गौतम बुद्ध : एक महामानव

विक्रम संवत् २०८० साल वैशाख पूर्णिमा गौतम बुद्धको २५६७औं जन्म जयन्तीको दिन हो । २०८० साल वैशाख २२ गते गौतम बुद्धको जन्मजयन्ती हो । गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालको मध्यदक्षिणको तराईमा पर्छ । वैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । उनी जन्मेको सातौं दिनमा आमा मायादेवीको मृत्यु भएपछि कान्छी आमा प्रजापती गौतमीले उनको लालनपालन गरेकी थिएनन् । १६ वर्षको उमेरमा गौतमको विवाह सुप्रबुद्धकी छोरी यशोधरासँग भयो र २८ वर्षको उमेरमा उनको छोरा राहुलको जन्म भयो । वैशाख पूर्णिमा गौतम बुद्धको जन्म हुनु, त्यही तिथि वैशाख पूर्णिमाका दिन गौतमले बोधिसत्व प्राप्त गर्नुु र त्यही वैशाख पूर्णिमाको दिनमा ८० वर्षको उमेरमा भिक्षु आनन्द तथा अन्य भक्तजनसँग वार्तालाभ गर्दागर्दै कुशीनगरमा उनको स्वर्गारोहण हुनु यो एक असाधारण दैविक घटना हो । सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा वैराग्य भएर श्रीमती, छोरा, परिवार, दरबार, राजपाठ छोडेर ज्ञानको खोजीमा लागे । धेरैदिनको ज्ञानको खोजीपछि गौतम बुद्धले बोधिवृक्षमा तपस्या गरेर उनले बुद्धत्व प्राप्त गरे । सम्पूर्ण खराबीबाट मुक्त रहनु, मनलाई स्वस्त राख्नु, जे राम्रो लाग्छ त्यो गर्नु भन्ने विचारमा आधारित भएर सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीव, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि आदि उपदेशहरू गौतम बुद्धमा सिद्धि वाणीहरू हुन् । उपदेशलाई ठीकसँग प्रयोग गर्न अभिप्रेरित गराउन गौतम बुद्धले आफ्ना भक्त बौद्ध भिक्षुलाई संसारमा धर्म प्रचार गर्न धर्मदूतका रूपमा पठाउने चलन चलाए ।

बुद्धले बताएका उपदेशलाई लिखितरूपमा उतारिएको थिएन । बुद्धको शेषपछि उनका अनुयायीले बौद्ध सम्मेलन गरेर त्यसपछि बौद्ध उपदेशको संग्रह गरे । पहिला, दोस्रो र तेस्रोपटक गरिएको सम्मेलनबाट तयार भएको ग्रथलाई ‘त्रिपिटक’ भनिन्छ । यही त्रिपिटकका आधारमा बुद्धधर्मको आधार ग्रन्थ तयार भयो । त्रिपिटकका तीनवटा नाम भए सुत्त पिटक, विनय पिटक, र अभिधम्म पिटक भए । बुद्धका उपदेश ‘धम्मपद’मा संग्रहीत छन् । धम्मपद बुद्धका उपदेशका प्रसिद्ध संग्रह मानिन्छ । सम्यक्् व्यायामअन्तर्गत विपश्यना ध्यान गौतम बुद्धद्वारा देशित चित्त विशोधन विधि हो । यसलाई बुद्ध योग भने पनि हुन्छ । गौतम बुद्ध बाँचिरहेको अवस्थामा बुद्ध धर्म’bout कुनै विवाद उठेको थिएन । बुद्धको अर्थ हो ज्ञान प्राप्त गरेको व्यक्ति हो । संसारिक दुःखबाट स्वतन्त्र बनेर गौतम बुद्धले बोधिसत्व प्राप्त गरिसकेपछि गौतम बुद्धको ज्ञानद्वारा प्रभावित भएका बौद्ध संघका मानिसले आ–आफ्नै पाराले बुद्धका उपदेशलाई अर्थ लगाउन थाले । यसले गर्दा बौद्धधर्म अपरम्पार भवसागर जस्तो लाग्छ ।

समय परिस्थितिले बुद्धधर्म हीनयान, महायान आदिमा विभक्त भयो । त्रिपिटकमा उल्लेखित उपदेशका अनुयायीहरू हीनयानी भए । हीनयानीलाई थेरवादी बौद्ध मानिन्छ । थेरवादीहरू बुद्धधर्मले बोधीज्ञानलाई मुख्य आधार मान्ने गर्छन् । थेरवादीहरू बौद्धबाहेक अरू धर्मसँग सम्बन्ध जोड्न चहाँदैनन् । हीनयान अर्थात् थेरवादीको पहिरन केही पहेंलो र कपाल मुडुलो हुन्छ भने महायानवादीहरू केही कलेजी रंगको पहिरन प्रयोग गर्छन् । कपाल नकाट्ने, शाकाहारी, मांसाहारी, देवी देवताको समेत पूजाआरधाना गर्ने हुन्छन् । गुबाजुहरू महायानवादी हुन् । पहेंलो वा रातो लुगा नगलाउने जातका नेपालीहरू पनि कतिपय बौद्ध धर्मका पालक छन् । बुद्धका उपदेशसँग प्रभावित भिक्षु, भिक्षुणीलगायत बुद्ध धर्म र संघलाई आत्मसाथ गरी ‘बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि’ भन्छन् । बौद्ध धर्ममा सम्यक््को ठूलो महत्व छ । सम्यक््को अर्थ हो–राम्रो होस गरेर गर्ने कर्म हो । गौतम बुद्धले बताएअनुसार प्राणी हिंसा नगर्नू, नचार्नू, ब्रम्हचार्य पालन गर्नू, झूठो नबोल्नू, लागूपदार्थ सेवन नगर्नू, कुबेला भोजन नगर्नू, फूलमाला आदि सुगन्धित वस्तुहरू धारणा नगर्नू, उच्चासनमा बस्ने, सुत्ने नगर्नू, सुनचाँदी जस्ता मूल्यवान् धातुको लोभ नगर्नू भन्ने उपदेशका अनुयायीहरू थेरवादी मानिन्छन् । श्रीलंका, थाइल्यान्ड, म्यानमार (बर्मा), कम्पुचिया, लाओस, भियतनाम आदिमा रहेका भिक्षुहरू थेरवादी हुन् भने चीन, रुसमा रहेका बौद्धहरू महायानवादी हुन् । बौद्धहरूले तीर्थ तथा धामका रूपमा लुम्बिनी, बोधगया, सारनाथ, कुशिनगरलाई मान्छन् । बुद्धको जन्मथलोका रूपमा लुम्बिनी, तपस्यास्थलका रूपमा बोधगया, ज्ञान प्राप्तिपछि सर्वप्रथम भिक्षुलाई उपदेश दिएको स्थलका रूपमा सारनाथ र देह त्याग गरेको स्थल कुशिनगर हुन् । यी पवित्र स्थल मानिन्छन् ।

वैशाख पूर्णिकै दिन बुद्धको जन्म, बोधिसत्व र महानिर्वाण प्राप्ति भएको थियो

गौतम बुद्धका पिता शुद्धोधन हिन्दु संस्कारमा हुर्केका र गौतम बुद्ध पनि हिन्दु संस्कारमा परिचित भएकाले हीनयानहरू हिन्दु तथा बौद्ध बीचमा अन्तरसम्बन्ध कायम राख्न जोड दिन्छन् । हिन्दु र बौद्धमा हिन्दु अत्यन्त सौहार्दताका साथ धार्मिक सांस्कृतिक सम्बन्ध कायम छ । वैदिक हिन्दु तथा बौद्धहरूमा मन्त्र, तन्त्र र यन्त्रबीच गहिरो सम्बन्ध छ । लिच्छविकालमा नेपालका राजाले बौद्धधर्मलाई ठूलो मान्यता गर्थे । लिच्छवि राजा जयदेवले पशुपति अभिलेखको वंशावलीमा बृषदेव राजालाई ‘बौद्धधर्मको पक्षपात गर्ने’ भन्दै प्रसंशा गरिएको छ । मानदेव प्रथमका पालाको चावहिलको अभिलेखमा किन्नरी भन्ने आइमाईले बौद्धसँगका भक्तहरू र भगवान् बुद्धको पूजाका लागि खेत दान गरेको कुरा बताइएको छ । राजा शिवदेव प्रथमले आफ्नो नाउँमा शिवदेव बिहार राखेका र अंशुवर्माको समयमा दक्षिणकालीको भेकतिर भिक्षुको उपयोगका लागि धारो बनाएका बयान अभिलेखमा पाइन्छ । लिच्छविकालमा नै तिब्बतसँग बौद्ध धर्मकै कारणले सांस्कृतिक सम्बन्ध बढाएको थियो । तिब्बत त महायानी बौद्धहरूको आराधना केन्द्र नै बनेको छ तर चीनको बेइजिङमा पनि नेपालका अरनिकोले निर्माण गरेको बौद्ध चैत्य क्षेत्र, लामा टेम्पल क्षेत्रमा भिक्षुहरू यन्त्रतन्त्र देखिन्छन् । ‘ओम पद्ये हुँ’ मन्त्र चौतर्फी रेकडिङबाट पनि गुञ्जायमान गराइन्छ । चैत्र र २०७१ सालको वैशाख महिनामा आफूले चीनको भ्रमण गरेर चीनमा बौद्धधर्मप्रतिको आस्था बढेको देख्न पाइयो । यसरी बौद्ध धर्मले अन्तर्राष्ट्रिय जगत्मा प्रभाव बढ्न लागेको थियो । मल्ल राजाहरू हिन्दु तथा बौद्ध दुवै धर्मलाई आफ्नो मातृधर्म जस्तो मान्यता गर्थे । पृथ्वीनारायण शाहले राष्ट्रियकरणपछि काठमाडौं उपत्यकालगायत नेपालमा अवस्थित गुम्बा, विहारको संरक्षण गर्ने नीति लिएका थिए । राजा महेन्द्रले २०१३ सालको लुम्बिनी भ्रमणपछि बुद्धको जन्मथलो लुम्बिनीमा काटमार नगर्ने निर्देशन दिएर यसलाई अनिवार्य बनाए ।

बुद्धका उपदेश, व्याख्या र बौद्धधर्मका सिद्धान्त अहिलेको संसारमा यति ब्यापक भएको छ कि जुन प्रकारले पनि बुद्धको सम्मान गर्न सकिन्छ । नेपालका बज्रयानी बौद्धहरू देवीदेवताको पूजा गर्छन् र दसंैमा पनि पूजाआजा गरी चाड मनाउँछन् । बौद्धहरू बुद्धको मूर्ति राख्ने, बुद्धलाई सम्मान गर्ने भए तापनि बौद्धहरू मूर्ति पूजक होइनन् । शान्ति र एकाग्रताका लागि बुद्ध मूर्ति खडा गर्नुको मतलव हो । बौद्धहरू दुई प्रकारका छन् । पौराणिक बुद्ध र शाक्यमुनिका उपदेश अनुशरण गर्ने बुद्ध । गौतम बुद्धभन्दा अगाडि नै पिपश्वी बुद्ध, शिखी, विश्वभू, क्रकुच्छन्द बुद्ध, कंकमुनि र काश्यप बुद्धका अवतारको विषयमा स्वयम्भू पुराणमा उल्लेख छ कि काठमाडौं उपत्यकामा पानीले भरिएको अवस्थामा यी बुद्धको आगमन भएको थियो । विपश्वी बुद्धले एक कमल बीज स्वयम्भूमा रोपे । स्वयम्भू ज्योतिमा प्रकट हुन लागेपछि मञ्जुश्रीको नेपालमा आगमन भयो । स्वयम्भूमा शाक्यमुनि बुद्धहरू पनि पूजा गर्छन् । भनिएको पनि छ, ‘बोधिसत्य महासत्य, स्यम्भू चैत्य नमाम्यहं ।’

तर, सम्यक्काल परिस्थितिले बौद्ध संघमा रहेका भिक्षु तथा भिक्षुणीहरूबीच सम्पर्क बढेर बच्चा फाल्ने, मार्ने आदि इत्यिादि बिहारमा बुद्धधर्मभित्र दुराचार बढ्न थालेको अवस्थामा शंकराचार्यको नेपालमा भ्रमण भयो । त्यस भ्रमणको बेला शक्रराचार्यले बौद्ध भिक्षु, भिक्षुणीबीच सामाञ्जस्यता ल्याउन बौद्धधर्मभित्र सन्यासी आश्रम र गृहस्थाश्रम हुन्छन् भन्ने परिभाषा गरेको बेलादेखि बौद्ध धर्ममा सन्यासाश्रम र गृहस्थाश्रमको विकास भएका बेलादेखि बौद्ध धर्म विश्वव्यापी हुन गयो । त्यसबेला कतिपय अनभिक्षु व्यक्तिले आक्रोसित हुँदै शंकराचार्यले सम्पूर्ण बौद्ध ग्रन्थ जलाए भनेर आक्षेप लगाए जबकि त्यसबेला बौद्ध गन्थ सुरक्षार्थ पशुपतिनाथमा राखेका थिए । त्यसबेलादेखि भिक्षु हुनुबाट टाढा रहेकाहरू गृहस्त बनी बज्रयान सिद्धान्त अपनाए । यसरी हीनयानवादी र महायानवादी आ–आफ्नो संकल्प तथा पाराअनुसार बौद्धधर्म पालन गर्न उत्सुक बन्न पुगे । नेपालमा बौद्ध धर्ममा आवद्ध जातजातिमा शाक्य, ज्यापू, मानन्धर, बज्राचार्य आदि र शेर्पा, तामाङ, थकाली, थारू र कतिपय मगर, गुरूङहरू बौद्धधर्मलाई आफ्नो आदि धर्म मान्छन् । जनसंख्याका दृष्टिले नेपालमा हिन्दुहरूको संख्या ८५ प्रतिशतभन्दा धेरै भए तापनि बौद्धप्रति हिन्दुहरू नकारात्मक हुँदैनन्, छैनन् ।

कलिंगको युद्धपछि राजा अशोकले सन्यास लिने अठोट गर्दै भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा आई स्तम्भ खडा गरेका थिए

संस्कृतिविद् डा. जगमान गुरूङ भन्छन्, ‘यही काठमाडौं वरिपरि आठवटा शिवलिंग छन् । यी शिवलिंगलाई यहाँका बौद्धहरूले अष्ट बैतराग अर्थात् रागसहित अष्ट बोधिसत्वका रूपमा मान्छन् । शैवहरू शिवका रूपमा मान्छन्, बौद्धहरू अष्ट बोधिसत्वका रूपमा अर्चना गर्छन् । ६४ शिवलिंगमध्ये दुम्जामा कुशेश्वर महादेव छन्, जुन काडमाडौंका बौद्धमार्गी शाक्य–बज्राचार्यहरूका कुलदेवता हुन् । हरेक वर्ष कात्तिक शुक्ल अष्टमीको दिनलाई नेवारी भाषामा मुखाअष्टमी भनिन्छ । त्यस दिन भगवान् पशुपतिलाई बौद्धअवतारका रूपमा भगवान् बुद्धको पञ्चबुद्ध मुकुट पहि¥याएर पूजा गर्ने चलन छ ।’ बौद्ध धर्ममा सम्यक् पूजा मनाउन उक्त पूजामा राजाको संलग्नता गराइन्छ । सम्यक् पूजामा हजारौं भक्तजनको भेलामा भोज समेतको व्यवस्था गरिन्छ । भगवान् बुद्धलाई बिष्णुको अवतारका रूपमा मानिन्छ । यसरी बौद्धहरू पशुपतिनाथलाई घोलाङवाकछयूक भनेर मान्छन्, गुहेश्वरीलाई फामाडोलछयूक भन्छन् । नेपाल सर्वोदय बौद्ध धर्म संघबाट प्रकाशित तीलकबहादुर नेगीको २०३९ सालमा प्रकाशित पुस्तिकाअनुसार शाक्यमुनि बुद्धले कुशीनगरको साल वनमा भिक्षु आनन्दसँगको अपशोचपूर्ण जिज्ञाशाको जवाफमा भनेको कुरा पनि यहाँ चिन्तनीय छ । बुद्धले त्यस बेला भनेका थिए, ‘म आठ वर्षपछि विमल सरोवरको पद्यबृक्षमा अद्भूत र श्रेष्ठ बुद्ध बनेर जन्म लिने छु’ भनेर सम्झाएका थिए । बुद्धले भनेझैं आठ वर्षको बालकका रूपमा गुरु पद्यसम्भवको जन्म भएको भनिन्छ । गुरु पद्य सम्भवले तिब्बत, चीन, मंगोलियालगायत धेरै देशमा बुद्धधर्म प्रचार गरे । ॐ मणि पद्ये हुँ यसैको रूप हो । बौद्धका विहारका मानेहरूमा र बौद्ध झण्डाहरूमा यही मन्त्रलाई विभिन्न भाषामा उल्लेख गरेर झन्डास्वरूप फहराइएको हुन्छ ।

किराँतकालमा गौतमबुद्ध जन्मिएको ठाउँ पत्ता लगाएर इसाभन्दा ३०० वर्ष अगाडि भारत वर्षबाट राजा अशोक नेपाल आएर यहाँ भगवान जन्मिएका थिए भनेर ठूलो ढुंगाको स्तम्भ खडा गरेको कुरा लुम्बिनीको अशोक स्तम्भले बताउँछ । मगधका राजा अशोकले उस बेला बंगालको खाडी नजिकै रहेको कलिंग राज्यमा हमला गरेका थिए । युद्धमा रगतको खोलो बग्यो । त्यो विभत्सता देखेर राजा अशोक भिरगिएर सन्यास लिने अठोट गर्दै भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा आई बुद्धधर्म ग्रहण गरी लुम्बिनीमा स्तम्भ खडा गरेका थिए । किराँतकालमा स्थुंको राजाको भ्रमण हुँदा उनले आफ्नो राज्यको भूभागमाथि आक्रमण भएको ठानेर अशोक स्तम्भ ढालेका थिए । त्यसबेलादेखि धेरै वर्षसम्म सुसुप्त अवस्थामा रहेको लुम्बिनीको अशोक स्तम्भलाई सन् १९९५ मा जर्मनका पुरातत्वविद् डा. फ्युरर, भारतका डा.पीसी मुकर्जी र पाल्पाका बडाहाकिम खड्ग शमशेरको प्रयासबाट उत्खनन् गरी ठड्याइएको थियो । अशोकका प्रभावले भारतमा हजारौं मानिसहरू भिक्षु भिक्षणी बने ।

भारतीय जनता पार्टीका नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनका दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आएर ध्यानमग्न भएर बसेका थिए । यसले केही भारतका व्यक्तिले बुद्ध भारतमा जन्मिएका थिए भनेर अनेकौं अफवाह फैलाएको कुरालाई पनि ठूलो जवाफ मिलेको छ । बुद्धले भनेका छन्, ‘आफ्नो हित हुने कुरा आफंै निर्णय गर ।’ त्यसैले हामीले यस अवसरमा बुद्धको उपदेश, ‘अनैतिक र असंयमी भएर सय वर्ष बाँच्नुभन्दा सदाचारी र ध्यानी बनेर एक दिन जिउनु जाति छ’ भन्ने ज्ञानलाई आत्मसाथ गरेर नेपाललाई युगयुगान्तरसम्म सार्वभौम राष्ट्रका रूपमा बचाइ राख्न नेपालमा हिन्दु तथा बौद्धको अस्तित्व कायम रहिरहनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 854 times, 1 visits today)

epaper

ताजा समाचार

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द