काठमाडौं । गीतकार डा. हेमनाथ घिमिरेको नयाँ गीति पुस्तक ‘रंगिन कालो…’को प्राडा कृष्णहरि बरालले काठमाडौंमा एक समारोहबीच लोकार्पण गरेका छन् ।
सिसार साहित्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विशेष समारोहमा कार्यक्रममा प्राडा बरालसहित साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली र लेखक डा. घिमिरेले संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्राडा बरालले गीतकार घिमिरेका कृतिहरू लोकप्रिय र सन्देशमूलक तथा सरल शब्द र शब्दावली भएकाले सबै नेपालीको मन छुने धारणा राखे ।
कार्यक्रममा संगीतकार न्ह्यु बज्राचार्यले गीतकार घिमिरेले उत्कृष्ट गीत लेखेको जिकिर गरे । लेखकका सहपाठी साहित्यकार विक्रमभक्त जोशीले गीतकारसँग आफ्नो अन्तरंग सम्बन्ध रहेको बताउँदै उनको गीति लेखनको चर्चा गरे ।
गीतकार करुण थापा, संगितकार सुदर्शन विक्रम राणा, गायिका लक्ष्मी घिमिरेलगायतले घिमिरेको गीति लेखन र नयाँ गीतको चर्चा गरे ।
पुस्तकका सम्पादक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका प्रमुख उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले गीतले आफूलाई मन्त्रमुग्ध पारेको धारणा राखे ।
हेमनाथ घिमिरेद्वारा लेखिएका ५१ वटा गीत संग्रहमा समावेस भएका कतिपय गीतहरू संगीतबद्ध भएर बजारमा आउन लागेका छन् । तेस्रो देशमा बसाईं गर्न गएका भुटानी शरणार्थीमा समर्पित ‘मेरो माटो’ गीतलाई भने सुदर्शनबिक्रम राणाले संगीत दिएका छन् ।
कार्यक्रममा आनी छोइङ डोल्माले गाएको घिमिरेको ‘बन्द आँखाभित्र’ र रचना रिमालले गाएको ‘दसैं आयो भन्छन् गाउँमा’ गीतको भिडियो प्रस्तुत गरियो । सो अवसरमा बंगलादेशको पद्मा नदीको ६.२५ किलोमिटर लामो पुल निर्माण र साहित्यिक योगदानको उच्च मूल्यांकन गर्दै लेखकलाई सम्मान गरिएको थियो ।
साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञवालीको सभापतित्वमा भएको सो कार्यक्रममा घिमिरेको गीत संग्रहमा समेटिएको मेरो माटो शीर्षकको गीतमा संगीत दिएका सुदर्शन विक्रम राणाले गीत गाएका थिए ।






