काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका राजनीतिक दल आबद्ध व्यक्तिलाई उनीहरू आबद्ध दलले नै जोगाउने नीति अख्तियार गरिरहेका छन् ।
प्रहरी अनुसन्धानबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर प्रहरीले अनुसन्धान अघि बढाएका व्यक्तिलाई राजनीति दलले कारबाही गर्नुको साटो जोगाउने नीति लिइरहेका छन् । जसले ती दलको बोली एउटा काम र व्यवहार अर्कै देखिएको छ ।
शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।
प्रहरी हिरासतमा रहेका खाँणलाई कांग्रेसले पक्राउ परेको चार दिन बित्दासमेत पार्टीबाट कारबाही गर्न सकेको छैन । बुधबार र बिहीबार गरी दुई दिन बसेको कांग्रेस पदाधिकारी बैठकमा खाँणलाई निलम्बन गर्ने प्रस्तावले प्रवेश पाए पनि अनुसन्धानबाट आउने निष्कर्षपछि मात्रै निर्णय लिने बताउँदै आइरहेको छ ।
– बोली एउटा, काम अर्कै
– अनुसन्धानमा प्रहरीलाई असहयोग
कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई नक्कली शरणार्थी प्रकरणमा तपाईंको धारणा के हो ? भन्दै प्रश्न गर्दासमेत आफ्नै दलका महामन्त्रीको प्रश्नको जवाफ सभापतिले टार्दै आइरहेका छन् ।
यसैगरी, एमालेले पनि आफ्ना पार्टीका सचिव रायमाझीलाई पार्टीबाट कारबाही गरेको बताए पनि उनलाई प्रहरी समक्ष ल्याउन भने असहयोग गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीसँग फोनमा कुराकानी भइरहेको बताइरहँदा एमालेले उनलाई अनुसन्धानका लागि प्रहरीलाई सघाउने विषयमा भने सहयोग गर्न सकेको छैन ।
रायमाझी सो प्रकरणमा मुछिएको खबर आउँदा सुरुमा नै एमाले अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै रायमाझीको बचाउ गरेका थिए । यस्तै, ओलीले ‘उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई प्रहरीले पक्राउ गर्न मिल्छ ?’ भन्दै प्रश्नसमेत गरेका थिए ।
नेपाली राजनीतिलाई नजिकबाट नियाल्दै आइरहेका राजनीतिक विश्लेषक हरि रोक्का नेपाली राजनीतिको स्रोत नै फरक ढंगको रहेकाले दलहरूले बाहिर एउटा बोल्ने व्यवहारमा अर्को देखाउने गरेको बताउँछन् ।
‘राजनीतिक दलको स्रोत लेबी होइन, चन्दा होइन, त्यसले पार्टीहरू चलिरहेका छैनन्, प्रायः सबै दलका स्रोत धनाढ्य व्यक्ति छन्, नेपाली राजनीतिलाई धनाढ्यबाट चल्ने चलाउने काम भइरहेको छ, त्यसैले दलहरू बाहिर एउटा बोल्छन्, भित्रै अर्कै गर्छन्, उनीहरू त्यस्ता काम गर्नेहरूलाई कारबाही गर्नै सक्दैनन्,’ राजनीतिक विश्लेषक रोक्काले राजधानीसँग भने ।
राजनीतिक दललाई एउटा कारणले असर पर्ने अवस्थामा समेत उनीहरू अन्य स्रोत अप्ठेरोमा पर्ने डरले जुनसुकै अवस्थामा पनि आफ्ना निकटस्थलाई जोगाउन अग्रसर हुने गरेको बताउँछन् उनी ।
नेपाल प्रहरीको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी दीपेन्द्र जीसीले राजनीतिक दलले राजनीतिक पाटोबाट धारणा बनाए पनि प्रहरीले आफ्नै अनुसन्धानको दायराबाट अनुसन्धान अघि बढाउने बताए ।
‘राजनीतिक दलका निर्णय उहाँहरूको पाटो भयो, प्रहरीलाई त्यसले अनुसन्धानमा असर गर्दैन, प्रहरीले आफ्नै पाटोबाट अनुसन्धान गर्छ, निष्पक्ष अनुसन्धान गर्छ,’ एसएसपी जिसीले भने ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा हालसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सबैभन्दा उच्च तहका कांग्रेस नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँण छन् । यसैगरी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लहकार इन्द्रजित राई पनि पक्राउपछि अनुसन्धानको दायरामा छन् ।
यसैगरी, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले बिचौलियासँग आर्थिक कारोबार गरेको खुलेको छ ।
प्रहरीले सो प्रकरणमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिसकेको छ । रायमाझी टोपबहादुरका छोरा हुन् । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ ।
टोपबहादुरलाई भने प्रहरीले गत २० वैशाखदेखि खोजी गरिरहेको छ । उनी प्रहरीको फरार सूचीमा छन् । पक्राउ पुर्जी जारी भए पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
प्रहरीले पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध पक्राउ पुर्जी जारी गरेर खोजी गर्दै आइरहेको छ । यस्तै, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा पनि प्रहरीको खोजीमा फरार सूचीमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेकाहरूको बयान र अडियो क्लिपबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको पनि नाम जोडिँदै आएको छ भने पूर्वगृहमन्त्री खाँणकी श्रीमती मञ्जु खाँणको पनि नाम जोडिएको छ ।