पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका–७, भारपामा बुधबार बिहान ट्याक्टरबाट खसेर दुई स्कुले बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १३ बर्षीया पुजना सुवेदी र ९ बर्षीया गंगा सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरले बताए । ट्याक्टरमा चढेर विद्यालय गइरहेको बेला ट्याक्टरबाट खसेपछि उनीहरुलाई ट्याक्टरले किचेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक कुँवरले बताए ।
ट्याक्टरको चालक बस्ने पछाडिको सिटमा बसेका उनीहरु तिव्रगतिका कारण खसेको हुन सक्ने अनुमान गरिएको छ । बालिकाहरुको मृत्यु भएपछि चालक ट्याक्टर छाडेर हामफाल्दा दुर्घटना भएको छ । सो क्रममा बालुवा बोकेको ट्याक्टरको डालामाथि बसेका विद्यार्थीमध्ये दुई जना घाइते भएका छन् ।
ट्याक्टरमा स्थानीय जयभवानी माध्यमिक विद्यालय टारीमा अध्ययनरत ११ जना विद्यार्थी चढेका थिए । ट्याक्टरका चालक र सहचालक फरार रहेका प्रहरील जनाएको छ ।






