क्षतविक्षत सडक, आवतजावत ठप्प

निरन्तरको वर्षाले रास्कोट अस्पतालदेखि सपिखाना जाने सडकको अवस्था । तस्बिरः विश्वनाथ सिम्खाडा/राजधानी

कालिकोट । अविरल वर्षाका कारण कालीकोटका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी शुभकालिका गाउँपालिका, शान्नि त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन् ।

अब सान्नित्रिवेणीको शान्तिघाटदेखि पालिकाको केन्द्र, केन्द्रदेखि मुम्रा, रक, शुभकालिकाको सेरिघाटदेखि भर्ता सुकाटिया, नरहरिनाथको खुलालुदेखि लालुलगायतका दर्जन गाउँमा पुग्ने सडक कात्तिकसम्म बन्द हुनेछन् । असोजसम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको स्थान सफा गरेपछि मात्र सडक सञ्चालनमा आउने भएको छ ।

सेरिघाटदेखि सबैभन्दा टाढाको गाउँ गेला, कालिका मुग्राहा, आउडी सुकाटिया भर्तामा सडक पुगिसकेको छ । अहिले गाडी सञ्चालन भएका सडकमा वर्षाले पहिरो जाँदा सबै बाटा अवरुद्ध अवस्थामा पुगेको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द आचार्यले बताए ।

‘बर्खा लाग्यो, अब यहाँका गाउँमा पुग्ने सडक सबै बन्द भए, गाउँपालिकाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, भर्तागाड खोलामा पानीको बहाव निकै बढेको हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन्, हामीहरूले सबै गाउँ र बस्तीमा ढिलो चाँडो सडक त पु¥यायौं, थप व्यवस्थित बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौं,’ अध्यक्ष आचार्यले भने, ‘पुल निर्माणका लागि गाउँपालिकाको पूरै बजेटले पनि पुल बनाउन सकिँदैन, केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौं, सबै निकायसँग समन्वय गरी पुल बनाउने छौं, अब असोजसम्म गाउँका सबै सडक बन्द हुन्छ ।’

शुभकालिका–४ का जगत सुनारले गाउँमा सडक आए पनि बर्खामा सेवा लिन नपाएको गुनासो गरे । पहिलेपहिले गाउँमा सडक नआउँदा हिँडेरै बजार पुग्ने गरेको भन्दै अहिले स्काभेटरले खनेका सडक वर्षाले अवरुद्ध हुँदा पहिलेको जस्तै हिँड्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।

गाउँमा नुन, चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गर्नुपर्ने स्थिति आएको स्थानीय कृष्ण सन्ज्यालको भनाइ छ । उनले भने, ‘उतिबेला अहिलेको जस्तो यस्ता ठूलाठूला सडक थिएनन्, सानो गोरेटो बाटोमा हिँड्थ्यौं, घोडा खच्चड पनि तिनै बाटोमा हिँड्थे, अहिले गाडीका लागि ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे ।’

यस्तै अर्का स्थानीयवासी वीरबहादुर नेपालीले अहिले गाउँमा कोही बिरामी परे मान्छेले नै बोकेर अस्पताल पु¥याउनुको विकल्प नभएको बताए । केन्द्र र प्रदेशका सांसद तथा मन्त्रीलाई बारम्बार पुल आवश्यक पर्ने ठाउँ बजेट विनियोजन गर्न आग्रह गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे । घरै अगाडि सडक भए पनि हिउँदमा मात्रै प्रयोग गर्न पाइने उनको भनाइ छ ।

‘दुई साता भयो, खोलामा गाडी तर्न छाडे, वारिका मान्छे वारि, पारिका मान्छे पारि भइयो, यसबेला गाउँमा मान्छे धरै बिरामी हुन्छन्, पानीमा रुज्दै भिज्दै काम गरेर होला अस्पताल पु¥याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिँदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि छ,’ उनले भने, ‘खोलामा पुल बनेको भए अस्पताल पुग्न सजिलो हुने थियो, बिरामीले समयमै उपचार पाउने थिए ।’

अहिले यहाँका नौवटै पालिकाका ग्रामीण सडक वर्षाले अवरुद्ध नै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’