सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नं. २ हायुटारमा रहेको मरिण हायुटार लघु जलविद्युत आयोजना एक वर्षदेखि सञ्चालन हुन सकेको छैन । देशभर विद्युत आपूर्तिमा कमी भईरहेको बेला राज्यको लाखौं लगानीको विद्युत आयोजना अलपत्र परेको छ ।
विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेसँगै लघु जलविद्युत आयोजना अलपत्र परेको हो । यो आयोजनाबाट उत्पादित १२ किलोवाट जलविद्युत प्रयोगमा आउन सकेको छैन ।
मरिण खोलामा रहेको आयोजना मरिण हायुटार लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत यति बेला प्रयोगमा आएको छैन । नत त्यो जलविद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ न त प्रयोग नै गरिएको छ ।
तत्कालिन समयमा ९१ लाख लगानीमा बनेको यो आयोजनाले ९ वटा गाउँलाई उज्यालो दिएको थियो । साविकको वस्तीपुर गाविसको वडा नं. ७, ८ र ९ का दुई सय बढी घरमा विजुली बाल्ने गरिएको थियो । आयोजनाबाट उत्पादित विजुलीबाट ३ वटा वडाका भोगटेनी, चालिसे, माझगाउँ, चिरीवास, हायुटार, डाँडागाउँ, हिर्दिङ, आहालडाँडा लगाएतका गाउँले विजुली बालेका थिए ।
एक्सन एडको ३५ लाख, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २८ लाख र सिंचाईको २८ लाख रकम लगानीमा उक्त आयोजना २०६८ सालदेखि सञ्चालनमा आएको थियो । आयोजनाबाट उत्पादिन विद्युत प्रयोग नभएको र मुख्य प्रसारण लाईनमा समेत नजोड्दा समस्या भएको घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए । विद्युत प्राधिकरणले लघु जलविद्युत आयोजनाको लाईनको विजुली बालेमा राष्ट्रिय प्रसारण लाईन नदिने भनेपछि लघु जलविद्युत प्रयोग गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
आयोजनाका सञ्चालक समितिका अध्यक्ष राम बहादुर भोलनका अनुसार एक वर्षअघि घ्याङलेख गाउँपालिकामा मुख्य प्रसारण लाईन आएपछि आयोजनाको विजुली प्रयोग हुन छोडेको हो । विद्युतले मेन लाईनमा विद्युत जोड्न पनि नमानेको र ग्राहकलाई आयोजनाको विजुली बाल्न समेत नदिएको उनले बताए ।
एक वर्षदेखि १२ किलोवाट विद्युत खेर गईरहेको उनले बताए । अहिले पनि ८, १० हजार रुपैंया खर्च गरेर मर्मत गरेमा उक्त आयोजनाबाट विद्युत उत्पादन हुने उनले बताए । भोलनले तार एक वर्षसम्म प्रयोग नभएकाले फेर्नुपर्ने अवस्थामा पुगेको समेत बताए ।
लघु जलविद्युत आयोजनाले ग्राहकसँग मासिक १ सय रुपैंया विजुलीको चार्ज लिने गथ्र्यो । राती १२ बजेदेखि ४ बजेसम्म सिंचाईमा विजुली उत्पादनको पानी लगिने हुदा विजुली काटिन्थ्यो । बाँकी समय विजुली जाने समस्या पनि थिएन । आजभोली सामान्य हावाहुरी आयो भने कैंयौं दिन लाईन जाने समस्या हुने गरेको स्थानीयले बताए ।