विनोद चौधरीको सम्पत्ति ४० अर्ब बढ्यो

काठमाडौं । विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।

फोब्र्सका अनुसार अर्बपतिहरूको सम्पत्ति अहिले १ सय २२ खर्ब डलर (१२ दशमलव २ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलरले घटेको छ ।

अर्बपतिको सूचीमा पहिलो नम्बरमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट परेका छन् । लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डका ७४ वर्षे मालिक बेर्नार्डको समग्र सम्पत्ति भने बढेको छ ।

विश्वका दोस्रो धनी व्यक्तिका रूपमा रहेका टेस्ला कम्पनी र ट्वीटरका मालिक एलन मस्कसहित आधा संख्याका अर्बपतिको सम्पत्ति पहिलेको तुलनामा घटेको छ । गत वर्ष पहिलो नम्बरमा रहेका मस्कको सम्पत्ति अहिले घटेर १ खर्ब ८० अर्ब डलर हाराहारीमा झरेको छ ।

१९६५ औं स्थानबाट १६४७ मा उक्लिए चौधरी

त्यस्तै जेफ बेजोस, लरी इलिसन, वारेन बफेट, बिल गेट्स, माइकल ब्लुमबर्ग, कार्लोस स्लिम हेलू, मुकेस अम्बानी, स्टेभ बल्मेर अर्बपतिको सूचीमा शीर्ष १० नम्बरमा छन् । यीमध्ये मस्क, बेजोस, बफेट, गेट्स, अम्बानी र बल्मेरको सम्पत्ति मूल्य गत वर्षको तुलनामा घटेको छ

नेपालका विनोद चौधरी पनि अर्बपतिको १६४७औं स्थानमा परेका छन् । यसअघि गत वर्षको अप्रिल महिनासम्म उनी १९ सय ६५औं स्थानमा थिए । चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलरबराबर रहेको फोब्र्सको सूचीमा उल्लेख छ ।

सम्पत्तिको स्रोतमा विविध क्षेत्रहरूको आर्जनलाई उल्लेख गरेका चौधरी वाइवाइ चाउचाउको उत्पादक कम्पनीका मालिकका रूपमा पनि विश्वभर चिनिएका छन् । उनको कम्पनी सीजी कर्प ग्लोबलले विश्वभर हस्पिटालिटी तथा अन्य क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ ।

६७ वर्षीय चौधरी सन् २०१३ मा पहिलोपटक फोब्र्सको डलर अर्बपतिको सूचीमा प्रवेश गरेका थिए । त्यसको ठीक १० वर्षपछि सन् २०२३ को सूचीमा अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरूको सूचीमा २८२औं स्थान माथि उक्लिएका छन् । चौधरी नेपालका एक मात्र डलर अर्बपति हुन् ।

यस वर्ष चौधरीको सम्पत्ति गत वर्षको तुलनामा ३० करोड अमेरिकी डलरले बढेको फोब्र्सले जनाएको छ । गत वर्ष उनको कुल सम्पत्ति १ दशमलव ५ अर्ब डलर थियो । सीजी ग्रुप ग्लोबल, नबिल बैंक, सीजी फुड्सलगायत विभिन्न कम्पनीसँग आबद्ध चौधरीको व्यापार नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा फैलिएको छ ।

उनको स्वामित्वमा सीजी ग्रुपअन्तर्गत १ सय ४३ वटा व्यवस्थापन तथा स्वामित्व लिइएका होटेल छन् । चौधरी हाल नेपाली कांग्रेसका तर्फबाट सांसदसमेत हुन् । उनी नवलपरासीबाट निर्वाचित भएका थिए । यसअघि उनी नेकपा (एमाले) बाट संविधानसभा सदस्य बनेका थिए ।

६७ वर्षका उनको सम्पत्ति स्रोत विविध रहेको छ । उनका तीन सन्तान छन् । वाइवाइ चाउचाउको भारत, सर्बिया र बंगलादेशमा कारखाना रहेको छ । इजिप्टमा अर्को कारखाना निर्माणको चरणमा छ ।

उनका छोराहरू निर्वाणले नेपालमा तथा राहुल र वरुणले विदेश बसेर सीजी ग्रुप हाँकिरहेका छन् । फोब्र्सका अनुसार सन् २०१४ मा उनको सम्पत्ति १ दशमलव १ अर्ब डलर थियो ।

त्यसपछि २०१५ मा १ दशमलव ३ अर्ब डलर, सन् २०१६ मा १ दशमलव १ अर्ब डलर, २०१७ मा १ दशमलव ३ अर्ब डलर, २०१८ मा १ दशमलव ५ अर्ब डलर पुगेको थियो । यसैगरी, २०१९ मा १ दशमलव ७ अर्ब डलर, २०२० मा १ दशमलव ४ अर्ब डलर, २०२१ मा १ दशमलव ४ अर्ब डलर, २०२२ मा १ दशमलव ५ अर्ब डलर रहेकामा सन् २०२३ मा आइपुग्दा चौधरीको सम्पत्ति १ दशमलव ८ अर्ब डलर पुगेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 938 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी