वीरगन्ज । गत वर्ष ९ चैत २०७८ सालमा मधेस प्रदेश सरकारले पर्साको ठोरीस्थित जंगल रिसोर्टमा मन्त्रिपरिषद् बैठक गरेर ‘ठोरीलाई प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा’ ग¥यो तर, त्यसका लागि एक पैसा पनि बजेट विनियोजन गरिएन । सोमबार ठोरीमा मधेस प्रदेशका पर्यटनमन्त्री सुनिता यादवलाई सम्मान गरिएको छ ।
मधेस प्रदेशको ‘सुदूरपश्चिम’ भनिने ठोरी गाउँपालिकाको जंगल रिसोर्टमा सोमबार होटल तथा पर्यटन व्यवसायी संघ पर्साले मन्त्री यादव र वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्य समितिलाई सम्मान ग¥यो ।
मन्त्री यादवले आफूले कुनै आश्वासन नदिने ठोस योजना बनाएर काम गर्ने बताइन् । ‘पहिले कसले के भन्यो ? म त्यस्तो कुरा गर्दिनँ ।’ उनले भनिन्, ‘मधेस प्रदेशको समृद्धिका लागि मास्टर प्लान बनाएर काम गर्नुपर्छ ।’
होटल तथा पर्यटन व्यवसायी संघले गरेको सम्मान कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवालले मधेस प्रदेश र ठोरीमा गोरा पर्यटक नआउने भन्दै भारतीय पर्यटकलाई लक्षित गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने तर्क गरे । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अग्रवाललगायत सबै कार्य समितिका पदाधिकारी तथा सदस्य र मधेस प्रदेश सरकारको पर्यटन तथा वन मन्त्री यादवलाई सम्मान गरिएको छ ।
वीरगन्जभन्दा ७२ किलोमिटर पश्चिममा रहेको ठोरी गाउँपालिकाभित्र त्रेतायुगकी रामपत्नी सीता वनवासमा बस्दा गुफामा बसेको सीतागुफा, सिंगे पर्वत, गोले डाँडा, अमृतधारा, सेतु पहाड, रानी वन, सिद्धेनाथ मन्दिर क्षेत्र र मगर संस्कृति झल्कने तीनघरे सामुदायिक होमस्टेलगायतका पर्यटकीय स्थानहरू रहेको ठोरी गाउँपालिकाले जनाएको छ । यो क्षेत्रमा दैनिक सयौं भारतीय पर्यटक पिकनिक खान र घुमघाम गर्न आउने गरेका छन् ।






