काठमाडौं । असारमा सरकारले पुँजीगत खर्च बढाएपछि र भटाभट भुक्तानी दिन थालिएपछि बैंकहरूमा अहिले अधिक तरलता भएको छ । बैंक तथा वित्तीय संस्थामा अहिलेसम्ममा ५७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह ४८ खर्ब ५४ अर्ब मात्र भएको छ ।
ब्याजदर घटाइँदै
यसमा पनि अधिक हिस्सा वाणिज्य बैंकको रहेको छ । नेपाल राष्ट्र बैंकको बिहीबारको तथ्यांकअनुसार गत मंगलबारसम्ममा वाणिज्य बैंकको ५० अर्ब ६५ अर्र्ब निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह ४२ खर्ब ९५ अर्र्ब रहेको छ । बैंकहरूमा अधिक तरलता भएसँगै अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा कम भएको छ ।
मंगलबार अन्तरबैंक ब्याजदर शून्य दशमलव ९० कायम भएको हो । अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर १ दशमलव १० प्रतिशत थियो । १ महिनाअघिसम्म सीडी रेसियो ८८ प्रतिश रहेकोमा मंगलबारको तथ्यांकअनुसार औसत सीडी रेसियो पनि झरेर ८१ दशमलव ६९ प्रतिशत कायम भएको छ । सोमबार औसत सीडी रेसियो ८२ दशमलव ११ प्रतिशत थियो ।
बैंकहरूमा अधिक तरलता भएपछि नेपाल बैंकर्स बैंकले ब्याजदरमा निर्णय गर्न सकेन र बैंकहरू आफैंले नै आवश्यकताअनुसार बैंक ब्याजदर तोक्न सक्नेगरी खुला छोडिदिएको छ ।
केन्द्रीय बैंकका अनुसार २६ असारसम्म बैंकहरूको कर्जा लगानी अझ घटेर ७ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएपछि बैंकहरू तर्सेका छन् । सोमबारसम्म कुल कर्जा लगानी ४८ खर्ब ६१ अर्ब रुपैयाँ भएपछि बैंकहरू निक्षेपमा पनि र कर्जामा पनि ब्याजदर आफूअनुकूल घटाउने निचोडमा पुगेका हुन् ।
गत मंगलबार वाणिज्य बैंकहरूको निक्षेप पनि १९ अर्बले बढेर ५० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ४६ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकहरुमा निक्षेप बढेसँगै बैंकको ब्याजदर घट्ने भएपछि केही दिनदेखि सेयर बजारमा सकारात्मक सन्देश गएर सेयर बजार बढ्न थालेको छ ।
असार मसान्तनजिक आएकाले बजार तलमाथि हुनु स्वाभाविक रहे पनि बजारको नेचर भने अन्ततः बुलको अवस्थामा रहेको छ ।
तरलता बढेसँगै १ अर्ब कारोबार हुन धौंधौं परिरहेको सेयर बजार अवस्थामा अहिले ३ अर्ब रुपैयाँमाथिको कारोबार भइरहेको छ ।
अधिक तरलता बढेपछि बैंकहरूले उद्यमी व्यवसायीलाई कर्जाका लागि रिझाउन थालेका छन् । ठूला उद्यमी व्यवसायीले भने आधार दरमा नै कर्जा पाउन थालेका छन् ।
बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ खिच्न खोज्दा बैंकहरूले ४० अर्ब १५ करोडको प्रस्ताव गरे । रिभर्स रिपोमा १४ वटा बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउँदै बुधबार ४० अर्र्बको प्रस्ताव गरेका हुन् ।
रिभर्स रिपोको औसत ब्याजदर २ दशमलव ३७८७ प्रतिशत कायम भएको छ । अधिकतम २ दशमलव ७४ र न्यूनतम २ प्रतिशत ब्याज कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले रकम खिचेको हो । योसहित असार महिनामा मात्रै राष्ट्र बैंकले पाँचपटक रिभर्स रिपोमार्फत रकम खिचेको छ । बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तर बैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ । खासगरी अन्तर बैंक ब्याजदर साढे ५ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै आएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी सामान्यतया असार महिनामा बर्सेनि तरलता थुप्रिने गरेको बताउँछन् । चालू आर्थिक वर्षको अन्त्यमा थुप्रिएको यस्तो तरलताले आगामी आवमा ऋणको मागअनुसार लगानी गर्न बैंकहरूलाई सहज हुने उनको भनाइ छ ।
पछिल्लो समय तरलता बढेकै कारण अन्तरबैंक ब्याजदर ३ प्रतिशतबाट ० दशमलव ९० प्रतिशतमा झरेको छ । बैंकहरूमा तरलता अभाव भएको समयमा अन्तरबैंक ब्याजदर ७ प्रतिशतसम्म पुगेको थियो ।