काठमाडौं । अभिनेता दयाहाङ राईको दुईवटा चलचित्र ‘जारी’ र ‘बिहे पास’को ट्रेलर एकैदिन रिलिज भएको छ । यी दुवै चलचित्र १ वैशाख नयाँ वर्षका अवसर पारेर सँगै रिलिज हुँदै छन् । सोही कारण फिल्मका निर्माताले दुवै फिल्मको ट्रेलर पनि एकै दिन रिलिज गरेका छन् । फिल्मले सँगै प्रतिस्पर्धा गर्ने चर्चा चलिरहेका बेला ट्रेलर पनि एकै दिन रिलिज गरेर जुधाइएको छ ।
चलचित्र जारीको ट्रेलर काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । जबकी बीए पासको ट्रेलर भने युट्युबबाटै सोझै रिलिज गरिएको छ । यी दुवै चलचित्र आपसमा जुध्दा दयाहाङमा फिल्मको प्रचार छाडेर शनिबारबाटै नयाँ फिल्म नाँगो गाउँको छायांकनमा व्यस्त भएका छन् ।
शुक्रबार ट्रेलर रिलिज गरिएको चलचित्र ‘जारी’को ट्रेलरमा आफ्नो जारसँग जारी नमागेर अरूसँग भागेकी पत्नीको बाउ आमासँग जारी मागिएको कथा समेटिएको छ । लिम्बु समुदायमा यो प्रचलन रहेकाले चलचित्र जारीमा यो कथा उठाइएको अभिनेता दयाहाङ राईको कथन छ ।
चलचित्र जारीलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । लिम्बु समाजमा छोरीलाई स्वतन्त्रता दिएका कारण उनीहरूले दोस्रो तेस्रो विवाह गर्दा पनि त्यसलाई सामान्यरूपमा लिइने भनाइ यो फिल्मका लेखक निर्देेशक उपेन्द्र सुब्बाको छ । आपूmले सोही कथालाई जारीमा समेटेको सुब्बाले बताए ।
दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, अनिल सुब्बा, पुष्कर गुरुङ, उपसङ्बा नेम्बाङलगायतको मुख्य भूमिका रहेको यो लिम्बु संस्कृतिमा आधारित चलचित्र रहेको निर्देशक सुब्बाले बताएका छन् । अभिनेता दयाहाङ पनि यो हांस्यप्रधान सांस्कृतिक फिल्म रहेको जिकिर गर्छन् ।
यो चलचित्रको करिब ४ मिनेट लामो ट्रेलरमा दयाहाङ र मिरुना दम्पत्तिको भूमिकामा देखिएका छन् । सम्बन्धमा खटपट आएपछि दयाहाङ अर्की युवतीतिर र मिरुनाले अर्का अभिनेता रोयदीप श्रेष्ठलाई रोजेको कथा यसमा छ । त्यसपछिको आरोहअवरोहले दयाहाङले जारी उठाउन गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ ।
जारी प्रथामा आधारित रहेको सिनेमाको टिजरमा लिम्बु संस्कृति र भेषभूषा झल्किन्छ । यो चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।
बाँसुरी फिल्मसको प्रस्तुति र कबड्डी फिल्मसको सहकार्य निर्माण भएको सिनेमालाई रामबाबु गुरुङले निर्माण, सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुले सहनिर्माण गरेका हुन् ।
यस्तै, शुक्रबार नै ट्रेलर रिलिज गरिएको प्रवेश पौडेल निर्देशित चलचित्र ‘बीए पास’को ट्रेलरमा पनि रोजगारीका लागि अभिनेता दयाहाङ राईले गरेको संघर्षको कथा देखाइएको छ । विवाह गर्न सरकारी जागिर खानैपर्ने नेपाली समाजको मान्यतालाई सिनेमाको ट्रेलरले कटाक्ष गरेको छ ।
यो चलचित्रमा दयाहाङ राईसँगै प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको मुख्य भूमिका छ ।
दम्पतीका रूपमा प्रस्तुत भएका दयाहाङ र प्रकृति दाम्पत्य संघर्षको कथा ट्रेलरमा समेटिएको छ । यो फिल्मको तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक पाटोलाई चित्रण गरेको छ । सरकारी जागिरको महत्वलाई फिल्मको कथामा जोडतोडका साथ उठाइएको छ ।
रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको यो चलचित्रलाई पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको छ । फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । जसमा शिव ढकालको छायांकन, मित्र गुरुङको सम्पादन रहेको छ । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको सिनेमाको पटकथा भने आकाश र सजनले तयार गरेका हुन् ।







