सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र धनगढी बजारमा व्यावसायिक प्रायोजनका लागि बनाइएका घर तथा सटर खाली भएपछि व्यवसायी चिन्तित छन् । कुनै समय पसल, गोदाम, कार्यालय वा अन्य कुनै पनि व्यावसायिक प्रायोजनका लागि घर, सटर भाडामा लिन तँछाडमछाड गर्नेहरू अहिले मौन भइदिँदा घर भाडामा लिने र दिने दुवै तनाबमा छन् । भूकम्प, नाकाबन्दी र कोभिडको संक्रमण भोग्दै आएका नेपाली व्यवसायी पछिल्लो समय आर्थिक मारमा छन् । बैंकको चर्को ब्याज र क्रयशक्तिको अभाव जस्ता कारण अहिले कतिपय व्यवसायी पसलको भाडा नै तिर्न नसक्ने अवस्थामा पुगेर बन्द गर्न विवस छन् ।
धनगढी मात्रै हैन, काठमाडौं, पोखरा चितवनजस्ता व्यापारिक चहलपहल उच्च हुने बजारमा अहिले पहिला जस्तो उत्साह पटक्कै छैन । आमव्यवासायीको एउटै खालको गुनासो हुने गर्छ । ‘व्यापार छैन, बैंकको चर्को व्याज तिरेर भाडा तिर्नै सकिएन ।’ पछिल्लो समय कतिपय बैंकको लोन र घरभाडा तिर्न नसकेर विस्थापित भएका छन् भने कतिपय थप ऋणी हुनबाट जोगिन भन्दै व्यापारबाट पलाएन भएका छन् । जसले ऋण लिएको छैन दुई चार महिना आफ्नै खल्तीबाट भाडा ति¥यो र अब सकिन्न भन्दै व्यापार छाड्यो ।
उसका ’boutमा धेरै चिन्ता नलिँदा पनि हुन्छ । समय सहज भएपछि ऊ फेरि पनि व्यापार व्यवसायमा फर्किने सम्भावना हुन्छ । जसले बैंकबाट ऋण लिएको छ र बैंकको ऋण तिर्न नसकेकै कारण व्यापार व्यवसायबाट पलायन भएको छ भने उसका ’boutमा राज्य गम्भीर हुनुपर्छ । कुनै पनि व्यक्तिलाई उद्यमशील हुन प्रेरित गर्ने राज्यले व्यापारका शीलशीलामा उसले सामना गरेका चुनौती पार गराउनमा पनि सहयोगी भूमिका खेल्न सक्नुपर्छ ।
कुनै पनि सहरमा भटाभट सटरहरू खाली हुँदै जानु आफैंमा एउटा गम्भीर समस्या हो । व्यापार कुनै पनि सहरका लागि अत्यावश्यकीय आवश्यकता मानिन्छ । यदि व्यापार शून्य भयो भने त्यो सहर सहर जस्तो हुँदैन । आफ्नो क्षेत्रमा स्थापित सहरको अस्तित्व जोगाउन स्थानीय सरकारको पनि भूमिका सकारात्मक हुन जरुरी छ । आफ्नो क्षेत्रमा व्यापारिक चहलपहल कसरी कम भयो र के गरेर बढाउन सकिन्छ ।
स्थानीय सरकारको प्रतिनिधत्व गर्नेहरूले अब यस विषयमा अध्ययन गर्नुपर्छ । चुनावी घोषणापत्रमा आर्थिक समृद्धि भन्ने शब्दलाई प्राथमिकताका साथ राख्नेले अब आफ्नो क्षेत्रको आर्थिक गतिविधि बढाउन पनि केही नीतिगत र व्यावहारिक काम गर्नैपर्छ । जुन निर्णयले फेरि सुस्ताएका सहरमा बहार आओस् ।






