गुल्मी । जिल्लामा आगलागीबाट तीन वर्षको अवधिमा एघार जनाको मृत्यु र १ सय १७ घरगोठ जलेर नष्ट भएका छन् ।
विभिन्न पालिका गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६÷७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।
चालू आर्थिक वर्षको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आर्थिक वर्षमा ३१ घर र १५ गोठ एवं आर्थिक वर्ष २०७६÷७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट तीन वर्षमा ३ करोड ६० लाख ३८ हजार ५ सयबराबरको क्षति भएको प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको हो ।
११७ घरगोठ जले, साढे तीन करोडबराबर क्षति
चालू आर्थिक वर्षमा पाँच जनाले आगोबाट ज्यान गुमाएका छन् । गत वैशाखमा मात्रै तीन जनाले आगोमा परेर ज्यान गुमाएका थिए । गत वर्ष चार र आर्थिक वर्ष २०७६÷७७ मा दुई जनाको आगोमा जलेर मृत्यु भएको थियो ।
तीन वर्षमा २० जना घाइते भएका छन् । यो आर्थिक वर्षको चैतसम्म १०, गत वर्ष ७ र आर्थिक वर्ष २०७६÷७७ मा तीन जना घाइते भएका छन् । आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ घाइते भएको प्रहरीको तथ्यांक उल्लेख छ ।
गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको ६१९.५ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । जिल्लामा नीजि वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्यांक समावेश गरिएको छैन ।
सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय, गुल्मीका सूचना अधिकारी मुना शर्माले बताइन् । सुख्खा मौसम र हावाहुरी एवं लापरबाहीका कारण विभिन्न वनमा आगलागी हुँदै आएको छ ।






