लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित चण्डी गाउँमा भिन्न दृश्य देखिएको थियो । दलित र गैरदलितले सँगसँगै खाना पकाएको दृश्यले धेरैको ध्यान खिचेको थियो । संविधान र कानुनले छुवाछुतको अन्त्य गरेको धेरै भए तापनि व्यवहारमा भने अझै पनि हेला होचोको व्यवहार कथित माथिल्लो भनिने जातले गर्दै आएका कारण त्यो विभेद अन्त्यका लागि सहभोजका आयोजना गरिएको थियो ।
समतामूलक समाज लमजुङको आयोजना तथा बेंसीसहर नगरपालिकाको सहयोगमा गरिएको सहभोज कार्यक्रममा दलित र गैरदलितबीच अभिमुखीकरण समेत गर्दै उनीहरूले सँगसँगै पकाएर सँगसँगै खाने काम गरेका हुन् ।
सो अभिमुखीकरण कार्यक्रमको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै दलित गरिब भए पनि अत्यन्तै स्वाभिमान हुने भएकाले सबैले स्वाभिमानपूर्वक बाँच्ने र बाँच्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने बताए । उनले पेसाका आधारमा जातको विभाजन गरिएकोमा यसलाई कसैले पनि छुवाछुतको दृष्टिले हेर्न नहुने बताए ।
उनले सभ्यताको विकास नभएका विकट गाउँहरूमा अझै पनि विभिन्न खालका कुरीति र छुवाछुतले जरा गाढेको भन्दै वैज्ञानिक युगमा यसको पछि लागेर कसैको भलो नहुने उल्लेख गरे । समग्रमा गैरदलितभन्दा दलित समुदायमा बढी गरिबी रहेको भन्दै पिछडिएका समुदाय अब अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
बेंसीसहर नगरपालिका–३ का अध्यक्ष चित्रबहादुर दनाईले छुवाछुतमुक्त अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समतामूलक समाजका जिल्ला अध्यक्ष एवं बेंसीसहर नगरकार्यपालिका सदस्य हिरालाल विश्वकर्माले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै विभेद के हो ? र कसरी हुन्छ ? भन्ने’bout जानकारी गराएका थिए । उनले विभेदका कसुर गरे कानुनअनुसार कारबाही हुने संविधानमै उल्लेख भएकाले यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।
समतामूलक समाजका जिल्ला उपाध्यक्ष सन्तोष विकको अध्यक्षतामा भएको कार्यक्रममा यशोब्रह्म माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य बराल, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य विमला हिमालीलगायतले शुभकामना मन्तव्य राखेका थिए । बेंसीसहर नगरकार्यपालिका सदस्य श्रीनाथ दुलालले स्वागत तथा सोही संस्थाका सचिव सरोज विश्वकर्माले सञ्चालन गरेका थिए ।






