देशमा विकास भएन, सुशासन हरायो, भ्रष्टचार बढ्यो, मुलुकले राजनेता पाउन सकेन भन्नेहरू सहर बजार, गाउँघर, चिया, चौतारी, मेलापात, भजन कृतन, विवाह, ब्रतबन्ध पूजा आदि इत्यादि सामाजिक भेटघाट वा जमघटमा चर्चा हुने गर्दछ । यसो हुनुका पछाडि राजनीतिक दल वा नेता विशेषप्रति कुनै पूर्वाग्रह वा आलोचना होइन, प्रजातन्त्र पछाडिको ३३ वर्षको इतिहासले देखाएको वास्तविक अवस्था हो । देशको अवस्थाले नागरिकहरू दिक्क छन् । काठमाडौं कर्मथलो बनाएका नेतागण, राजनीतिक दल र यिनीहरूका नेतृत्वकर्तामा विकास निमार्णको कुनै प्रस्ट भिजन देखिँदैन । मिसन छैन, एक्सन छैन । सरकार बनाउने र भत्काउने खेलमा दलहरू व्यस्त छन् ।
राजनीतिक दलमा नेपाल जस्तो कृषिमा आधारित मुलुकलाई कसरी विकास गर्ने भन्ने दृष्टिकोणको अभाव छ । भ्युटावर बनाउने, काठमाडौं केरुङ राजमार्गको गफ गर्ने, स्थानीय तहका भवनहरू निर्माण गर्ने, पानी जहाज चलाउन, कार्यालय खोलेर करोडौं ढुकटीको दुरूपयोग गर्ने, अनावश्यक प्रशासनिक खर्च बढाउने जस्ता कार्यहरू भइरहेका छन् । राज्यका यस्ता कार्यहरूले तत्कालीन रूपमा जनताले कुनै राहत पाउन सक्दैनन् । जनताको चुलोमा लोकतन्त्रको अनुभूति हुन सक्दैन । देशमा आयआर्जनका अवसरहरू नहुँदा गरिबी र अभाव टाल्न युवापुस्ता विदेसिएका छन् । खाद्यान्नमा परनिर्भर बढ्दै छ । तीन दशकमा सरकारले कुनै उद्योग स्थापना गरेको छैन । खेतीयोग्य जमिनहरू प्लटिङ गरिएको छ । राज्यको यस्तो कार्यले देश विकासको विज्ञता नभएको प्रस्ट पार्दछ ।
अहिले लोकतन्त्र, गणतन्त्र, संघीयता जे भनिए तापनि विकास र राजनीति दलले डेलीभरी दिन सकेका छैनन् । सुशासन दिन सकेका छैनन् । देशलाई भद्रगोल बनाएका छन् । देश बनाउने मार्गचित्र नभएको राजनीतिक अभ्यासका कारण आज देशको अर्थतन्त्र डामाडोल भइरहेको छ । विकसित राष्ट्रहरूको विकासको अध्ययन गर्दा उनीहरूले देशमा भएको सक्षम जनशक्तिलाई विकास निर्माणमा लगाएर राज्यले मोनिटरिङ गरेको देखिन्छ । प्राथमिकताका आधारमा विकास योजनाहरू निर्माण गरेको पाइन्छ । तर, हाम्रो देशको सन्दर्भमा राज्यले विज्ञसँग सहकार्य गर्दैनन्, सरोकार पनि राख्दैनन् । विज्ञहरूले आप्mनो ज्ञान एवं सीप देश निर्माणमा लगाउन नपाएको अवस्था छ ।
नेतागणले देशभित्रका समस्याको वर्णन होइन, समाधान खोजून् अनि पद र पैसाको दरित्रता नदेखाऊन्
साउनमा आँखा फुटेको गोरुले सधैं हरियाली देख्छ भनेझैं दलका कार्यकर्ता वा आफन्त बाहेकका विज्ञले देश निर्माणमा योगदान दिने अवसर नै पाउँदैनन् । देशको थिंकटकलाई नदेख्ने, नचिन्ने वा वास्ता नगर्ने राजनीतिक संस्कारका कारण हरेक क्षेत्रहरू लथालिंगको अवस्था छन् । देशका समस्याको बयान गरी साध्य छैन । गरिबी, अभाव, बेरोजगारी, भ्रष्टाचार, बेथितिलगायतका समस्याहरू यत्रतत्र सर्वत्र छन् । काठमाडांै उपत्यकाको अवस्थाले मात्र पनि राज्य र यसका संयन्त्रहरू कति कमजोर एवं गैरजिम्मेवार छन् भन्ने कुराको पुष्टि गर्दछ । बत्तीमुनिको अँध्यारो भनेझैं उपत्यकाका बाटाहरू, धुलो, धुँवा, अव्यवस्थित सहरीकरण, उजाड वन बाटिकाहरू र जीर्ण अवस्थामा रहेका मठमन्दिरले राज्यको उदासिनता प्रस्टिन्छ ।
५० को दशकसम्म सफा, स्वच्छ रहेका नदीहरू बाग्मती विष्णुमती, शिवमती, रूद्रमती, इक्षुमति, मनमती, हनुमति नख्खु ढलमा परिणत भएका छन् । यहाँका खोलालगायतको अवस्थाले राज्यको अनुहार झल्काउँछ । राजधानी हरेक क्षेत्रका विज्ञहरू बस्ने सहर हो । सुकिला, मुकिला, धनाड्य, सभ्य र शिक्षित समाजका रूपमा पनि चिनिन्छ काठमाडांै । यो ठाउँ शिक्षाको केन्द्र हो । सयौंको संख्यामा रहेका ज्ञान, सीप, वुद्धि, अनुशासन र कला सिकाउने विश्वविद्यालय, कलेज, विद्यालयलगायत सयौंको संख्यामा शिक्षालयहरू छन् । नियम कानुनको ज्ञान भएका विज्ञहरू यही छन् । मानव अधिकारको विगुल धन्काउनेदेखि नागरिक समाजका सुझबुझ भएकाहरू, समाज सुधारकहरू, वातावरणविद्हरू, शिक्षा तथा स्वास्थ्य क्षेत्रका विज्ञहरू, कवि, कलाकार, लेखक, पत्रकार, बुद्घिजीवी, विश्लेषकलगायतका सचेत वर्गको वासस्थान हो काठमाडांै । यो ठाउँको अवस्था त यस्तो समस्याग्रस्त छ भने दुरदराजका बस्तीहरूको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
राज्यको कार्यशैली देख्दा कवि भूपी शेरचनको कविता भाषामा घुम्ने कुर्सीमाथि अन्धा मान्छेहरूको रजाइँ भए जस्तो लाग्दछ । प्रजातन्त्र पछाडिको ३३ वर्षमा २८ वटा सरकारहरू बने । जुन जोगी आए पनि कानै चिरेका भने झैं कुनै पनि सरकारले न त सुशासन दिन सके न त विकास नै गरे । केबल दलगत आन्तरिक किचलो र सत्ताको भागबन्डाका समाचारबाहेक विकास र सुशासनका कुराहरू जनताले सुन्न पाएका छैनन् । देशको शक्ति र सत्तासम्म बाँदरका हातमा नरिवल भने झंै भएको छ ।
समाजमा राजनीतिक परिवर्तनले नागरिकको चेतना बद्लियो । समयको माग बद्लियो । तर, नेतृत्व उही, अनुहार उही, संस्कार उही ,सोच उही, कार्यशैली उही, देश कसरी विकास हुने ? समाज कसरी रूपान्तरण हुने ? आदि कवि भानुभक्त आचार्यको अलकापुरी कान्तिपुरी नगरीलाई अहिलेका राजनीतिक दलले स्वार्थको तानावाना निर्माण गर्ने ठाउँ बनाएका छन् । राजनीतिक कर्म, कुकर्म, अर्ध, अधर्म अनेक प्रकारका घटना घटित हुने केन्द्रीय स्थलका रूपमा प्रयोग गरेका छन् । सरकार बनाउने र भत्काउने खेल मैदान बनाएका छन् । भ्रष्टाचार, कमिसन, विचौलिया, ठेक्कापट्टा, मानव तस्कर, ठगीधन्धाको उर्वर भूमि बनाएका छन् । लाटा देशका गाडा तन्नेरीको रजाइँ गर्ने रणभूमि बनाएका छन् । विसंगतिको उद्गमस्थल बनाएका छन् ।
यो देश सीमित मानिसका लागि क्षमता र विज्ञताबिना नै पद, पैसा, नाम र अवसरको उद्गम थलो पनि हो । देशका आर्थिक लाभ हुने ठाउँहरूमा राजनीतिक नेक्सस वा व्यावसायिक दक्षता भएकाले मात्र उपयोग गरेका छन् । सर्वसाधारणहरू सिंहदरबार वरिपरि नै ठगिएका छन् । शिक्षालाई निःशुल्क भनिएको छ । तर, काठमाडौंमा शिक्षा अत्यधिक महँगो छ । स्वास्थ्य सेवा सर्वधारणको पहुँचमा छैन । सिंहदरबार र बालुवाटारले जनताको पक्षमा काम नगर्दा वैदेशिक रोजगारमा जाने कामदार काठमाडांैमा नै ठगिएका छन् । म्यानपावरले जसले जति लिन सक्छ त्यति पैसा असुल्ने गरेका समाचार आइरहेका छन् । यस्तो पनि लोकतान्त्रिक राज्य हुन्छ ?
काठमाडौं कर्मथलो बनाएका नेतागण, राजनीतिक दल र यिनीहरूका नेतृत्वकर्तामा विकास निर्माणको कुनै प्रस्ट भिजन, मिसन र एक्सन छैन
काठमाडांै जनताका प्रतिनिधि बस्ने ठाउँ हो । प्रधानमन्त्री, राष्ट्रपति कूटनीतिक नियोगका व्यक्ति एवं व्यक्तित्वको कर्म थलो । देशलाई नेतृत्व गर्ने र नीति निर्माताहरू बस्ने प्रशासनिक ठाउँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, सिंहदरबार, प्रतिनिधिसभालगायत व्यवस्थापिका, कार्यपालिका, सर्वोच्च न्यायपालिका जस्ता देशका शक्ति केन्द्र भएको ठाउँ । देशका शासक एवं प्रशासकले हरेक दिन देख्ने, भोग्ने, अनुभव गर्ने र यसको असरको भागिदार हुने ठाउँको अवस्थाले राजनीतिक दलको कार्य क्षमता छर्लंग हुन्छ ।
हाम्रा देशका राजनीतिक दल आत्मकेन्द्रित सोचबाट ग्रसित छन् । यिनीहरूको न त राजनीतिक सिद्घान्त छ न त दर्शन नै । न त विकासको विज्ञता छ न त देश र जनताप्रतिको उत्तरदायित्व नै । आ–आफ्नै दलभित्रको गुट, उपगुट र भाँडभैलोको व्यवस्थापनमा नै यिनीहरू व्यस्त छन् । गुट, स्वार्थ र सत्तालाई केन्द्रमा राखेर राजनीति गर्ने र यसलाई कमाइ खाने भाँडो बनाएका यिनीहरूले बकुल्लाले माछोलाई ढुके झंै सत्ताका लागि च्याँखे थाप्दै मौकामा चौका हान्ने पात्रका रूपमा देश दुनियाँले देखेको छ, बुझेको छ । यस्तो राजनीतिक संस्कार र अभ्यासका कारण देश माथि उठ्न सकेको छैन ।
आर्थिक अभावले समाजलाई जरजर बनाएको छ । महँगी आकासिएको छ । शिक्षा, स्वस्थ्य र भान्सा महँगो छ । त्यसैले समाज भौतिकवादी चिन्तनको दलदलमा फँसेको छ । कालाबजारी, व्यापारी, माफिया, विचौलिया, भ्रष्टाचारी, दलाली, कमिसनखोरहरूको बिगबिगी छ । जीवन गुजरा गर्न पनि साम, दाम, दण्ड, भेदको प्रयोग गरेको देखिन्छ । एकातिर जीवन जिउने संघर्ष छ भने अर्कोतिर समाजमा नैतिकता, परोपकार, लोकलाज हराउँदै गएका अग्रजहरूको ठम्याइ छ । पैसा कमाउने धेयमा नै भ्रष्टाचार, कालो बजारी, तस्करीलगायतका कामहरू हुने गरेका छन् ।
अन्त्यमा पाश्चात्य विद्वान् एडबिन पेगले त्यो मनुष्यभन्दा दरित्र अरू कोही छैन, जोसँग पैसा मात्र छ, भन्ने विचार राखेका छन् । पद र पैसाकै लागि मरिहत्ते गर्ने हाम्रा नेतागण, शासक, प्रशासकले देशलाई धनी बनाएर आपूm पनि सम्पन्न हुने काम गरून् । देशको समस्या वर्णन होइन, समाधान खोजून् । पद र पैसाको दरिद्रता नदेखाऊन् । शीर्ष नेतृत्वले देश विकास गर्ने ढंग नभएको कुरालाई स्वीकार गर्दै देशका विज्ञसँग सहकार्य गरून् ।






