समाजमा श्रीमान् श्रीमती भन्ने भाव बोकेका दुई जना मान्छेको जोडीबाट नै दुनियाँ चलेको हुन्छ । आज म जहाँ, जुन ठाउँमा छु, यहाँसम्म आउन श्रीमती सीता दाहालको ठूलो भूमिका छ । हामी एउटै गाउँठाउँका मान्छे हौं । कास्कीको स्याङ्जा पनि एउटै भेग हो । हाम्रा आमाबुबा एकै साल चितवन झर्नुभएको रहेछ । तर, सल्लाह गरेर भने होइन । गाउँ एउटै भए पनि अलि फरक हुने कुरा भयो । हाम्रो चिनजान पनि थिएन । उनीहरूको परिवार सुन्दरबस्ती भन्ने ठाउँमा रहेछ । हाम्रो बसोबास भीमसेन नगरमा थियो ।
हामी १६ वर्षको हुँदा बिहे भएको हो । त्यसभन्दा अगाडि हाम्रो कुनै चिनजान थिएन । पछि हाम्रै नाता पर्नेहरूबाट प्रस्ताव ल्याइएको थियो । उनका लागि पनि केटा खोजिँदै रैछ, मेरो पनि बिहेको कुरा चलेको थियो । त्यसपछि त्यही हामी रिलेटिभबाट नै हाम्रो बिहेको कुरा फाइनल भएको हो ।
फेरि बिहेको कुरा पनि फागुनको अन्तिमबाट चलेर वैशाखसम्म पुग्यो । चैतमा बिहे गर्ने कुरा पनि भएन । अनि २०२६ साल वैशाख २६ गते हाम्रो मागी विवाह भयो । कुरा चले पनि त्यसबीचमा हाम्रो कुनै कुरा हुने कुरै भएन । विवाह हुँदा हाम्रो घरमा परिवार पनि धेरै थियौं । ६ जना दिदीबहिनी, दुई दाजुभाइ ।
उनको आमाले हाम्रो घरमा धेरै छोरी छन् भनेर बिहे गर्न अलि नमानेको जस्तो कुरा पनि सुनिन्थ्यो त्यतिबेला । जे होस्, यसरी हाम्रो बिहे भयो ।
१५÷१६ वर्षमा के जानिन्छ र ? म १० कक्षामा पढ्थें । मलाई हरेक कुरामा उनले त्यतिबेलाबाट नै सघाउँदै आएकी हुन् । मेरो परिवार ठूलो थियो । नआत्तिइकन उनले सबै पारिवारिक भूमिका निभाउँदै गइन् ।
मलाई पढ्नमा पनि सीताले सहयोग गरिन् । मेरो सासुआमाले समेत मलाई पढाउन खर्चबर्च दिनुहुन्थ्यो । यसरी जीवन अगाडि बढ्यो । पछि बच्चा भए । म त्यतिबेलै पनि संगठनमा हिँड्थें । जेहोस् त्यतिबेलाबाटै पार्टी संगठनमा काम गरिन्थ्यो । उनले घर नसम्हालेको भए, म यसरी हिँड्न पाउने थिएँ या थिइनँ, त्यो कुरा अलग छ ।
त्यति धेरै काम गरेर पनि उनी मसँग कहिलेकाहीँ पार्टीको काम गर्न पनि हिँड्थिन् । पछि बहुदल आयो, उनको काम कर्तव्यमा कुनै कमी आएन । कहिल्यै मसँग कुनै गुनासो गरेको मलाई सम्झना पनि छैन । जहिले पनि ऊर्जा दिने र काम गर्नुपर्छ भन्ने गरिन् ।
हरेक सफल मान्छेको पछाडि श्रीमतीको बलियो हात रहेको हुन्छ भन्छन् । मेरो सवालमा भन्ने हो भने मेरो लागि सीता तेस्रो आँखा हुन् ।
हामीले सानैमा बिहे ग¥यौं । बच्चाहरू भएपछि महिलालाई कति गाह्रो हुन्छ, त्यो त सबैलाई थाहा भएकै कुरा हो । उनले चार÷चार जना बच्चालाई हुर्काउने बढाउने काम गरिन् । यसमा मैले उनलाई कुनै सहयोग गर्न सकिनँ । पहिले पनि म पढ्दै थिएँ । पछि संगठनमा काम गर्न थालें । फेरि उनीहरूलाई चितवन नै छाडेर म गोरखा पढाउन पनि गएँ । त्यसैले साथ दिन सकिनँ । जति गरिन्, उनले मात्र गरिन् मेरा लागि ।
त्यति धेरै गरेर घरपरिवार सम्हालेर पनि संगठन र पार्टीप्रति पनि उनले सहयोग गर्थिन् । पञ्चायतकालमा हामी भूमिगत भएको समय साथीहरू घरमा आउँथे । उनले रातिराति खाना पकाएर सबैलाई खुसीसाथ खुवाउने गर्थिन् । कत्ति पनि नरिसाइकन एकदम कुशल तरिकाले काम गरेको देख्दा मेरो मनमा लाग्थ्यो, महिलाहरूमा साँच्चै अद्भूत शक्ति छ ।
हामी भए के यति धेरै गर्न सकिन्थ्यो र भनेर पनि धेरैपटक सोच्ने गरेको छु । म सीताको विषयमा मात्र होइन, समग्र महिलाहरूका विषयमा यसरी नै सोच्ने गर्छु । महिलाहरूभित्रको यो अद्भूत शक्तिलाई अगाडि आउन दिनुपर्छ भन्ने पनि लाग्छ ।
त्यसैले त्यति धेरै काम गरेर पनि उनी मसँग कहिलेकाहीँ पार्टीको काम गर्न पनि हिँड्थिन् । पछि बहुदल आयो, उनको काम कर्तव्यमा कुनै कमी आएन । कहिल्यै मसँग कुनै गुनासो गरेको मलाई सम्झना पनि छैन । जहिले पनि ऊर्जा दिने र काम गर्नुपर्छ भन्ने गरिन् । उनी पनि संगठनमा संगठित भइसकेकी थिइन् पञ्चायतकालमै ।
बच्चाबच्चीहरू, घरपरिवारको बाबजुद पनि पार्टी, संगठन भनेपछि उनी हुरुक्कै हुने गर्थिन् । क्लासमा जाने, पार्टीका क्लास सुन्ने गर्थिन् । म पनि सकेसम्म उनलाई लाने कोसिस गर्थें । पछि पार्टीले युद्ध घोषणा ग¥यो ।
मैले सल्लाह गर्न नपाए पनि समय नभए पनि खाने बेलामा होस्, सुत्ने बेलामा होस्, उनले एउटा एउटा कुरा गरिरहन्थिन् । देशको चिन्ताका कुरा, जनताको चिन्ताका कुरा । मलाई कहिलेकाहीँ त अचम्म पनि लाग्थ्यो, यति सामान्य मान्छे पनि पर्दै र गर्दै गएपछि यति धेरै शक्तिशाली बन्ने रहेछ ।
मैले उनलाई अब यस्तो हुँदै छ है भनें । उनले कुनै अब्जेक्सन नै नजनाइकन देश र जनताका लागि जेजस्तो परिस्थितिमा पनि तपाईं पछाडि हट्नै हुन्न भनिन् । मैले सल्लाह गर्न नपाए पनि समय नभए पनि खानेबेलामा होस्, सुत्नेबेलामा होस्, उनले एउटाएउटा कुरा गरिरहन्थिन् । देशको चिन्ताका कुरा, जनताको चिन्ताका कुरा । मलाई कहिलेकाहीँ त अचम्म पनि लाग्थ्यो, यति सामान्य मान्छे पनि पर्दै र गर्दै गएपछि यति धेरै शक्तिशाली बन्ने रहेछ ।
मैले उनीसँग त यो कुरा कहिल्यै भनिनँ । तापनि यो कुरा मनमनमा सोच्थें । युद्धको समय कहिले कहाँ, कहिले कहाँ गएर बस्नुपर्ने । चार÷चार जना बच्चा कोही कता, कोही कता भए पनि उनी मसँगै निरन्तर रहिन् । बरु कहिलेकाहीँ मैले के गर्ने होला भनेर परिवारको यसो कुरा निकाले पनि उनले आमनेपाली जनताका छोराछोरीका आमाबाउ भइसक्यौं तपाईं हामी, अब सानो मन बनाउनै हुन्न भन्थिन् । फेरि यस हिसाबले पनि उनी मेरो तेस्रो आँखा नै हुन् ।
हरेक संकटमा उनले मलाई साथ दिएकी छन् । मेरो परिवारको कुरा मात्र होइन, पार्टीमा पनि संकट पर्दा उनले निकै राम्रो भूमिका खेलेकी छन् । पार्टीमा विवाद हुँदा, अन्तरसंघर्ष हुँदा जहिले पनि सबैका कुरा सुन्नुपर्छ, एक÷दुई जनाका कुरा सुनेर निर्णयमा पुग्नुहुन्न भन्ने गर्थिन् । उनी पार्टीको सल्लाहकार पनि हुन् । उनको सल्लाहले गर्दा पार्टी फुट्नबाट बचेको पनि छ ।
संकटकालमा हरेक संकटमा बचाउने उनमा अचम्मको शक्ति थियो । त्यसैले मैले उनलाई मेरो जीवनको तेस्रो आँखा भनेको हुँ । एकपटक दिल्लीबाट लखनउ जाँदै गर्दा त्यतिखेर निकै चेकिङ थियो । मैले किताब लिएर हिँडेको थिएँ । उनले पहिल्यै भनेकी थिइन्, ‘तपाईंले यो नबोक्नुस्, हामी फस्न पनि सक्छौं । बरु पछि साथीहरूले लिएर आउनुपर्छ ।’
केही हुन्न भनेर मैले किताब बोकेर हिँडें । रेल चढेको केही समयपछि चेकिङ सुरु भयो । व्यापक सुरक्षा बढाइएको रहेछ । एक÷एक जनालाई चेक गरेको थियो । हामी दुई जना एक जनाको टाउकोतिर अर्को खुट्टा गरेर मुख छोपेर सुतेका थियौं । चेकिङ आइसकेपछि उनले मलाई संकेत गरिन्, मैले मुख छोपें । उनले आफ्नो मुख खोलेर निदाएजस्तो गरिछन् । सामान्य गृहणी निदाएजस्तो मानेर हामीलाई केही पनि गरेन । त्यसबेला त्यसरी बाँचियो ।
दिल्लीमै सुरेश आले मगर र मात्रिका यादव पक्राउ परिसकेपछि पनि हामी धन्न बाँचेका हौं । म उहाँहरूको कोठामा जान लागेको बेला उनले मलाई ‘मनमा शंका छ, तपाईं बुझेर मात्र जानुपर्छ,’ भनिन् । पछि बुझ्दा त्यहाँ प्रहरी आएर उहाँहरूलाई पक्राउ गरिसकेको थियो ।
अरू यस्ता धेरै घटना छन्, जहाँ उनले मलाई बचाएकी छन् । यस्ता धेरै ठाउँमा उनको तेस्रो आँखाले काम गरेको छ । त्यसैले सीता मेरो श्रीमती मात्रै होइन, मेरो साथी, सहपाठी, सहयोगी, सहयोद्धा जेजे भन्न मिल्छ, ती सबै हुन् ।
ठूली छोरी ज्ञानुको मृत्युपछि उनी धेरै निराश बनेकी थिइन् । त्यसपछि पनि उनी परिवार सबैलाई कसरी मिलाउने र पार्टीमा पनि काम गर्ने भनेर सोचिरहन्थिन् । प्रकाशको निधन भएपछि उनमा झनै धेरै दुःख र पीडा भएको देखेको छु मैले । मैले धेरै सम्झाउने कोसिस पनि गरें ।
तर, मानिस बिरामी परिसकेपछि फरक हुने रहेछ । अहिले उनको उपचार भइरहेको छ । पहिलेभन्दा झन्झन् गल्दै गइरहेकी छन् । एक जना मान्छे पहिले मान्छे र उसको भावनाको गहिराइमा गएर हेर्ने हो भने त समस्या जटिल छ । उनले मलाई जति साथ दिइन्, सहयोग गरिन्, त्यसको सानो र थोरै भाग पनि मैले उनको लागि गर्न सकेको छैन । समय पनि नहुने रहेछ ।
हामीले विभिन्न ठाउँमा उपचारका लागि लग्यौं । सिंगापुरको वाटर थेरापी गराइयो । त्यसले अलि सुधार हुन्छ कि जस्तो लागेको थियो । म्याग्दीको तातोपानी लगेको पनि त्यही हो, केही ठीक भइन् भने मलाई अलि सजिलो हुने थियो भन्नेमा थिएँ ।
हामीले अमेरिका पनि लग्यौं । केही सुधारजस्तो भए पनि ठीक भएको छैन । उनको यो अवस्थाले मेरो भावनामा मान्छे मात्र र श्रीमान् मात्र भएर सोच्ने हो भने त ठूलो पीडा हुन्छ । साँच्चैभन्दा पहिले पहिलेका धेरै कुराहरू सम्झिन्छु । उनले मलाई धेरै सहयोग गरेकी छन्, साथ दिएकी छन् । कतै मैले उनलाई साथ दिन र सहयोग गर्न नसकेको हुँ कि जस्तो पनि लाग्छ । कोसिस गर्ने हो भने मान्छेलाई कतिखेर के हुन्छ भन्ने कसलाई थाहा हुने रहेछ र !
‘सीता दाहाल : प्रचण्डकी जीवन संगिनी’ पुस्तकबाट साभार)