जनप्रतिनिधि र कवही दरबार

उपनिर्वाचनको सरगर्मीसँगै बारा क्षेत्र नं. २, तनहुँ क्षेत्र नंं. १ र चितवन क्षेत्र नं. २ फेरि एकपटक चर्चाको विषय बनेको छ । चिया पसल, क्याम्पस, अस्पतालका क्यान्टिनदेखि सामाजिक सञ्जालमा चुनावकै परिवेशमा गफगाफ बढी भएको सुनिन्छ ।

यीमध्ये बारा क्षेत्र नं. २ लाई यस आलेखमा महत्वका साथ चर्चा गरिएको छ । क्षेत्र नं. २ का विभिन्न गाउँमध्ये (हाल गाउँपालिका) कवही दरबार अग्रपंक्तिमा आउँछ । यो अरू गाउँहरूभन्दा प्राकृतिक बनावट, सामाजिक संरचनाले पृथक देखिन्छ । छिमेकी राष्ट्र भारतको उत्तरी सीमानासँग जोडिएको कवही दरबारको (सुवर्ण गाउँपालिका) जनसंख्या ३५ हजार १ सय ४१ छ । यादव बाहुल्य भए पनि कलवार, मुसलमान, साह, थरका मानिसको बाक्लै उपस्थिति छ । सामाजिक सद्भावका साथ बसेका कवहीबासीहरू एक अर्काका दुःख सुखमा सधैं साथ दिन तत्पर देखिन्छन् ।

देशले चिनेका व्यक्तित्व यस उपनिर्वाचनमा सहभागी भएर सुवर्ण गाउँपालिका चर्चाको शिखरमा छ

छिमेकी गाउँका लागि भारत पस्ने प्रवेशद्वार तथा कोरोना र संकटकालमा विभिन्न तरिकाले सघाएको कवही दरवारको आज नाम र स्वरूप फेरिएको छ । अब यो कवही दरबारबाट सुवर्ण गाउँपालिका बनेको छ । सुशोभित तरिकाबाट रोपिएका सयौँ आँपका बोटहरू तथा अन्य प्रजातिका बोटहरू काटिए । यसको स्वरूप फेरिएको छ । आज यही कवही दरबार (सुवर्ण गाउँपालिका) चर्चा परिचर्चाको उत्कर्षमा पुगेको छ ।

सुवर्ण गाउँपालिका नामाकरण हुनु भन्दा पहिला यसलाई कवही दरवार भनेर चिनिथ्यो । नयाँ पुस्ता र आगन्तुकबाहेक अहिले पनि धेरैले सुवर्ण गाउँपालिका नभनी कवही दरबार नै भनेर चिनाउँछन् वा वरिपरिका गाउँलेहरू कवही भनेरै चिन्दछन् । ‘कहाँ घर बा, काका ?’ सोधियो भने युवा उमेर समूहका व्यक्तिबाट पक्कै पनि धेरैबाट कवही दरबार नै उत्तर आउनेछन् । अहिले पनि कवही दरबार भन्न यो पंक्तिकारदेखि अरूलाई पनि गर्व महसुुुुुुस हुन्छ । सुवर्ण शमशेरको दरबार भएकाले सम्भवतः यसको नाम कवही दरबार रहन गएको सहजै अनुमान गर्न सकिन्छ । प्रजातन्त्र पछिको बीपी कोइरालाको मन्त्रिमण्डलमा अर्थमन्त्रीको जिम्मेवारी पाएका सुवर्ण शमशेरको फेरि आफ्नै कथा छ । त्यसको परिचर्चा समयले जुरायो भने अर्को आलेखमा गरिनेछ ।

दरबारको पश्चिमपट्टिको पोखरी

गाउँबाट पूर्वमा अवस्थित त्यो दरबार हामी कवहीबासीको सान (मानको धरोहरका रूपमा चिनिन्थ्यो । कैयौं काट्ठा जमिनमा फैलिएको दरबारको कौशलता आफंैमा हेर्न लायकको थियो । दरबार पस्ने सडकका दुबैपट्टि पृथक खालका फूलका अग्ला अग्ला बोट, पहरा दिने, प्रहरी बस्ने अग्ला (अग्ला स्तम्भ थिए । दरबारको पश्चिमपट्टि पोखरी, दायाँ बायाँ आँपका र लिचीका रूखका लहरा थिए । हाम्रो चेत आएदेखि ती आँपका बगैंचा विभिन्न कार्यका लागि प्रयोग हुन्थे । जन्ती बिसाउनेदेखि नाचगान जस्ता मनोरञ्जनात्मक प्रयोजनका लागि ती बगैंचा पयोग गरिन्थे । स्कुलपछिको बाँकी समय बिताउने स्थल हुन्थे । खेल्ने चौर, बम्बै, मालदेवा, जार्दा, दालमा रानी अरू थुप्रै कुन खाने हो खान पाइन्थ्यो । भुँइमा झरेको सबै हाम्रै, गुलेली, चप्पले र मोजाको बलले झारेको पनि आफ्नै । सात टोलका आराम गर्ने थलो यहाँ हुन्थ्यो । आँपहरू खान नसकेर कुटुम्ब कहाँ पठाइन्थ्यो ।

प्रविधिको विकाससँगै मानिसको सोचको विकास भयो सायद । अहिले ती आँपका बोट छैनन् । दरबार छैन, खेलमैदान छैन । आँप किनेर खाने अवस्थाको सिर्जना भएको छ । अहिलेको नयाँ पुस्ताका लागि किंवदन्ती बनेको छ । त्यहाँ स–साना घरहरू बनेका छन्, इँटा उद्योग खोलिएको छ । अवशेषका रूपमा उभिएका लिचीका बोटले संगिनी गुमाएका छन् । भलाकुसारी गर्ने ती आँपका बोटहरू छैनन् । कुन दिन ती रूखहरू पनि काटिएलान् त्यति बेला कवही दरबार भन्ने मानिसहरू ‘दरबार’भन्दा नयाँ पुस्ता अचम्बित होलान् । यसलाई बचाउन सकिन्थ्यो तर गाउँका अग्रजले सकेनन् । आधुनिक युगमा सहरिया जीवनबाट आकुलब्याकुल भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व गाउँमा गई त्यहीँको रैथाने खाना खाने, स्वच्छ वातावरणमा केही दिन भए पनि बस्नेको संख्या दिनानुदिन बढ्दै गएको परिवेशमा यसलाई पनि होमस्टेको परिकल्पना र यथार्थमा परिवर्तन गर्न सकिन्थ्यो ।

राजेशको मिठाई र चिया, सरफुदिन काका र प्रह्लाद काकाको पान पसलमा अवश्य कवही दरबारको चर्चा परिचर्चा होला

तराईको सम्मभूभाग स्थानीय उत्पादित माछा, दूध, दही, कुखुरा नरुचाउने कमै हुन्थ्यो होला । सुवर्ण शमशेरको दरबारलाई होेमस्टे बनाउन सकिन्थ्यो र त्यसको वरिपरि सयौं विगा फैलिएको बगैंंचामा विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप गर्न सकिन्थ्यो । घोड सवार, लिगलिग दौड जस्तै दौड प्रतियोगिता, टिकावास (एउटाले अर्काको घोडामुनि कसेर राखेको हात छुट्याउने स्थानीय खेल), पौडीबाजी वा भनौं एक मिनेटभित्र कसले कति आँप टिप्न सक्ने जस्ता प्रतियोगिता गराएर आन्तरिक र बाह्य पर्यटक भिœयाउन सकिन्थ्यो । मधेसप्रति अमेरिकन मोहलाई हाम्रो क्षेत्रले सार्थक बनाउन सहयोग गथ्र्यो होला, स्थानीय रोजगारदेखि, शिक्षा स्वास्थ्यमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्थ्यो होला । त्यता हाम्रा अग्रजको ध्यान गएन । उनीहरू दूरदर्शी पनि भएनन् । परिणामतः दरबारको अस्तित्व समाप्न भयो, रूखहरू काटिए, कित्ता काट गरेर स–साना घरहरू बनाइए । दरबारका इँटाहरू अहिले ती घरमा अवशेषका रूपमा देख्न पाइन्छ । यो कवहीले डाक्टर, इन्जिनियर, नागरिक उड्ययनका प्रबन्धक, नेपाल प्रहरीका एसपी वनका डीजी., संघीय सांसद, प्रदेश सांसद, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जस्तो देशका लब्ध प्रतिष्ठित व्यक्ति जन्मायो तर ती सबै आत्मकेन्द्रित भए । आफ्नै व्यक्तिगत विकासमा रमाए । कवहीलाई चिनाउने दरबारलाई सामूहिक प्रयासले जोगाउन सकिन्थ्यो÷सकिएन ।

अहिलेको उपनिर्वाचनमा कवही (हाल सुवर्ण गाउँपालिका) जनप्रतिनिधिको चासोको विषय बनेको छ । प्रतिनिधिको हार जितमा ठुलै प्रभाव पार्ने सुवर्ण गाउँपालिका हो । आर्थिक रूपले सवल मानिने यो पालिका (तत्कालीन कवही)ले वरिपरिका गाउँमा कर्जा दिने, व्यवहार चलाइदिने भएकाले यसको प्रभाव आज पनि कम भएको देखिँदैन । देशले चिनेका व्यक्तित्वहरू यस उपनिर्वाचनमा सहभागी भएर हाम्रो गाउँपालिका चर्चाको उत्कर्षमा अहिले पुगेको छ । समाजवादीका उपेन्द्र यादव (मधेसका लागि नामै काफी छ), सबैले चिनेका नेता, शिवचन्द्र कुशवाह (माओवादीबाट पहिलो प्रतिनिधिसभा सांसद), हाल जनमतका उम्मेदवार, पुरुषोतम पौडेल (मधेसमा एमालेका खम्बा मानिने), त्यस्तै प्रहरी सेवामा अब्बल र सक्षम छवि बनाएका भूतपूर्व एआईजी रमेश खरेल (रास्वपा) जस्ता व्यक्ति प्रतिस्पर्धामा उत्रिएका छन् ।

यी जनप्रतिनिधि पक्कै पनि कवहीमा आमसभा गर्लान् । चर्को घाम छल्न त्रिपालको व्यवस्था गर्नुपर्ने होला । गर्मीले उकुसमुकुस भएको भीडले त्यति बेला ती आँपका बोट पक्कै पनि सम्झेलान्, जसले त्यस्ता हजारौंलाई शीतलता प्रदान गथ्र्यो । राजेशको मिठाई र चिया, सरफुदिन काका र प्रह्लाद काकाको पान पसलमा अवश्य कवही दरबारको चर्चा परिचर्चा होला । यस्ता चर्चा परिचर्चा सुनेपछि अब चुनिने जनप्रतिनिधिले पक्कै पनि कवहीलाई पृथक ढंगले अगाडि बढाउलान् ।

तपाइको प्रतिक्रिया
(Visited 637 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारको सम्पर्कमा पुगे काठमाडौंका १८१६ सुकुमबासी परिवार