नक्कली भुटानी शरणार्थी प्रकरण: संसदमा जुहारी

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र विपक्षी दलबीच संसद्मा जुहारी सुरु भएको छ ।

आइतबारको संसद् बैठकमा बजेटसम्बन्धी छलफल चल्दै गर्दा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद एकअर्कालाई दोषारोपणमा उत्रिएका हुन् ।

संसद् बैठकमा एमाले सांसदहरूले शरणार्थी प्रकरणलाई विषयान्तर गर्दै माओवादीप्रति लक्षित अभिव्यक्ति दिए भने माओवादी केन्द्रका सांसदहरू एमालेले नक्कली शरणार्थी प्रकरणमा जोडिएका रायमाझीलाई बचाउ गर्न खोजेको भन्दै त्यसको प्रतिवादमै उत्रिए ।

संसद्मा धारणा राख्दै माओवादी केन्द्रका सांसद सुबोध सापकोटाले रायमाझीलाई कानुनी दायरामा ल्याउनुमा नै एमालेका लागि कल्याण हुने भन्दै एमालेले कानुनको पालनालाई सघाउनुपर्ने बताए ।

‘टोपबहादुरजीलाई कानुनी दायरामा ल्याएर बुझाउनुस्, त्यसैमा नै तपाईंहरूको कल्याण छ, प्रधानमन्त्रीले गरेका कुरामा खिसिट्युरी गर्ने होइन, साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहने हो भने विषयलाई विषयान्तर नगर्नुस्, त्यसले तपाईहरूलाई नांगो बनाइरहेको छ,’ माओवादी केन्द्रका सांसद सापकोटाले प्रमुख प्रतिपक्षी दल एमालेप्रति लक्षित गर्दै भने ।

कांग्रेस सांसद सुनिल शर्माले भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका सांसदलाई संसद्मै उपस्थित गराएर बयान लिइनुपर्ने माग गरे । उनले प्रहरीले प्रक्राउ गरी अनुसन्धानमा रहेकाहरूको बयानका आधारमा संलग्न सांसदलाई संसद्मै ल्याएर बयान लिनुपर्ने भनेका हुन् ।

‘यो राष्ट्रिय स्क्यान्डल भएकाले सम्भव हुन्छ भने सदनमा ल्याएर कमसेकम दुई जना भरियालाई मुख्य नाइके को हुन् ? भनेर एक्सपोज गर्न लगाउनुपर्छ,’ शर्माले संसदमा धारणा राख्दै भने ।

यसैगरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो प्रकरणमा मुछिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै नक्कली शरणार्थी प्रकरण’bout सरकारको जवाफ माग गरे ।

सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको भन्दै ८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन् ? भन्दै संसद्मा प्रश्न गरे ।

सुवालले आइतबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमा नै सभामुख देवराज घिमिरेसँग समय माग्दै सो प्रकरणमा संलग्न’bout सरकारको जवाफ माग गरेका हुन् ।

त्यसअघि एमालेका प्रमुख सचेतक पदम गिरीले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनले देखाउँछु भनेको पूरै फिल्म देखाउन चुनौती दिए । गिरीले प्रधानमन्त्री प्रचण्डले भनेको फिल्म हेर्न आफूहरू टिकट काटेरै बसेको धारणा राखेका थिए ।

‘अहिले प्रधानमन्त्रीज्युले भन्दै हिँड्नुभएको छ, यो ट्रेलर मात्र हो फिल्म त आउन बाँकी नै छ, प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्न आतुर छौं, तपाईंले फिल्म देखाउनुहुन्छ भनेर हामी टिकट काटेर बसेका छौं, फिल्म देखाउनुस्, हामीलाई विश्वास छ वाइडबडी र बासबारी घोटला काण्ड’bout छानबिन गरौं,’ गिरीले संसद्मा धारणा राख्दै भनेका हुन् ।

एमालेका अर्का सांसद सूर्य थापाले नक्कली शरणार्थी प्रकरणलाई विषयान्तर गर्दै कयान्टोन्मेन्टमा भएको अर्बौं भ्रष्टाचारका विषयमा आफूले फिल्म हेर्न चाहेको बताए ।

‘क्यान्टोनमेन्टमा अर्बाैं भ्रष्टाचार भएको छ, म त्यसको फिल्म हेर्न चाहन्छु, म कमानसिंह लामाको करोडौं ठगी प्रकरण’bout फिल्म हेर्न चाहन्छु, टिकट काटेर आएको छु, फिल्म हेर्ने व्यवस्था मिलाइयोस्,’ थापाले प्रधानमन्त्रीको धारणालाई चुनौती दिँदै भने ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् ।

अमेरिका पठाउने धन्दामा जोडिएका नेकपा एमालेका सचिव रायमाझीलाई अनुसन्धानअघि नै बचाउन राजनीतिक दौडधुपसमेत तीव्र छ । नक्कली शरणार्थी बनाउने गिरोहका आठ जना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

हालसम्म पक्राउ पर्नेमा गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे सबैभन्दा उच्च तहका छन् । प्रहरीले गत बुधबार उनलाई पक्राउ गरेको थियो । उनी बुधबारसम्म नै उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा थिए । उनीमाथि भुटानी शरणार्थीको सक्कल फाइल गिरोहलाई उपलब्ध गराएको आरोप छ । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृहसचिव थिए ।

सोही प्रकरणमा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि हिरासतमा छन् । उनी गत मंगलबार पक्राउ परेका थिए । तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले तत्कालीन गृहमन्त्री थापा र गृह सचिवलाईसमेत मिलाउनुपर्ने भन्दै पीडितबाट ५ करोड आर्थिक लाभ लिएको बयानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

गृहमन्त्रीका रूपमा थापाले १४ फागुन २०७४ देखि ६ जेठ २०७८ सम्म गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यस समय उनी नेकपा माओवादी केन्द्रमा थिए भने हाल थापा नेकपा एमालेको उपाध्यक्षको भूमिकामा छन् । त्यस समय गृहसचिवमा प्रेमकुमार राई र महेश्वर न्यौपाने थिए । त्यसपछि पाण्डे सचिव बनेका थिए ।

प्रहरीले सोही प्रकरणमा मुछिएका केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङलाई गत १२ चैतमा पक्राउ गरेको थियो भने सन्देश शर्मा र सागर राईलाई १५ चैतमा पक्राउ परेका थिए ।

प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि गत बुधबार साँझ नै बुटवलबाट पक्राउ गरिसकेको छ । यस्तै, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजी गर्दै आइरहेको छ । यस्तै, पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक थापा पनि प्रहरीको खोजीमा छन् ।

दोषी ठहरे राजनीति छाड्छु : खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू दोषी ठहरिए राजनीतिक जीवन परित्याग गर्ने बताएका छन् ।

आइतबारबाट सुरु बजेट अधिवेशनको पहिलो बैठकमा धारणा राख्दै खतिवडाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नामसमेत आएपछि उनले दोषी ठहरिए राजनीतिक जीवनबाटै अलग हुने बताएका हुन् ।

‘मेरो पनि नाम राखेर समाचार प्रकाशित गरेको पढें, खतिवडाले भने ‘यदि कहीँ कतैबाट पुष्टि भएर म त्यसमा संलग्न छु भने सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु,’ खतिवडाले भने ।

खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कानुनअनुसार सजाय भोग्न तयार हुनुपर्ने बताए ।

उनले दोषीलाई लुकाउनेमाथि कस्तो कारबाही हुन्छ ? भनेर सभामुखसँग प्रश्नसमेत गरे ।

प्रधानमन्त्रीले भने : दोषीलाई छाडिन्न, निर्दोष फस्दैनन्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई नछाडिने र निर्दोषलाई नफसाइने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जोसुकै भए पनि दोषीलाई भने नछाडिने बताए ।

‘मैले भनेको छु, दोषी कोही बच्न सक्दैन, निर्दोष कोही पनि पर्दैन, सरकारको त्यही जोड छ ।’ आइतबार प्रतिनिधिसभाको बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग भने ।

उनले संसद्मा उठेको विषयले झनै सरकारको मनोबल बढाउने काम गरेको बताए । ‘संसद्मा आज उठेको विषयले सरकारको मनोबल बढाउने काम गरेको छ भन्ने मैले ठानेको छु, कसैले दबाब दिएर केही हुनेवाला छैन,’ प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग भने ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

भारतबाट रु १०० भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार कर, नाकामा कडाइपछि किनमेल घट्यो