जलवायु परिवर्तनको असर र मानवीय प्रयास

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ त्यति नै विकिरण पुनः अन्तरिक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुन गई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । पछिल्लो २ सय वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बनडाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बनजस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरण वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतमा वनजंगलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरणजस्ता क्रियाकलाप पर्छन् । जलवायु परिवर्तन लामो समयको जलवायुसम्बन्धी तथ्यांकको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो । जसअनुसार बेलाबेलामा मौसममा आउने उतारचढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न ।

सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिक बताउँछन् । मूलतः जीवाश्म इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजंगलको विनास भई त्यस्तो ग्यास अवशेष गर्ने सिङकुको कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ । कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पुग्छ । जंगल फँडानी र भूक्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधिका गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन् । पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम शून्य दशमलव ७४ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै, सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १ दशमलव ८ मिलिमिटरले वृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्यांक र प्रमाणले पुष्टि गरेका छन् । विश्वव्यापी यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । हरितगृह ग्यासको प्रमुख कारकका रूपमा देखिएको कार्बनडाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बनडाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपालजस्तो विकासोन्मुख तथा अति कम विकसित मुलुकले यसलाई खप्न सक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नुपरिरहेको छ ।

जलवायु परिवर्तनको असर
जलवायु परिवर्तनको मूलकारक नेपालजस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालयलगायत मानवजीवन, सामाजिक आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको छ । हिमालय क्षेत्र नजिकका भू–भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ ।

हिमनदी विश्व तापमान वृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन् । तिनीहरूको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्छ । साबिकको समयभन्दा पहिले बिरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुन गई सिंगो पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ ।

हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ

उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगवाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराईमा अत्यधिक गर्र्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तीव्रता उन्मुख छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्याजस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुन गई व्यापक बसाइँसराइ देखापर्ने निश्चित छ र यसको सुरुवात भइसकेको पनि छ । उदाहरणका लागि वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भूक्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन् । पहाडी भागमा व्यापक बाढीपहिरो जानुका साथै ससाना खोल्सा, मूल कुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ ।

यसैगरी, तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि वृद्धि भई मलेरिया, पहेंलो ज्वरो, डेंगु, इन्सेफलाइटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँनयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ । तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकारात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अवस्थाअनुसार खेतीपातीमा सुधार गर्ने सीप र दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन् ।

नेपालमा प्रतिवर्ष औसत शून्य दशमलव ४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबैभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्छ । जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्छ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न सक्छ । उदाहरणका लागि, दक्षिणपूर्वी एसियामा करिब २२ करोड १० लाख जनसंख्या गरिबीको रेखामुनि रहेको छ । यस क्षेत्रका गरिब खासगरी सामुद्रिक तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्दछन् । यी गरिब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमिन छ अथवा यिनीहरू ज्याला मजदुरी र सामुद्रिक निर्भरताबाट जीविका चलाउँछन् । यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् ’cause उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्नेगरी, कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति थोरै वा विल्कुलै दक्षता, सीप र पहुँच पुग्दैन ।

जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ ?
हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी शून्य दशमलव शून्य २५ प्रतिशत रहेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखापरेको हो । जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करिब ६० प्रतिशत कार्बनडाइअक्साइड वनजंगलले सोस्ने गर्छ । यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजंगल बढाउने प्रयत्न गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्न वृक्षरोपणका अभियान चलाउनुपर्छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौं । त्यसैगरी, सडकको दायाँबायाँका किनारामा वृक्षरोपण गर्नुपर्छ । त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।

वायुमण्डलको तापक्रम स्थिर रहे पनि कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुँदा असन्तुलनका कारण वायुमण्डलमा तापक्रम तलमाथि हुन्छ

यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा संकटमा पर्ने निश्चित छ । त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा संकटको सामना गर्नुपर्नेछ । हाम्रो मुलुकमा रहेका हिमशृंखला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृंखलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनुपरेको छ । लगातार रूपमा चुरे पर्वत शृंखलामा भइरहेको क्षयीकरणले हाम्रो भूसन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरणमैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्छ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्छ । यसैगरी, विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरुरी छ । हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो । त्यसैले आजैदेखि ऊर्जाका रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक छ ।

विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रम वृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखापरिरहेका छन् । सन् २००७ को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९ मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्यांकलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखापरेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इंगित गरेको छ । तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 501 times, 1 visits today)

epaper

ताजा समाचार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?