुदायिक वनको सहमति नलिई पहिलाको डीपीआर परिवर्तन गरेर काम सुरु गरेको भन्दै सरोज राईको अध्यक्षतामा बनेको उपभोक्ता समिति खारेज गरी सर्वपक्षीय उपभोक्ता समिति गठनको माग गरेका थिए ।
यस्तै, एमाले वडा कमिटी अध्यक्ष कार्की, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष पुष्पलाल खनाल र सरोकारवालाको पक्षबाट प्रेम खनालले २४ माघ २०७९ मा विज्ञप्तिमार्फत सोही माग दोहो¥याएका थिए । आयोजनाको काम गुणस्तरहीन भएको तथा उपभोक्ता पुनर्गठनको माग गर्दै ३ सय १२ जनाको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालयमा ४ फागुन २०७९ मा निवेदन परेको थियो ।
लिफ्टिङ खानेपानी आयोजनाका लागि पूर्ववडाध्यक्ष वीरेन्द्र ढकालले उपभोक्ता समिति गठन गरेका थिए । तर, नवनिर्वाचित वडाध्यक्ष रामबहादुर कटवालले अर्को उपभोक्ता समिति गठन गरेका थिए ।






