काठमाडौं । संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्नेमा प्रमुख सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल अलमलमा परेका छन् । सो विधेयकलाई भोलिका दिनमा असहज नहुनेगरी बीचको बाटोबाट सहमतिमा अघि बढाउनेगरी समाधानको खोजी भइरहेको छ ।
प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीचमा मंगलबार सो विधेयकसहित संवैधानिक परिषद्सम्बन्धी विधेयक र संसदीय समितिलाई पूर्णता दिने विषयमा बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा छलफल भएको थियो । सो छलफलमा सहमतिबाटै संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु-याउन सत्ता पक्ष र प्रमुख विपक्षी दल सहमत भए पनि विधि र प्रक्रियामा भने कुनै सहमति भएको छैन ।
यसअघि गत शनिबार नेकपा एमालेले फास्ट ट्र्याकबाट सो विधेयकलाई टुंग्याउे विषयमा कांग्रेस र माओवादी केन्द्रले राखेको प्रस्ताव अस्वीकार गरेको थियो । सो बैठकमा एमालेले संसदीय समितिबाट सो विधेयक’bout छलफल गराएर ल्याइनुपर्ने अडान लिएको थियो । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाटै सो विधेयकलाई निर्णयमा पु¥याउनेगरी मुख्य दलबीच सहमति गरेर जान सकिने भन्दै थप छलफल गरेर अघि बढ्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । त्यसयता एमालेलाई पकाउन कांग्रेस र माओवादी केन्द्रको प्रयास रहँदै आएको छ ।
मंगलबारको बैठकमा सहभागी कांग्रेस सांसद ईश्वरी न्यौपानेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन मुख्य तीन दल सहमत रहेको तर विधि र प्रक्रियाको विषयमा भने थप छलफल अघि बढ्न बाँकी रहेको बताइन् । ‘यो शान्ति प्रक्रियाको साझा विषय भएकाले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ,’ कांग्रेस सांसद न्यौपानेले राजधानीसँग भनिन्, ‘तर, विधि र प्रक्रियामा कसरी अघि बढ्ने भन्ने टुंगिएको छैन, १ वैशाखमा फेरि छलफलमा बस्छौं ।’बैठकमा संघीय संसद्का संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउने विषयमा पनि छलफल भएको न्यौपानेले जानकारी दिइन् ।
मंगलबार नै माओवादी केन्द्रको संसदीय दलको बैठकमा समेत प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयक र दलहरूका बीचमा भइरहेका छलफल’bout ब्रिफिङ गरेका थिए । दलको बैठकमा प्रचण्डले सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउने तयारी गरिएको बताएका हुन् ।
‘प्रधानमन्त्रीले विवाद र असमझदारीबाट शान्ति प्रक्रिया टुंगो लगाउन गाह्रो हुनेहुँदा सहमतिबाट टुंग्याएर जाने विषयमा संसदीय दललाई जानकारी गराउनुभयो,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकमा बीचको बाटोबाट अघि बढ्ने उहाँको धारणा देखियो ।’
मंगलबार सभामुखको निवासमा भएको छलफलमा भने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली सहभागी थिए । यसैगरी, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी थिए ।






