बलियो कम्युनिस्ट पार्टीको गफ

बलियो कम्युनिस्ट पार्टी बनाउने भन्दै अहिले कम्युनिस्ट पार्टीका केही नेताले एकखालको अभियानै सुरु गरेको अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बलियो कम्युनिस्ट पार्टी बनाउने कुरालाई जोडतोडले उठाइरहेका छन् । नेत्रविक्रम चन्द विप्लवले पनि कम्युनिस्ट केन्द्र बनाउने कुरामा बेलाबेलामा हो मा हो मिलाउने गरेका छन् । कुनै कम्युनिस्ट नेताको स्मृति वा जन्मदिवस मनाउँदा वा कम्युनिस्टसँग सम्बन्धित कार्यक्रममा प्रायः यस्तै कुरा हुने गर्छ । यसकारण अहिले आएको अभिव्यक्ति नयाँ होइन । विगतमा पनि बृहत् कम्युनिस्टका कुरा उठ्थे । कम्युनिस्ट नेता भएसम्म कुरा गर्ने एकता हुने र फेरि विभाजन हुने घटनाक्रम जारी रहन्छ ।

कम्युनिस्ट पार्टीमध्ये सबैभन्दा ठूलो नेकपा एमालेले पछिल्लो समय बृहत् कम्युनिस्ट एकताको कुरा गरेको छैन । कम्युनिस्ट नामका अन्य पार्टी क्रमशः सानो हुँदै गएकाले पनि होला उसले तत्काल बृहत् कम्युनिस्ट पार्टीको महसुस गरेको छैन । अर्को कुरा प्रतिस्पर्धी पार्टी नेपाल कांग्रेस पनि आफैंमा मजबुत नभएको र अन्य कम्युनिस्ट पार्टी कुनै पनि बहानामा कुनै पनि बेला फेरि फुट्न र जुट्न सक्ने भएकाले पनि एमाले बलियो कम्युनिस्ट पार्टीका सन्दर्भमा अहिले मौन छ । यही स्थितिमा चुनाव भएमा आगामी दिनमा राम्रै परिणाम आउँछ भन्ने भ्रम पनि छ एमाले नेताहरूमा । अहिले जो नेताहरूले कम्युनिस्ट केन्द्र, बृहत् एकता वा बृहत् समाजवादी मोर्चा भनेर भनिरहेका छन् । वास्तवमै मुलुकको भलो गर्न वा कम्युनिस्ट पार्टीलाई साँच्चै बृहत् बनाउनका लागि हो भनेर विश्वास गर्न सकिँदैन । २०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी माओवादी अहिले राप्रपा वा स्वतन्त्र पार्टीसँग प्रतिस्पर्धा गर्ने स्थितिमा पुगेको छ तर, पनि माओवादी किन यति धेरै कमजोर भयो भनेर समीक्षा गरेको पाइँदैन । नेपाल नेतृत्व समाजवादीको पनि हालत उस्तै कमजोर छ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने हैसियत समेत गुमाएपछि बृहत् एकताको कुरा उठेको हो ।

यदि जनमतकै कुरा गर्ने हो भने पछिल्ला हरेक निर्वाचनमा कम्युनिस्ट पार्टीको उपस्थिति लोभलाग्दो छ । तर, टुक्रा टुक्रामा विभाजित कम्युनिस्ट चुनावपछि सरकार बनाउने बेलामा भने राप्रपा, कांग्रेस वा अन्य कुनै दलको फेरो समाउन बाध्य छन् । यो स्थिति आउनुमा जिम्मेवार नेता नै हुन् । झन् पछिल्लो समय त चुनाव अघि नै गैरकम्युनिस्ट पार्टीसँग साँठगाँठ गरेर चुनावमा जाने र भने जस्तो परिणाम नआएपछि कम्युनिस्ट केन्द्र वा बृहत् कम्युनिस्ट पार्टीको कुरा गर्ने प्रवृत्ति बढेको छ । बृहत् कम्युनिस्टका कुरा गर्ने नेताले यो पनि बुझ्न जरुरी छ । अब नेताको टाउको जोडेर ठूलो ब्यानर बनाए जस्तै नेता जोडिँदैमा पार्टी ठुलै बन्ने सम्भावना छैन । नेताले आफ्नो टाउको जोड्नुअघि जनतालाई पार्टीसँग जोड्ने सम्भावना पनि खोजे भने बृहत् एकता सम्भव होला अन्यथा गफैमा सीमित हुने निश्चित छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान