काठमाडौं । चलचित्र दुई कदमको मुस्ताङबाट दुई साता अघि छायांकन सुरु भएको थियो । त्यही केही दिन छायांकन गरेर पूर्वीनेपालतर्फ यो चलचित्रको युनिट लागेको थियो । यतिबेला आफ्नो चलचित्रको छायांकन धरानमा भइरहेको यसका निर्देशक उदय सुब्बाले बताएका छन् ।
‘यसपटक वैशाखमै झरी परेका कारण केही दिनबाट वर्षाले छायांकन प्रभाव पारे पनि ८० प्रतिशत छायांकन सकिएको छ । फिल्मको हाल पूर्वका धनकुटा, तेह«थुमको वसन्तपुर, इलाम, झापापछि अहिले धरानमा सुटिङ भइरहेको छ,’ निर्देशक सुब्बाले राजधानीलाई बताए । अबको एक सातामा यो चलचित्रको छायांकन सक्ने पनि उनले जनाएका छन् ।
दर्शकलाई एउटा राम्रो प्रेमकथाको फिल्म दिनका लागि आफूहरूले मेहेनत गरिरहेको पनि निर्देशक सुब्बाले बताएका छन् । सिनेमाले यसपटक नेपालका धेरै सुन्दर स्थानलाई पर्दामा प्रस्तुत गर्ने पनि यी निर्देशकले बताए । यो चलचित्रलाई आगामी भदौमा रिलिज गरिने योजना रहेको पनि सुब्बाले बताए ।
अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आलेमगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बुलगायतका कलाकारको अभिनय छ ।
दयाराम घिमिरेको कथा रहेको प्रेम कथात्मक फिल्ममा तारादेवी लिम्बुको निर्माण छ । बिक्रम डीसीको छायांकन रहेको दुई कदममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।






