काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई संसद्मा प्रवेश गर्ने ढोका खुलेको छ । जसपा संसदीय दलका नेतासमेत रहेका बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्रमा उनले उपनिर्वाचन लड्ने आन्तरिक रणनीति बनाएका हुन् ।
जसपा अध्यक्ष यादवका विश्वास पात्रका रूपमा रहेका पूर्वमन्त्री यादव जसपाको महासचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका थिए । कलैयास्थित पन्नादेवी उच्च माविमा शिक्षण पेसामा संलग्न रहेका यादव २०६४ मा सांसदमा निर्वाचित भएपछि सरकारी शिक्षकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । तत्कालीन मधेसी जनअधिकार फोमरमा लागेका यादव मधेस आन्दोलनमा सक्रिय मात्रै थिएनन् । प्रत्येक मधेस आन्दोलनमा बारा, पर्सा, रौतहटलगायतका जिल्लामा ‘कमान्डर’का रूपमा भूमिका निर्वाह गर्दै आएका थिए ।
जसपाले संसदीय दलका नेता यादवलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्रलाई बारा २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने रणनीति यसअघि नै बनाएको हो । उपराष्ट्रपति रामसहाय निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुनेछ । सत्तारूढ गठबन्धनभित्र समेत बारा २ मा हुने उपनिर्वाचनमा उपेन्द्रलाई सहयोग गर्ने आन्तरिक समझदारी बनेको छ । यद्यपि निर्णय गर्न भने बाँकी नै रहेको छ ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछि उपेन्द्र सुरक्षित क्षेत्र खोज्दै उपनिर्वाचनबाट संसद्मा पुन प्रवेशको मौकामा थिए । त्यसैले बारा २ उनी आफ्ना लागि सुरक्षित रहेकाले आफ्ना विश्वास पात्रलाई उपराष्ट्रपति बनाउने निर्णय पार्टीबाट गराए ।
आमनिर्वाचनका बेला उपेन्द्रलाई बारा २ र बारा ३ बाट उम्मेदवार हुन स्थानीय पार्टी कमिटीले सिफारिस गरेको थियो । तर, उनी सप्तरी २ नै रोजेका थिए । अब उनी बारा २ बाट उपनिर्वाचन लड्नेछन् ।
तर, जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले पार्टी अध्यक्ष उपनिर्वाचन लड्ने कि नलड्ने भन्ने’bout पार्टीभित्र छलफल वा कुनै निर्णय नभएको बताए ।
‘आगामी उपनिर्वाचन’bout पार्टीभित्र अहिले कुनै छलफल वा निर्णय भएको छैन । यद्यपि कुनै पनि सम्भावनामा जान सक्छौं, त्यसका लागि संसदीय बोर्ड र क्षेत्रीय समितिको बैठक बस्छ, निर्णय गर्छ’ प्रवक्ता सुमनले भने, ‘यस’boutमा सिधै केन्द्रीय समितिले समेत निर्णय गर्न सक्छ ।’
बारा २ यादव, साह, कुशवाहालगायतका जातीको बाहुल्य क्षेत्र हो । कांग्रेस र एमालेको संगठन बलियो भए पनि जातीय प्रभाव कसरी पर्छ भन्ने कुरा गत निर्वाचनमा पनि देखिएको थियो ।
बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा संसदीय दलका नेता रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी अध्यक्ष उपेन्द्र उपनिर्वाचनमा विजयी भएर संसद प्रवेश गर्ने दाउमा छन् । तर, उपेन्द्र उपनिर्वाचनबाट विजयी हुने सहज भने छैन । गत निर्वाचनमा रामसहायसँग पराजित प्रत्यासीबीच एक जना मात्र उम्मेदवार हुने र उपेन्द्रलाई सप्तरीजस्तै पराजित गर्ने आन्तरिक रणनीति बनिसकेको छ ।
राधेचन्द्र यादव पार्टी जिल्ला सभापति हुँदा कांग्रेसको संगठन बलियो थियो । उनी त्यस क्षेत्रबाट दुईपटक सांसद निर्वाचित भए । अहिले उनकै छोरा राजेशराय यादव जिल्ला सभापति छन् । गत आमनिर्वाचनमा बारा २ पाँच दलीय गठबन्धनको भागबन्डाअनुसार माओवादी केन्द्रको भागमा परेको थियो । यहाँ कांग्रेसको उम्मेदवार थिएन । पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै रामसहाय सांसदमा विजयी भएका थिए ।
पाँच दलीय गठबन्धनका साझा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए । उता एमाले गठबन्धनबाट जसपाका रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी भए । रामसहाय यसअघिको निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी भएका थिए ।
अन्ततः ३ सय ५४ मतान्तरले माओवादी उम्मेदवार कुशवाह पराजित भए । बारा २ बाटै उम्मेदवारी दिए स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत ल्याएका थिए ।
मधेस आन्दोलनको समयमा फोरममै रहेका रामकिशोर अहिले सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने चर्चा चलिरहेको छ । उपनिर्वाचन भए बारा २ मा रामकिशोर पुनः निर्वाचनमा उम्मेदवारी दिनेगरी आन्तरिक तयारीमा छन् । जनमत पार्टीले उनलाई उम्मेदवार नबनाएको अवस्थामा पुनः स्वतन्त्र भए पनि उम्मेदवार हुने उनीनिकटका नेताहरू बताउँछन् ।
होली पर्वअघि बारा २ को गंजभवानीपुरमा भएको होली मिलन कार्यक्रममा सो क्षेत्रबाट स्वतन्त्र एवं विभिन्न दलबाट उम्मेदवारी दिने उम्मेदवार सहभागी भएका थिए । सो बैठकबाट बारा २ मा उपनिर्वाचन भएको अवस्थामा कुनै एक प्रत्यासीले मात्रै उम्मेदवारी दिने र अरू प्रत्यासीले समर्थन गर्ने विपक्षी उम्मेदवारबीच सहमति भइसकेको छ । बैठक अरुण ज्ञवालीको घरमा बसेको थियो । जसपामा रामकिशोरलगायतका उम्मेदवार सहभागी थिए ।
उपेन्द्रलाई सप्तरीजस्तै भारी मतले बारा २ मा समेत पराजित गर्ने गत निर्वाचनमा सहभागी प्रत्यासीको आन्तरिक सहमतिले उपेन्द्रलाई उपनिर्वाचनमा विजयी हुन अप्ठयारो हुने देखिन्छ ।
सम्बन्धित समाचार










