महिला हत्यामा संलग्न तीन जना सार्वजनिक

गुल्मी । गुल्मीमा महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ मा गंगा होटल सञ्चाल गर्दै आएकी ५८ वर्षीया गोपालकुमारी शेरचनको १४ माघमा हत्या भएको थियो । उनको हत्या आरोपितलाई गुल्मी प्रहरीले पक्राउ गरी बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

बाग्लुङ जिल्लाको बडिगाढ गाउँपालिका–३ की शेरचनले मुसिकोटमा कृष्णहरि सापकोटाको घर भाडामा लिई होटल सञ्चालन गर्दै आएकी थिइन् । प्लास्टिकको कार्टुन टेपले हातखुट्टा र मुख बाँधिएको मृत अवस्थामा माघ १५ गते शेरचनको शव होटलमै फेला परेको थियो ।

हत्या अभियोगमा प्रहरीले बाग्लुङको बडिगाढ गाउँपालिका–७ घर भई हाल गलकोट नगरपालिका –१ बस्ने ३५ वर्षीय थम्मन घर्ती, मकवानपुरको साविकको बेतिनी गाविस–७ घर भई हाल काठमाडौंको चन्द्रागिरी नरपालिका–१० बस्ने ४९ वर्षीय गोरे भनेर चिनिने लोकबहादुर दलार्मी र सिन्धुपलान्चोकको बाह्रबिसे नगरपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बस्ने देव लामा भनेर चिनिने शिवबहादुर तामाङलाई पक्राउ गरेको छ ।

थम्मनलाई प्रहरीले गत वर्षको फागुन २२ गते, दर्लामीलाई फागुन २३ र तामाङलाई चैत २८ गते पक्राउ गरेको थियो । घटनामा अझै एक जना फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए । पक्राउ परेका तीनै जनाको पेसा ज्याला मजदुरी हो । अभियोगी तीनै जनालाई बुधबार गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी पुर्पक्षका लागि कारागार पठाइएको छ । बुधबार नै अदालतबाट पुर्पक्षका लागि पत्र आएकोले अभियुक्तलाई र थप अनुसन्धान भइरहेको प्रधानले बताए ।

हत्या आरोपित दुई जनाको यसभन्दा अगाडि पनि मुद्दा रहेको खुलेको छ । प्रहरीले दिएको जानकारीअनुसार लोकबहादुरविरुद्ध २०६२ सालमा अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला प्रहरी परिसर ललितपुर एवं २०७५ मा चोरी तथा डाँका कसुरमा इलाका प्रहरी कार्यालय, मेलम्ची सिन्धुपलाञ्चोकले मुद्दा चलाएको छ । त्यस्तै शिवबहादुरविरुद्ध २०६२ सालमा चोरी तथा डाँका कसुरमा इलाका प्रहरी कार्यालय, मेलम्ची, सिन्धुपलान्चोकले मुद्दा चलाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द