दार्चुला । जिल्लाका जनप्रतिनिधिले तीन वर्षदेखि बन्द रहेको तिंकर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।
व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य गेल्बुसिंह बोहरालगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जनप्रतिनिधि मण्डलले तिंकर नाका सञ्चालनको माग गर्नुका साथै तिंकर सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्याँस गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए ।
दार्चुलाको तिंकर नाका भएर सदियौंदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएको थियो । तर, सन् २०२० देखि कोभिड–१९ महामारीका कारण नाका बन्द छ । तिंकर नाका सञ्चालन नहुँदा दार्चुलाको व्याँस क्षेत्रमा बसोबास गर्नेहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ ।
‘तिंकर नाका तत्काल खुलाउन तथा जिल्लाका सीमावर्ती क्षेत्रका बासिन्दाको आवश्यकता सम्बोधन गर्न र स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।
टिंकर नाका भएर ५ देखि ७ दिनभित्रै ५०–६० हजार रुपैयाँ खर्च गरेर पवित्र कैलाश मानसरोवर यात्रा गराउन सम्भव रहेकाले तत्काल तिंकर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न समेत जनप्रतिनिधिको माग छ ।






